मन्त्री परिषद् पूर्ण गराउन तीन दल तयार

मन्त्री परिषद् पूर्ण गराउन तीन दल तयार


काठमाडौं / आइतबारसम्ममा मन्त्री परिषदलाई पूर्णता दिन प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव सहमत भएका छन्। हिजो साँझ प्रधानमन्त्री निवासमा भएको वार्तामा नेताहरु मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिन सहमत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

फोरम अध्यक्ष यादवले आफ्नो पार्टीलाई चार वटा मन्त्रालय दिनुपर्ने माग गरेका छन् भने प्रधानमन्त्री खनालले तीनवटासम्म मन्त्रालयको जिम्मेवारी दिन सकिने बताएका छन्। माओवादी अध्यक्ष दाहालले भने अहिलेको मन्त्री परिषदमा मधेसलाई उचित स्थान दिइने प्रतिवद्धता ब्यक्त गरेका छन्। शुक्रवार फेरि हुने बैठकमा मन्त्रालयको टुंगो लाग्ने छ।

प्रधानमन्त्री खनालले परराष्ट्र र उद्योग गरी दुई मन्त्रालय दिने बताए पनि फोरमले चारवटा मन्त्रालयको दावी गर्दै आएको छ। फोरमले थप मन्त्रालय माग गरेपछि आपूर्ति तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी समेत पाउने संभावना वढेको छ। फोरमले यसअघि एमाले र माओवादीको जिम्मामा परेको स्थानीय विकास र भौतिक योजना मन्त्रालय समेत दावी गरेपछि उसको सत्तारोहणमा ढिलाइ भएको हो। – मेस, काठमान्डौं