माओवादी एकीकृत हुँदा नारायणकाजीको ‘डिमोसन’ गरिने !

माओवादी एकीकृत हुँदा नारायणकाजीको ‘डिमोसन’ गरिने !


Narayen kaji shrestha
प्रचण्ड नेतृत्वको एमाओवादी र मोहन वैद्य किरण नेतृत्वको माओवादीबीच हुन लागेको पार्टी एकतामा नेतृत्व चयन मुख्य विवाद र बहसको विषय बनेको छ । नेतृत्वका विषयमा समान धारणा बन्न नसकेकोले नै फागुन १ गते पार्टी एकीकरण घोषणा नभएको बुझिएको छ । प्राप्त जानकारीअनुसार वैद्य नेतृत्वको माओवादी समूहभित्र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठप्रति गम्भीर ढङ्गको ‘रिजर्भेसन’ रहेको छ, उनीहरू श्रेष्ठलाई पार्टीका मुख्य तीन नेताको कोटिमा राख्न चाहँदैनन् । माओवादीका नेता–कार्यकर्ताहरू मोहन वैद्य किरण एकीकृत पार्टीको अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा छन्, तर उनीहरू प्रचण्डको नेतृत्वलाई पूर्ण रूपले अस्वीकार गर्नैपर्छ भन्ने धारणा भने राख्दैनन् ।

नेतृत्वपङ्क्तिमा प्रचण्ड र किरणपछिको हैसियतमा रामबहादुर थापा बादल रहनुपर्छ भन्ने मत बलियो देखिएको छ । नारायणकाजी श्रेष्ठले विगतमा निर्वाह गरेको भूमिका स्वाभाविक, सहज र क्रान्तिकारी शक्तिबीचको एकतालाई बल पुर्‍याउने प्रकारको नभएको माओवादी पार्टीका नेता–कार्यकर्ताहरूको ठहर छ । त्यसैले नारायणकाजी श्रेष्ठलाई हाल प्राप्त हैसियतमा कटौती गर्नुपर्छ भन्नेमा वैद्य समूहका नेता–कार्यकर्ता रहेका छन् ।

त्यसो त माओवादीभित्र प्रचण्डलाई अध्यक्षका रूपमा देख्न नचाहनेहरूको पनि सङ्ख्या ठूलो रहेको छ । परि थापा र रामसिंह श्रीषलगायतका नेताहरू त प्रचण्डप्रति यतिसम्म आशङ्का गर्छन् कि ‘एकता नै एउटा खेल मात्र हुनसक्ने’ उनीहरूको ठम्याइ छ । त्यस्तै माओवादी आन्दोलनलाई विभाजित तुल्याउने र पार्टीबाट मोहन वैद्य किरण तथा बाबुराम भट्टराईलाई खेद्ने भूमिकामा नारायणकाजी रहेकोले उनलाई एकता प्रक्रियासँगै ‘साइज’मा राख्नुपर्छ भन्ने मत माओवादीभित्र बलियो देखिएको छ । बरु प्रचण्डलाई अध्यक्ष स्वीकार गर्ने तर नारायणकाजी श्रेष्ठलाई उपाध्यक्षचाहिँ स्वीकार नगर्ने मानसिकता वैद्य खेमाभित्र रहेको पाइएको छ ।

आफ्नो पार्टीभित्र पैदा भएको चर्को प्रतिक्रियाका कारण हतारमा एकता गर्दा दुर्घटना हुने चिन्ता मोहन वैद्यमा देखिएको छ । साँच्चै क्रान्तिकारीहरूबीच एकता गर्न प्रचण्ड तयार भएका हुन् या उनी नयाँ खेल मात्र खेल्दै छन् भन्ने कुराको यकिन गरेर मात्र पार्टी एकतालाई मूर्तरूप दिनेतर्फ लाग्नुपर्ने सुझाव वैद्यलाई शुभचिन्तक एवम् समर्थकहरूबाट प्राप्त भइरहेको बताइन्छ । विचार, नीति र सिद्धान्तमा धेरै हदसम्म समानता भए पनि नेतृत्वको विषयलाई लिएर उत्पन्न असहमतिका कारण दुई पार्टीबीचको एकीकरण विलम्व भएको बुझिएको छ । तर, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई घटुवा गरेर हुने एकताले एमाओवादीलाई कसरी एकताबद्ध राखिरहन योगदान पुर्‍याउला, प्रश्न गम्भीर बनेर उभिएको छ ।