सीमित सपना र संवेदनाका ल्यान्डस्केपहरू

सीमित सपना र संवेदनाका ल्यान्डस्केपहरू


– दीपकमणी ‘दाजुभाइ’
यो संवेदनाको कथा हो । मानिसका जीवन र जीवनसँग जोडिएका सीमित सपनाको कथा हो । यो महलको सपनाको कथा होइन । सबैलाई एक-एकवटा छानो मिलोस् भन्ने कामनाको कथा हो । सानो तर सुन्दर सपनाको कथा हो । जीवनलाई जिउन पाउनुपर्छ भन्ने आधारहरूको कथा हो । हामीलाई लाग्छ, आँधी नआउने घर – हरेकपटक आँधीमा जुध्ने घरहरूको कथा हो ।
त्यसो त यो कृष्ण धरावासीको निबन्धसङ्ग्रह हो – आँधी नआउने घर । सरल, सुललित भाषा, शिष्ट र लोभलाग्दो शैलीका कारण धरावासी धेरैका प्रिय लेखक हुन् । हामी दाजुभाइको त कुरै नगरौँ ।
०४६ को आन्दोलन सकिएपछिको कुनै एउटा दिन थियो त्यो । अन्तरिम सरकार थियो मुलुकमा र नयाँ संविधानको तयारी भइरहेको थियो । किशोरकालीन पछिल्ला दिनहरू थिए ती हाम्रा । एउटा अल्छीलाग्दो बिहान हामी सुतिरहेका थियौँ । रेडियो बजिरहेको थियो । रेडियो नेपालको साहित्यिक कार्यक्रममा एउटा परिचित आवाज गुञ्जिरहेको थियो । परिचित आवाज निबन्ध वाचन गरिरहेको थियो – नारीभित्र त्यस्तो के छ हजुर – मानवीय संवेदना, त्यसमा पनि नारीपीडा र प्रताडनाहरू । सुतिरहेका हामी दुई दाजुभाइलाई जुरुक्क उठाएको थियो त्यो निबन्धले – नारी संवेदनाको गह्रुँगो भारी बोकाएर ।
रेडियोले निबन्धका लेखक कृष्ण धरावासी भनिरहेको थियो । नदेखेको, नचिनेको एउटा मानिसप्रतिको असीम श्रद्धा त्यहीँबाट सुरु भयो । त्यसपछि उसका प्रत्येक रचनाहरू ख्ाोजी-खोजी पढ्न थाल्यौँ । उसका कविताका किताबहरू प्ानि पढ्यौँ । निबन्ध, उपन्यास र कथाका माहिर धरावासीले कविताचाहिँ किन लेखेको होला – भन्ने लाग्थ्यो त्यतिखेर हामीलाई ।
किशोरकालीन ती अन्तिम दिनहरूमा सरुभक्त र कृष्ण धरावासीले हाम्रो मन नै कब्जा गरे । मस्तिष्कमा राज गरे । त्यति मात्र कहाँ हो र – हामी यी दुईको राम्रो विज्ञापन एजेन्ट नै बन्यौँ । यी दुईप्रतिको हाम्रो असीम श्रद्धा र आकर्षण त्यसपछिका प्रत्येक दिनहरूमा बढ्दै र उचालिँदै गएको छ ।
आजको सन्दर्भ हो- आँधी नआउने घर निबन्धसङ्ग्रहको । पैरवी बुक हाउसले बजारमा आएको यस कृतिमा धरावासीका २७ वटा निबन्ध सङ्ग्रहित छन् ।
माथि नै भनेजस्तो यो संवेदनाको कथा हो । संवेदना पनि कस्तो भने, अग्लो ठाउँमा बस्नेले गहिराइ नदेखेजस्तो । उज्यालोसँग हुनेले अँध्यारो नचिनेकोजस्तो । हामीलाई थाहा छ, धरावासी संवेदनाका सिद्धहस्त लेखक हो । उससँग जीवनलाई चिन्ने मात्र होइन्ा, चिर्ने सामर्थ्य छ । उसका प्रत्येक कृति मानिस र मानिसका सीमित सपनाहरूको पक्षमा गरिएको सुन्दर वकालत हो ।
धरावासीलाई सबैथोक पुग्दै आएको छ । तर ऊ सबैलाई पुर्‍याऊँ भन्छ । दु:ख र अभावबाट सुखउन्मुख ऊ सबैलाई सुखमा सामेल गराउन चाहन्छ । उसका यही र यस्तै चाहनाहरूको सङ्ग्रह हो- आँधी नआउने घर ।
‘जब आँधी आउँथ्यो, हामी छानाको दुई छेउतिर उभिएर झुन्डिन्थ्यौँ । एकातिर आमा झुन्डिनुहुन्थ्यो, अर्कोतिर म र बहिनीहरू । बुबा अपाङ्ग भएकाले यो लडाइँ उहाँ लड्नु हुन्न्ाथ्यो । कहिले त छानोसँगै हामीलाई पनि हुत्तहुत्त पारेर अलिकति उचाल्थ्यो आँधीले । नाकमुखबाट एकैचोटि भित्र पसेर निसासिने बनाउँथ्यो । अँध्यारोमा धेरै बेरसम्म आँधी र पानीसँग जुधेर गलिसकेका हुन्थ्यौँ हामी । जब बिस्तारै आँधी थामिँदै जान्थ्यो, मन पनि शान्त हुँदै आउँथ्यो । आँधीबाट घर जोगाउने लडाइँमा व्यस्त भएका हामीले पानीबाट लुगाफाटो र अरू कुरा जोगाउन सक्दैनथ्यौँ । आँधी रोकिएपछि पानीले हिलै भएको घरमा लुगाफाटा सबै भिजेर ल्याफ्फै भएका हुन्थे । टुकीको मट्टीतेल पानी मिसिएर नबलने भएको हुन्थ्यो । दाउरा सल्किन मान्दैनथे । भरेसम्म नै छानाबाट तप्प तप्प धमिलो पानी झरिरहन्थ्यो ।’
आँधी नआउने घर पेज नं. २-३
धरावासी ल्यान्डस्केप बनाउँछ शब्दहरूको । दु:खको चित्रण गर्न यति खप्पीस छ कि ऊ पाठकलाई पनि त्यही दु:ख अनुभूत गराइदिन्छ- जुन दु:ख उसले भोगेको थियो । या देखेको थियो । आधा शताब्दी जीवन हिँडेको धरावासीका सुखदु:ख यात्राका क्रममा सङ्गालेका अनगिन्ती सम्झनाहरू छन् । त्यही सम्झनाहरूका ल्यान्डस्केप नै हो- आँधी नआउने घर ।
१७ सालतिर जन्मिएका धरावासीका १७ वटाभन्दा बढी कृति बजारमा आइसकेका छन् । एउटा कविताका किताबहरू छाडेर सबै उत्तिकै प्रिय र चर्चित बनेका पनि छन् । पाउन बाँकी पुरस्कार पनि केही छैन । पाठकहरूका मनमा पाठकहरूकै इच्छामा शासन जमाएको छ । र, पनि धरावासी उद्वेलित छ । के छ होला – धरावासीले पाउन — यो प्रश्नको जवाफ पनि हो – आँधी नआउने घर । उसको यो आतुरता के का लागि – किन लेखिरहेछ धरावासी – किन दौडिरहेछ – महानगरको यो भीडमा — के छ ऊभित्र — किन व्यग्र छ ऊ — यी सब प्रश्नका जवाफहरू भ्ोटिन्छन् धरावासीको यो कृतिमा । उसले कसैलाई केही नभनेको जस्तो गरेर सबैलाई सबैथोक भनेको छ ।
यसभित्रका २७ वटै निबन्धमा धरावासीले आफूइतरको पक्षमा आवाज उठाएको छ । आफ्नो कुरा लेखेजस्तो गरी उसले अरूको कुरा लेखेको छ । आफ्नो माग भनेजस्तो गरी उसले अरूको माग सार्वजनिक गरेको छ । ऊ आफ्नो दु:ख स्वीकार्न तयार छ तर अरूको सुखको कामना गर्छ । यस्तै कामनाहरूको सङ्ग्रह पनि हो यो कृति । भाषामा रहेको शक्ति र शैलीमा रहेको पकड नै धरावासीको सुन्दर पक्ष हो । अझ उसले चुनेका विषय र त्यसमा उसले ल्याउने विविधताले धरावासीको लेखनलाई सर्वप्रिय बनाएको हाम्रो ठहर छ ।
अब अलिकति कुरा गरौँ- पैरवी बुक हाउसको । हुन त पैरवीको कुरा अलिकति गरेर पुग्दैन । साहित्यलाई व्यावसायिक रूपमा बलियो बनाउन पैरवीले जे काम गरिरहेको छ, त्यो स्वागतयोग्य छ । आमपाठकसमक्ष पुस्तकहरू प्ाुर्‍याउन पैरवीले जे गरेको छ त्यो सुन्दर कुरा हो । अझ स्रष्टाहरूलाई रोयल्टी दिएर किताब प्रकाशन गर्नु आफैंमा जिम्मेवारीपूर्ण व्यावसायिक धर्म पनि हो । लेखकसँगै पैसा लिएर किताब छाप्दै प्रकाशनगृह खोलेर बस्नेहरूको भीडमा पैरवी बुक हाउसले व्यावसायिक धर्मको रक्षा मात्र गरेको छैन, सफलताउन्मुख उसको यात्राले नेपाली साहित्यमा उल्लेख्य योगदान पनि दिएको छ ।