ज्येष्ठ नागरिकहरूलाई हेला होइन सम्मान गरौँ

ज्येष्ठ नागरिकहरूलाई हेला होइन सम्मान गरौँ


Laxman Pd Khatiwada

:: लक्ष्मणप्रसाद खतिवडा ::

६० वर्ष उमेर पार गरेकालाई ज्येष्ठ नागरिक भनिन्छ । हाम्रो दर्शनले ज्येष्ठ नागरिकलाई भगवान्कै प्रतीक मानेको छ । हुन पनि मन, वचन र कर्मले ज्येष्ठ नागरिकप्रति समर्पित हुनु मानव धर्म नै हो । त्यसैले हामीलाई जन्म दिने, हुर्काउने, पाल्ने, उचित शिक्षादीक्षा दिने नागरिकलाई हामीले आदर, सम्मान गर्दै उनीहरूको हकअधिकारको सुनिश्चितता गर्नुपर्दछ ।
elder-person-old-age
ज्येष्ठ नागरिक भनेका ज्ञान, सीप र अनुभवका भण्डार हुन् । उनीहरूको ज्ञान, सीप र अनुभवलाई राज्यले सदुपयोग गर्दै देशको सामाजिक, आर्थिक विकासका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्छ । त्यसैले ज्येष्ठ नागरिकहरूको शारीरिक, मानसिक, आर्थिक अवस्थालाई सक्षम र सुदृढ गराई उनीहरूका दु:ख, पीडा र हीनताबोधलाई कम गर्दै लैजान आवश्यक छ ।

शारीरिक रूपले कमजोर हुँदैमा मानसिक रूपमा कमजोर हुँदैनन् ज्येष्ठ नागरिकहरू । उनीहरूको अनुभव युवाहरूभन्दा निकै बलियो हुन्छ । उनीहरूले पनि समाजका लागि योगदान दिन सक्छन् । उनीहरूसँग भएको ज्ञान, सीप र अनुभवलाई राज्यले उपयोग गर्न सक्नुपर्छ । उनीहरूको जीवनलाई सुख शान्तिमय बनाउन परिवार र राज्यले पनि पहल गर्नैपर्छ । सन्तानहरूले पनि आफ्ना आमाबाबुलाई यथाशक्य मानसम्मान गर्नुपर्छ । अशक्त अवस्थामा सहयोगी बनी स्याहारसुसार गर्नुपर्छ । शरीरले दिएसम्म काम गर्न सक्ने वातावरण बनाइदिनुपर्छ । अनि परिवार, समाज र राज्य सचेत र संवेदनशील भई ज्येष्ठ नागरिकको हक, अधिकार र सुरक्षाका लागि एकजुट हुन आवश्यक छ ।

वि.सं. २०६८ सालको जनगणनाअनुसार ज्येष्ठ नागरिकको सङ्ख्या करिब २२ लाख रहेको देखिन्छ । अनि ज्येष्ठ नागरिकको सङ्ख्यामा वार्षिक ३.४ प्रतिशतले वृद्धि भइरहेको छ । यसले गर्दा ज्येष्ठ नागरिकको सङ्ख्या अझै बढ्ने क्रममा छ । हुन पनि विश्वमा करिब १० प्रतिशत मानिस ज्येष्ठ नागरिक भएको वर्तमान अवस्थामा उनीहरूलाई स्वस्थ, आदर्श, मर्यादित र सम्मानित बनाई उनीहरूमा भएको ज्ञान, सीप, दक्षता र अनुभवलाई मुलुकको विकासमा लगाउन सके पक्कै देशविकासमा सहयोग पुग्छ । अत: ज्येष्ठ नागरिकलाई बोझको रूपमा नलिई बेसहारा, अपहेलित अनि तिरस्कृत हुनबाट जोगाउन आवश्यक छ । यसका लागि राज्यले सामाजिक सुरक्षाका कार्यक्रम अझै प्रभावकारी रूपमा लागू गर्नु जरुरी छ ।

ज्येष्ठ नागरिकको आधारभूत हक–अधिकारको संरक्षण गरी उनीहरूलाई सम्मानपूर्वक जीवनयापन गर्न उनीहरूको उन्नति र संरक्षण साथै सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन एवम् उनीहरूप्रति श्रद्धा, आदर र सहभाव अभिवृद्धि गर्न ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३, नियमावली २०६५ जारी भएको छ । यसका साथै नेपालको संविधान २०७२ मा पनि मौलिक हकको रूपमा ज्येष्ठ नागरिकको हकलाई स्वीकारी कानुनबमोजिम राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा दिने व्यवस्था गरेको छ । यसका साथै सार्वजनिक सेवामा ज्येष्ठ नागरिकलाई विशेष सुविधा दिन आरक्षण, प्राथमिकताजस्ता व्यवस्थाहरू गरिएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य सुविधामा पहुँचवृद्धि गर्न सरकारी अस्पतालहरूमा उपचार शुल्कमा छुटको व्यवस्था गरिएको छ । यति हुँदाहुँदै पनि ज्येष्ठ नागरिकहरू विभिन्न किसिमका समस्याहरूले पिल्सिरहेका छन् ।

राज्यले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको २०५१ सालदेखि नै हो । तत्पश्चात् उनीहरूलाई सामाजिक सुरक्षा भत्ता दिने कार्यक्रमलाई निरन्तरमा दिइएको छ । यसले उनीहरूलाई केही हदसम्म सहयोग पुगे पनि यो पूर्णत: होइन । त्यसैले उनीहरूको जीवनस्तर सुधार्न, उनीहरूको हक हितको संरक्षण र सम्वद्र्धन गर्दै नयाँ पुस्तामा आदर, मर्यादा, शिष्टाचार र उत्तरदायित्वको भावना जागृत गराउन आवश्यक छ । उनीहरूका समस्यालाई व्यक्तिगत समस्याका रूपमा नलिई राष्ट्रिय समस्याका रूपमा लिँदै ज्येष्ठ नागरिकहरूको मनोविज्ञान बुझेर सेवा र अवसर प्रदान गर्नुपर्छ । अनि मात्र उनीहरूको जीवन सुख र शान्तिमय भई बित्छ ।
ज्येष्ठ नागरिक 1
हामीले ७० वर्षे वृद्ध भक्ति थापाको वीरताको युद्धगान पढेका छौँ, अनि वि.सं. २०६२/०६३ को दोस्रो जनआन्दोलनमा लोकतन्त्र प्राप्तिका लागि होमिएकी छायादेवीलगायतका वृद्धवृद्धालाई देखिसकेका छौँ । जाँगरिला, फुर्तिला अनि समाजको अग्रगतिका लागि लाग्ने माधवप्रसाद घिमिरे, सत्यमोहन जोशीजस्ता व्यक्तिहरू हाम्रो समाजमा अझै छन् । त्यसैले आफ्नो देशमा इज्जत र सम्मानसाथ बाँच्न पाउने उनीहरूको नैसर्गिक अधिकारलाई सम्मान गर्दै उनीहरूको संरक्षण गर्दै उनीहरूलाई सामाजिक सुरक्षा प्रदान गर्नुपर्छ ।

वर्तमान समयमा बढ्दो सहरीकरणले गर्दा समाज दिनप्रतिदिन आधुनिक बन्दै गएको छ । जसले गर्दा ज्येष्ठ नागरिकहरूको अवस्था झन् जटिल बन्न पुगेको छ । त्यसैले ज्येष्ठ नागरिकहरूको सम्मानजनक जीवनयापनका लागि अनुकूल सेवा र सुविधा विस्तार गर्न आवश्यक छ । यसका लागि परिवार, समाज, राज्यले उनीहरूको सम्मान गर्दै उनीहरूको आत्मबल बढाउनुपर्दछ । अनि वास्तविक असहाय र अपहेलित ज्येष्ठ नागरिकहरूको पहिचान गरी राज्यले उनीहरूको संरक्षण गर्नुपर्छ ।