अनुदान रोकिँदा खानेपानी आयोजना प्रभावित

अनुदान रोकिँदा खानेपानी आयोजना प्रभावित


धरान/ धरानमा सञ्चालन भइरहेको एडीबी खानेपानी परियोजनाअन्तर्गत धरान खानेपानी आयोजनाका लागि राज्यको तर्फबाट अनुदानस्वरूप आउने २४ प्रतिशत रकम रोकिएपछि आयोजना प्रभावित हुने भएको छ । कुल एक अर्ब ४८ करोडको लगानीमा सञ्चालित सो परियोजनाको दोस्रो चरणअन्तर्गत बिलको कुल रकम २० करोडमध्ये नेपाल सरकारबाट प्राप्त हुने २४ प्रतिशतमध्ये करिब पाँच करोड रुपैयाँ भुक्तानी हुन नसक्दा परियोजनाको काम प्रवाहित हुने भएको हो ।

सरकारको तर्फबाट आउने उक्त अनुदान रकम विगत तीन महिनादेखि रोकिएकाले चौथो महिनासम्ममा पनि भुक्तानी नभएमा निर्माण कार्य रोकिन सक्ने कुरा बिल्डिङ डिजाइन अथोरेटीका निर्देशक अनिल नेपालले बताउनुभयो । मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीले पनि प्रभाव नपारेको धरानको खानेपानी आयोजनालाई सरकारी अनुदान रकम रोकिएका कारण एकदमै समस्या भइरहेकाले यो परियोजना ढिलो भएमा यही कारणले ढिलो हुन सक्ने बताइएको छ । तर, समयमै रकम निकासी भएमा निर्धारित समयमै परियोजना सम्पन्न हुने लक्ष्यसमेत लिएको नेपालले बताउनुभयो ।
water
एसियाली विकास बैंक एडीबीको ऋण तथा अनुदानमा सञ्चालन भएको यस आयोजनाका लागि कुल एक अर्ब ४८ करोडको लागत रहेको जनाइएको छ । जसमा एडीबी २६ प्रतिशत, नेपाल सरकारको २४ प्रतिशत अनुदान रकम नगर विकास कोष ३५ प्रतिशत ऋण र धरान उपमहानगरपालिकाको १५ प्रतिशत लगानी रहेको परियोजनाका प्रमुख राजु पोख्रेलले बताउनुभयो । उहाँले यही हप्तासम्ममा दोस्रो बिलअन्तर्गतको अनुदान रकम निकासी भइसक्ने जानकारीमा आएकोसमेत बताउनुभयो ।

यसैगरी यस परियोजनाअन्तर्गत तीन स्थानमा ड्रिलिङको काम सम्पन्न भइसकेको छ भने उदय सामुदायिक वनको कुम्भीआहालमा दुईवटा र चारकोसे झाडीअन्तर्गत कुमारखत सामुदायिक वनमा एकवटा ड्रिलिङको काम भइरहेको छ । साथै कुम्भीआहाल र कुमारखत सामुदायिक वनबाट पाइपलाइनसमेत बिछ्याउने काम सुरु गरिएको छ । जसअन्तर्गत हालसम्ममा १२ किलोमिटर पाइपलाइन बिछ्याइसकिएको छ भने अबको १३ महिनाभित्रमा धरान क्षेत्रमा तीन सय ८० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न हुने कुरा बीडीएका निर्देशक नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार रेलवे सिस्टमका लागि धरान–११ स्थित विष्णुचौकमा पाँच लाख लिटर क्षमताको रिजर्भवेयर निर्माण भइरहेको छ । यसबाहेक धरान–३, १५ का पूरै भाग र १४ का केही भागलाई लक्षित गरेर पिण्डेश्वरमा पनि नौ लाख लिटरको रिजर्भवेयर (ट्याङ्की) निर्माण भइरहेको छ । त्यस्तै, फुस्रेमा पनि सात लाख लिटरको रिजर्भवेयर निर्माणकार्य जारी रहेको छ भने चाँडै नै पञ्चकन्यामा पनि ६ लाख लिटरको रिजर्भवेयर बन्नेक्रममा रहेको जानकारी दिइएको छ ।

यसका साथै नेपाल खानेपानी संस्थानमा रहेको १० लाख लिटरको तीनवटा रिजर्भ ट्याङ्कीसहित सातवटा रिजर्भवेयरमा पानी सङ्कलन गरी धरानलाई २४सै घन्टा खानेपानी पुर्‍याउने लक्ष्य राखिएको परियोजनाका प्रमुख पोखरेलले बताउनुभयो । यसका साथै अबको ६ महिनापछि रेलवे सिस्टमबाट धरानको ११ र १७ वडामा खानेपानीको वितरण गरिने बताइएको छ । घरघरमा पानी पुर्‍याउन पाइपलाइन पुर्‍याउने काम जारी रहेकाले ६ महिनाभित्रमा पानीको परीक्षण वितरण सुरु गरिने भएको छ भने प्रेसर र लिङ्केज परीक्षणपश्चात् सफल नतिजा आएमा पूर्ण रूपमा पानीको वितरण गरिने कुरा निर्देशक नेपालले बताउनुभयो ।

– मनिता चाम्लिङ