एयरपोर्टका घुस्याहालाई कारबाही होस्

एयरपोर्टका घुस्याहालाई कारबाही होस्


वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले नि:शुल्क भिसा र टिकटको व्यवस्था गरेको कुरा त फोस्रो बोली सावित भई नै सकेको छ । उक्त सरकारी निर्णय व्यवहारमा नभई बोलीमा सीमित रहेको यथार्थ एकातिर छ भने अर्कोतिर ऋण काडेर आफ्नै खर्चमा बिदेसिन लागेका युवाहरू विमानस्थलमा ठगिने, लुटिने क्रमले पनि त्यत्तिकै तीव्रता पाइरहेको रहेछ भन्ने तथ्यको ज्वलन्त उदाहरण म आफैँ हुन पुगेको छु । विमानस्थलमा खटिएका कर्मचारीदेखि त्यहाँ कुल्ली, भरिया र लोडरको काम गर्नेहरूसमेतको मिलेमतोमा गरिब युवालाई दु:ख दिने, ठग्ने कार्य हुँदै आएको र त्यसलाई प्रशासन, प्रहरीजस्ता निकायले समेत आँखा चिम्लेर साथ–सहयोग र बढावा दिएको रहेछ भन्ने मेरो प्रत्यक्ष अनुभूति छ ।
tia
घटना गत पुस १६ गते बेलुकाको हो । ६ महिनाको बिदामा घर बसेर म आफ्नो काममा हाजिर हुन बहराइन फर्कन लागेको थिएँ । विदेशमा काम गर्दागर्दै छुट्टीमा आएर फर्कन लागेको मसँग भिसालगायत आवश्यक कागजात सबै दुरुस्त छँदै थियो । तर, नक्कली डकुमेन्टमा बिदेसिने कैयन युवासँग एजेन्टमार्फत घुस असुल्न पल्किएका एयरपोर्टका कर्मचारीले घुस मागेर मलाई दु:ख दिन थाले । दश हजार नदिए उड्न नदिई फर्काइदिने भन्दै हैरान पार्न थालेपछि आक्रोश र अत्यास दुवै लाग्यो । दुई–चार हजार कमाएर परिवार धान्ने सपना बोकी बिदेसिएको मजस्तो गरिब युवासँग घुस दिनका लागि त्यत्रो रकम थिएन र भए पनि सही–सक्कल डकुमेन्टका साथ दोहोर्‍याएर विदेश जान खोजेको मैले कसैले माग्दैमा किन घुस दिने भन्ने भाव पनि पैदा भयो । प्लेन छुट्ने बेला भइसकेको थियो, तर निर्दयी घुस्याहा कर्मचारीको मन पग्लिएन । कागज मिल्दैन भन्दै रोक्ने नै चेष्टा गरेपछि अत्तालिएँ । आखिर लाचार भएर पाँच हजार रुपैयाँ बुझाउनैपर्ने अवस्था आइपर्‍यो । त्यसरी मसँग घुस मागेर दु:ख दिने एयरपोर्टका चेकिङ स्टाफ अरविन्द यादव थिए । उनले उत्तम खत्री नामका लोडरलाई आफ्नो मतियार बनाएर मेरा अघिल्तिर सारेका थिए । खत्रीले नै मसँग ट्वाइलेटमा पाँच हजार रकम असुलेका थिए । मागेजति रकम नदिएको भन्दै मेरो झोलाको सामान फ्याँकिदिने कामसमेत ती दुईले गरेका थिए । त्यस दिन साह्रै बोझिलो हृदय लिएर म बहराइन उडेको थिएँ ।

एयरपोर्टमा अरविन्द र उत्तमले आफूलाई दु:ख दिएको र घुस लिएको कुरा मैले बहराइन आएपछि काठमाडौंमा रहेका मेरा दाइलाई सुनाएँ । दाइले प्रहरीमा उजुरी दिएर रकम फिर्ता र दोषीमाथि कारबाहीको माग गरेका थिए । घुस असुलेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको फेला परेपछि गौशाला प्रहरीले लोडर उत्तम खत्रीलाई नियन्त्रणमा लिएझैँ गरे पनि अरविन्दलाई सम्बन्धित विभागले नै विभागीय कारबाही गर्ने भन्दै बचाउने काम भएछ । खत्रीले प्रहरीसमक्ष आफूले दुई हजार र अरविन्द यादवले तीन हजार रकम बाँडेर लिएको बयान दिँदादिँदै पनि रकम असुलउपर गराइदिनुको साटो रकम उठाइदिने काम प्रहरीको दायित्वमा नपर्ने भन्दै एक–दुई दिन हिरासतमा राखेर त्यसै छोडिएछ ।

हामीजस्ता गरिब युवाले विदेशमा रगत–पसिना बगाएर आर्जन गरेको पैसामा मोजमस्ती गर्दै आएका नेताहरू र रेमिट्यान्सबाटै थेगिएको नेपाल सरकार के हेरिरहेछ ? नि:शुल्क भिसा र टिकटको व्यवस्था गरेको हौवा पिटाएर भ्रम छर्ने सरकारले पदमा बसेर ठाडै घुस असुल्ने, जनतालाई दु:ख दिने कर्मचारी र दलालहरूलाई कारबाही गर्ने हिम्मत राख्छ ? विदेशमा पसिना चुहाउँदै हामी यो नियालिरहेका छौँ । यस्ता भ्रष्टहरूमाथि कारबाही गरेर सुशासन कायम गर्न सक्दैन भने वर्तमान ओली सरकार पनि उही ड्याङको मूला रहेछ भनी चित्त बुझाउनुबाहेक त मजस्तासँग अरू के पो उपाय छ र ?

– टेकबहादुर कार्की, सोलुखुम्बु (हाल : बहराइन)