भुक्तमानको ऐना

भुक्तमानको ऐना


Partha
भुक्तमानको ऐना
– प्रथा

हिउँको आरनमा
हिउँकै आगो सल्काएर
आफ्नै विश्वासको लिहीमाथि
उसले पिटिरह्यो
आगोजस्तै जब्बर धातु !
र जमिनको पुरानो याक्साभित्र
आफूचाहिँ सेलाउँदै गयो
बरफको कुनै अन्तर्धुज ढिक्काजस्तै !

भन न ए भुसुनी खोला !
किन सेलाउन सकेनन्
यो कलिलो मनभित्रका तापहरू ?
यही प्रश्नको जङ्गलमा
एउटा सिङ्गो इतिहास हराएको छ !
उसबेलादेखि –
पीडाको काँचो लाभा ओकल्दै
धर्तीमा फुटिरहेछ अदृश्य ज्वालामुखी !

उसको ज्ञानको तलाउमा
सयौँ खुकुरीहरूको गर्भाधान भयो
हजारौँ तरवारहरूको जन्म भयो
र असङ्ख्य खुँडाहरूको न्वारान पनि गरियो !
के–के हुनु थियो – सबै भयो
जे–जति बनिनु थियो – सबै बने !
यो अङ्कगणितसँग –
न त भुक्तमानको दिनु थियो
न त केही लिनु नै थियो !

उसको पाठशालामा –
ऊ आफ्नो गुरु आफँै थियो !
उसले पढ्ने पुस्तकमा –
आगोका अक्षरहरू छमछमी नाचिरहन्थे !
उसका यात्राहरूमा –
ऊ आफू हिँड्ने बाटो आफँै थियो !
थाहा पाएन उसले –
कतिखेर आफू खलाँती बन्यो
र, आरनमा बसेर फुकिरहेछ आफूजस्तै आगो !

एक दिन –
खुकुरीले संवेदना गुमायो
मूर्ख खुँडा पनि उद्दण्ड बन्यो
र सन्की तरवारले विवेकको सलेदो निभायो !
एउटा निस्लोट कालिमाले
आशाका घामहरू बढारिदिएपछि
उसले पहिलोचोटि –
जीवनको ऐनामा आफूलाई हेर्‍यो
र छर्लङ्ग देख्यो – सत्ताको अनुहार !

विष्टहरूसँगै –
खुकुरी पनि चमचमाउँदै थियो !
बराजुहरू जस्तै –
खुँडा फणा फुलाएर डुक्रँदै थियो !
मालिकहरूको घोडा बनेर
तरबार पनि बेजोडले हिनहिनाउँदै थियो !
र हातमा चुप्पी बोकेर
ऊ जस्तै एउटा दु:खी देश पनि
जुलुसको पछिपछि जोसिँदै हिँडिरहेको थियो !

खुकुरीका ओठहरूले –
भुक्तमानको गर्दनमा चुम्बन गरे !
तरबारको धार –
पोष्टमानको शिरमाथि नाच्न थाल्यो !
खुँडाका बङ्गाराहरूले –
पोकलीको नाभीमा उत्तेजना घोप्ट्याइदिए !
र राष्ट्रिय धूनमा परेड खेल्दै
एउटा कालो घोडाले
मुलुकी ऐनजस्तो नक्सा कुल्चिरह्यो !

हेर्दाहेर्दै –
आकाशका नौलाख ताराहरू
एकपछि अर्को गर्दै झरेर गए !
जीवनको निख्लो डालीबाट
सपनाका सल्ली पिरहरू
जमिनमा उदासिँदै खस्न थाले !
र खडेरीले निलेजस्तै गरी
सर्लक्कै निलिदियो
जिन्दगीको हाङ्ग्रेखोला – आतङ्ले !

बाउ–बाजेलाई सम्झेर
भक्कानो फुटेपछि
हातमा नाङ्गो खुकुरी नचाउँदै
आज लालजित विक
अदालतको ढोकाबाहिर उभिएको छ !
ऊ साँच्चै बौलाएको छ
या बौलाएको अभिनय गर्दै छ !
अँ हँ † कसैलाई थाहा छैन !

ऊ लक्का जवान छ !
यौवनका कलकलाउँदा रहरहरू
जिब्री फूलजस्तै नफक्रिएका पनि होइनन् !
तर पनि ऊ आज –
मृत्युको मुखमा उभिएर
आफँै पत्ता लगाउन चाहन्छ कि
उसले अर्जापेको खुकुरीको धारमा पाइन कति छ ?
(२०५४ फागुन २५)