नेताहरू ! कि आरोप तोड कि त छोड

नेताहरू ! कि आरोप तोड कि त छोड


damodar paudel
:: दामोदर पौडेल ::

कस्तो विडम्बना ! कांग्रेसहरूबीच पनि कुरा हुन्छ । विपक्षीहरूबीच त झनै हुन्छ । तर, भुस सल्केकोजस्तो हुनु, तर त्यसलाई प्रस्ट पार्न नसक्दा भ्रम बढेर त्यसले नपत्याउने खोलाले बगाउँछ भनेजस्तो हुन्छ । त्यसैले कांग्रेसको सम्बन्ध केही चर्चा चलेकोमा उल्लेख गर्न आवश्यक छ ।

प्रथमत: दिवंगत सुशील कोइरालाले संविधान बनेपछि प्रधानमन्त्रीबाट राजीनामा दिई राष्ट्रपति नबनेर प्रधानमन्त्रीकै लागि उम्मेदवारी दिनुको तात्पर्य थियो– कोइराला परिवारबाट काङ्ग्रेसको नेतृत्व बाहिर नजाओस् । उनले छोडेमा कांग्रेस सभापति बन्ने हैसियत सुजाता कोइराला र शशांक कोइरालाको बनेको छैन । तत्कालीन योजनाअनुसार कोइराला नै पार्टी सभापति बन्ने र केही समयपछि उल्लेखित दुईजनामध्ये एकलाई कार्यबाहक सभापति दिने अनि अर्कोलाई महामन्त्री बनाउने योजनाअनुसार काम भइरहेको थियो भन्ने गरिन्छ । कोइलाला परिवारमा पनि गिरिजाप्रसाद र बीपीका सन्तानकै हातमा नेतृत्व जानुपर्छ भन्ने पनि थियो । त्यसैले एउटा गोलीले दुई सिकार गर्न सुशीलभन्दा बाहिर उनलाई राष्ट्रपति बन्न नदिने योजना कोइराला परिवारमा नै बनेको थियो पनि भनिन्छ । सुशील कोइराला त्यागी भएकाले उनको उच्च सम्मान हुनैपथ्र्यो होला, तर उनको देहावसान भइसकेको अवस्थामा अब उनको क्षमताबारे लोखाजोखा गर्नुको तुकै रहेन । यदि कोइराला जीवित रही कांग्रेस सभापति बनेकै भए सिङ्गो कांग्रेसलाई उनले क्षमता र विचारको आधारमा सन्तोष दिन सक्ने थिए होलान् त भन्ने प्रश्न भने जीवित नै छ ।

अर्कोतर्फ शेरबहादुर देउवाले तत्कालीन राजाको लहैलहैमा लागेर कांग्रेसकै मानमर्दन हुनेगरी प्रधानमन्त्रीको लेटरप्याड दरबारमै पुर्‍याएर संसद् विघटन गरेका हुन् भन्ने हल्ला नौलो छैन । राजाले कहिले अयोग्य भनेर हटाएको र कहिले पुन: प्रधानमन्त्री बनाउँदा देउवाले गोर्खाली राजाबाट न्याय पाएको बताएकै हुन् । एमाले नेतृत्वले पनि आधा प्रतिगमन सच्चियो भनेर दाम चढाएकै हो । पदकै लागि दल फोर्ने तथा लोकतन्त्रलाई दरबार लगेर बुझाउनेलाई कांग्रेसको जिम्मा लगाउँदा कांग्रेसमा लाग्ने कालो कहिले धुन सकिएला ? के उनलाई मत दिँदा सन्तुष्टि मिल्ला त ? यी विवादास्पद अवस्थाका बाबजुद देउवा कांग्रेसको लामो समयसम्मका हस्ती हुन् । एकपटकको गल्तीले सबै इतिहास सबै अवस्थामा अन्त्य नहुने भएकोले उनको उचित सम्मान जरुरी छ ।

यस परिवेशमा के सुशील र देउवाका तुलनामा क्षमता र वाक्शक्ति पनि भएका कोइराला परिवारकै शेखर कोइरालालाई सभापति दिन कांग्रेस संस्थापन पक्ष तयार छ ? यो प्रश्न पनि एक कोणबाट उठ्न पुगेको छ । वास्तवमा यसो हुन सकेमा अवश्य पनि राम्रो सन्देश जान्छ भन्ने कार्यकर्ताको ठूलै पङ्क्ति विद्यमान छ । के शेरबहादुर देउवा क्षमतावान् नेता विमलेन्द्र निधिलाई सभापति दिन सक्दछन् ? संस्थापन भनिने कोइराला परिवारले त्यसो गर्न नसके देउवाहरूले गरे कांग्रेसको शिर अझ उचो हुन्छ ।
poudel-deuwa Leaders
वास्तवमा आफँैले गल्ती नगर्ने अरूको कारणले परिस्थितिवश फरक गुटमा रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रदीप गिरी, अर्जुननरसिंह केसी, रामशरण महत, चित्रलेखा यादव, दिलबहादुर घर्ती महेश आचार्य, बलबहादुर केसी, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, मानबहादुर विश्वकर्मा, पद्मनारायण चौधरी, फमुल्लाह मन्सुर, कृष्णप्रसाद सिटौला, तारणीदत्त चटौत, केबी गुरुङ, शेखर कोइराला, मीन विश्वकर्मा, धनराज गुरुङ, सुजाता कोइराला, मीना पाण्डे, शशांक कोइराला, मीनेन्द्र रिजाल, प्रकाशशरण महत, रमेश लेखक, नरहरि आचार्य, बालकृष्ण खाण, एनपी सावद, कमला पन्त, रामकृष्ण यादव, गगन थापा आदि एक भएर चुनाव लडेमा कांग्रेसले जित्छ र गुट हराउँछ । सबै क्षेत्रका युवा तथा अरू क्षमतावान्समेतलाई उनींहरूको योग्यताको आधारमा आफ्नो स्थान बनाउने अवसर मिल्नेछ । क्षतावान्हरूलाई आपसमा लडाएर हनुमान्हरू जम्मा गर्ने नेता बन्नेहरू पछारिन्छन् अनि दलमा अभूतपूर्व एकता आउँछ । देश र जनतामा उत्साह थपिन्छ । कांग्रेस छोड्नेहरू घर फर्किन्छन् ।

यति मात्र नभई त्यस्तो अवस्थामा देशले पुन: ०४८ सालपछि देशको गार्हस्थ उत्पादन करिब ७ प्रतिशतजति गरेकोमा पुन: त्यो कायम हुन्छ । गरिबी हटाउन सकिन्छ । देशमा सबैको मुहारमा खुसी ल्याउन सकिन्छ । विकास, समानता र सम्पन्नता आएपछि जनता पनि बुझ्ने हुन्छन् । वामपन्थी, दक्षिणपन्थी, जातिवादी र क्षेत्रवादीहरूविरुद्ध जनताले नै प्रतिकार गर्दछन् । देशमा शान्ति छाउँछ र हामी बुद्धका देशका नागरिक भन्न योग्य बन्छौँ । अहिले त हामी बुद्ध, सीता, पृथ्वीनारायण शाह, बीपी, गणेशमान, सुवर्णशमशेर, रामनारायण, महेन्द्रनारायण, योगेन्द्रमान, कृष्णप्रसाद, गिरिजाप्रसाद आदिको नाम लिँदा उनीहरूको नाम भजाएर उनीहरूको अपमान गरेका छौँ कि सम्मान गरेका छौँ आफैँलाई सोध्नुपर्ने बेला आएको छ । संस्थापन पक्ष र शेरबहादुर देउवा खेमाले माथि उल्लेख गरिए जसरी लागेका आरोपहरूको उचित जवाफ दिन सक्नुपर्छ । वा त्यो बाटो समात्न सक्नुपर्छ । राम्रो भने सके पनि नसके पनि प्रथमत: सबै कांग्रेसलाई मिलाएर आफूहरू दलका सर्वोच्च नेता बनेर अभिभावकत्व लिनु उनीहरूको उचाइ बढ्नु हो । देश र जनताको पक्षमा कांग्रेस अझ खरो रूपामा उभिन सक्नु हो ।

त्यसैले पुराना वा पाका नेताहरू ! तपाईंहरूले सकेसम्म पद छोड्नुहोस् र मान लिएर अरूलाई खटन गर्ने स्थानमा रहनुहोस् । सक्नुहुन्न भने पनि कमेकम आफूमाथि लागेका र तपाईंहरूसामुन्ने भन्न नसकेका आरोपको उत्तर दिनुहोस् । अरू नेताहरू देश, जनता र कांग्रेसको लागि एक हुनुहोस् । आफ्नै अझ ठूलो इज्जत र भूमिकाका लागि पनि एक हुनुहोस् । सबै नेपालीलाई जात, धर्म, भाषा, लिङ्ग, क्षेत्रसमेतका आधारमा समान अधिकार दिनुहोस् । समान विकास र अवसर दिनुहोस् । गरिबी हटाएर सबैका आधारभूत आवश्यकता पूरा गर्नुहोस् । महाधिवेशनमा यसको पक्षमा काम गर्न सक्नुभयो भने ठूलो दलको हैसियतले कांग्रेसले सरकार पाउनासाथ धेरै गर्न सक्छ । इमानदारी जोडिने घमण्ड घट्ने हो भने यो देशमा विकास, शान्ति, समानता र भ्रष्टाचाररहित समाजको लागि फर्मुला दिनेहरूको कमी हुँदैन । त्यसका लागि नेताहरू पहिला तयार हुनुपर्छ र त्यो पनि महाधिवेशनभन्दा पहिला । नेताहरू एक हुनुहोस्, इमानदार र क्रियाशील बन्नुहोस् । यो देशबाट गरिबी, अविकास, अशान्ति, बेरोजगारी हट्दै जान्छ । कांग्रेसको साख बीपीको समयमा जस्तै बढ्छ ।