देउवा नै अबको काङ्ग्रेसका निर्विकल्प सभापति हुन्

देउवा नै अबको काङ्ग्रेसका निर्विकल्प सभापति हुन्


:: रोशनकुमार यादव (महासचिव, नेपाल तरुण दल (इन्डिया सेल) ::

प्राज्ञिक क्षेत्रबाट नेपाली काङ्ग्रेसमा केही न केही योगदान पुर्‍याउने अठोटका साथ काङ्ग्रेस राजनीतिमा होमिएका युवा रोशन यादव सेन्टर फर बायोटेक्नोलोजी एन्ड इन्भारोमेन्टल डेभलपमेन्टको एक्जुकेटिभ डाइरेक्टर, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टको डेपुटी डाइरेक्टर हुनुहुन्छ, जहाँ उहाँ रिसर्च एन्ड एक्स्टर्नल रिलेसन्स हेर्नुहुन्छ । विश्वकै ‘टप हन्ड्रेड’भित्र पर्ने युनिभर्सिटी इन्डियन इन्स्टिच्युट अफ साइन्स (बेंग्लोर)बाट शिक्षार्जन गरेका युवा रोशनकुमारलाई विभिन्न मधेसकेन्द्रित दलबाट आकर्षक प्रस्ताव आए पनि उहाँ मुलुकमा कसैले केही गर्छ भने काङ्ग्रेस पार्टीले मात्र गर्न सक्छ भन्ने मान्यताका साथ नेपाली काङ्ग्रेसप्रति प्रतिबद्ध हुनुहुन्छ भने सप्तरी–४ बाट नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि रहनुभएका उहाँ शेरबहादुर देउवाको विजयले मात्र अबको काङ्ग्रेसलाई सही नेतृत्व प्रदान गर्न सक्ने धारणा राख्नुहुन्छ । काङ्ग्रेसको १३औँ महाधिवेशनबाट शेरबहादुर देउवालाई सभापति निर्वाचित गराउन दिलोज्यानले लाग्नुभएका युवा प्राज्ञिक व्यक्तित्व यादवसँग गरिएको कुराकानी सङ्क्षेपमा प्रस्तुत गरिएको छ ।
Roshan Yadav 2
० राजनीतिप्रतिको धारणा नकारात्मक बन्दै गएको वर्तमान परिवेशमा तपाईंजस्ता प्राज्ञिक युवा कसरी काङ्ग्रेस–राजनीतितर्फ आकर्षित हुनुभयो ?
– हो, स्कुल तहको विद्यार्थी छँदा नै हामी सुन्थ्यौँ–भन्थ्यौँ कि राजनीति भनेको फोहोरी खेल हो । तर, मेरो पारिवारिक माहोल पनि नेपाली काङ्ग्रेससँग सम्बन्धित रहेको र सानैदेखि राजनीतिक नेताहरूसँगको साथसङ्गतले होला, मभित्र ‘यदि राजनीति फोहोरी खेल नै बनेको छ भने त्यसलाई सफा गर्न किन लागिनपर्ने ?’ भन्ने भाव त्यतिबेलै उत्पन्न भयो । यही भावनाबाट ओतप्रोत हुँदै म राजनीतितर्फ आकर्षित भएको हुँ । एक लाइनमा भन्नुपर्दा राजनीति डर्टी गेम भन्ने धारणालाई उल्ट्याउने उद्देश्यले म राजनीतिक क्रियाकलापमा संलग्न भएको हुँ ।

० राजनीतिक दल त अनेक थिए, तर काङ्ग्रेस नै रोज्नुको कारणचाहिँ के होला नि ?
– हाम्रो मुलुकमा नेपाली काङ्ग्रेस मात्र एउटा यस्तो दल हो जसले देशलाई हरेक दृष्टिबाट माथि उठाउन सक्छ । मुलुकले दशकौँपछि जुन संविधान पाएको छ, यो काङ्ग्रेसको नेतृत्वका कारण मात्रै सम्भव भएको हो । पहिलेका ठूला क्रान्ति तथा आन्दोलनहरूको अगुवाइ पनि काङ्ग्रेसले नै गरेको हो भने माओवादीको सशस्त्र युद्धलाई अवतरण गराएर यहाँसम्म ल्याउन पनि काङ्ग्रेसकै सुझबुझले काम गरेको इन्कार गर्न मिल्दैन । समग्रमा भन्नुपर्दा नेपाली काङ्ग्रेस या काङ्ग्रेसको लिडरसिपमा मात्र यो मुलुक अघि बढ्न सक्छ भन्नेमा सन्देह पालिरहनुपर्दैन भन्ने मेरो बुझाइ हो । काङ्ग्रेसभित्रका प्रभावशाली नेताहरूको व्यक्तित्वबाट तानिएर पनि म यस दलतर्फ आकर्षित भएको हुँ ।

० तपाईं एक मधेसी युवा हुनुको नाताले वर्तमान परिवेशमा काङ्ग्रेसको राजनीतिमा होमिन असहज त भएको छैन ?
– तपाईंको आशय मधेस आन्दोलन या आन्दोलनकारीका कारण कुनै अवरोध उत्पन्न भएन र भन्ने होला । अवश्य पनि यतिबेलाको परिवेशले हामीलाई अनेक खालका समस्या अनुभूत गराएको छ । कतिपय अवस्थामा विभिन्न धम्कीको सामना पनि गर्नुपर्‍यो । ‘तराईमा यस्तो अवस्था छ तपाईंचाहिँ पहाडिया पार्टीमा संलग्न भएर काम गर्ने ?’ भन्ने गम्भीर प्रश्नसँग हरदिन सामना गर्नुपरिरहेको पनि छ । तर, यसलाई मैले ठूलो रूपमा लिने गरेको छैन, बरु राजनीतिक यात्रामा आइपर्ने स्वाभाविक समस्या ठानेर चिर्दै अघि बढ्ने ध्येय राखेको छु । यहाँनेर यो भन्न म हिच्किचाउँदिनँ कि यतिबेला मधेसमा आन्दोलन चलाउने नेतृत्व वा नेताहरूमा मौका पर्दा सत्तामा गइहाल्ने समस्या छ । यस्तो रोग उहाँहरूमा नभइदिएको भए आज मधेसले धेरै उपलब्धि हासिल गरिसक्ने थियो । वास्तवमै मधेस अलिकति अपहेलित भएको छ र मधेसको जायज माग पूरा गराउन हामी अग्रसर छौँ । यसका लागि काङ्ग्रेसमै रहेर पनि लड्न सकिन्छ भन्ने मेरो दृढ मान्यता छ । पार्टीनेतृत्वलाई मधेस र मधेसीका पीडा वा समस्याबारे बुझाएर समस्या समाधान गर्ने दिशामा अग्रसर गराउन हामी लागिपरेका छौँ । यस मुलुकमा नेपाली काङ्ग्रेस मात्रै एउटा यस्तो पार्टी हो जसले हिमाल, पहाड र तराईलाई मिलाएर लैजाने सामथ्र्य राख्छ । यसैकारण म प्रत्येक प्रतिकूलता चिर्दै काङ्ग्रेस राजनीतिमा होमिएको हुँ ।

० तपाईं काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई पार्टीको सभापतिका रूपमा देख्न चाहनुहुँदोरहेछ, देउवालाई यसरी चाहनुको विशेष कारण के होला ?
– पहिलो कुरा त उहाँमा रहेको लिडरसिप स्किल नै हो । शेरबहादुर देउवामा मैले विशेष नेतृत्व–क्षमता देखेको छु, पाएको छु । काङ्ग्रेसका मौजुदा नेताहरूमध्ये उहाँमा त्यो विशेष क्षमता विद्यमान छ । आफूलाई लागेको कुरा प्रस्ट राख्ने उहाँको स्वभाव छ, जो अत्यन्त राम्रो राजनीतिक विशेषता हो । गर्न सक्ने काम–कुरा गर्ने र नसक्ने कुरालाई गर्छु भनेर नअल्झने उहाँको विशेषताबाट म प्रभावित छु । अहिलेसम्म एक खालको पारिवारिक विरासतबाट चलिरहेको काङ्ग्रेसलाई यस्तो विरासतको राजनीति तोड्दै सही र सक्षम नेतृत्व प्रदान गर्न वर्तमान परिवेशमा शेरबहादुर देउवा मात्र सक्षम हुनुहुन्छ भन्ने म र मजस्ता आमयुवा काङ्ग्रेसजनको बुझाइ छ । उहाँको नेतृत्वमा अब काङ्ग्रेस आएमा पार्टी सबल ढङ्गले अगाडि बढ्छ । कम्युनिस्टहरूले देशलाई निकै तल झारिसकेका छन्, यो विडम्बनाबाट मुक्तिको निम्ति पनि देउवाको नेतृत्व आवश्यक छ । सबभन्दा महत्त्वपूर्ण त देउवाजीमा सबैलाई मिलाएर लैजान सक्ने अकाट्य गुण पनि छ, जो यतिबेला काङ्ग्रेस र देशकै लागि पनि अत्यावश्यक छ । यसर्थ, अबको महाधिवेशनबाट शेरबहादुर देउवा नै काङ्ग्रेस पार्टीका सभापति र मुलुककै अगुवा नेता बन्नुहुनेछ भन्ने मेरो विश्वास छ ।

० भर्खरै पार्टीसभापति सुशील कोइरालाको देहावसान भएको छ । यस परिस्थितिले शेरबहादुर देउवालाई कति सहज या अप्ठ्यारो पार्ला भन्ने ठान्नुहुन्छ तपाईं ?
– आदरणीय दिवंगत सभापति सुशील कोइरालाप्रति श्रद्धाभाव राख्दै म भन्न चाहन्छु कि उहाँ जीवित नै रहनुभएको भए पनि उहाँको स्वास्थ्यको कारणले सभापतिका रूपमा अघि बढ्न या बढाउन सम्भव हुने थिएन । उहाँको निधनले पार्टीलाई केही न केही क्षति वा अभाव त पुर्‍याएकै छ र सबैलाई दु:खित पनि तुल्याएकै छ । तर, नेतृत्व परिवर्तनको सवालमा एउटा निकासको मार्ग पनि यतिबेला खुलेको छ । व्यक्तिगत हिसाबमा नेतृत्व लिन देउवाजीलाई सहज पनि बनाएको छ भन्न हिच्किचाइरहनुपर्दैन । आज कोइराला परिवारको गढ मानिने मोरङजस्तो प्रभावशाली जिल्लामा देउवालाई समर्थन गर्ने काङ्ग्रेस नेता–कार्यकर्ताको व्यापक प्रभाव देखिएको छ, कथित संस्थापन पक्षका खम्बासरह मानिने चन्द्र भण्डारीलगायतका सात–आठजना युवा नेताहरू खुलेर देउवाको समर्थनमा उभिएका छन् । धेरै जिल्लामा देउवाको पक्षमा लहर आएको छ । यसपटक शेरबहादुर देउवा पार्टीसभापतिमा निर्वाचित हुनुभएपछि आजसम्म काङ्ग्रेसभित्र देखिएको दुई खेमाको अन्त्य भई पार्टी एकढिक्का हुनेछ भन्ने म देखिरहेको छु ।
Roshan Yadav
० देउवाजीकै जित हुनेमा कसरी तपाईं यति विश्वस्त हुनुहुन्छ ?
– मैले अघि नै व्यक्त गरिसकेका कारणहरूका अलावा खुमबहादुर खड्काजस्ता प्रभावशाली कतिपय नेताहरू देउवाकै साथमा दर्बिलो ढङ्गले उभिनुभएको छ । काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाजस्ता उच्चशिक्षित युवा व्यक्तित्व अरू कुन पार्टीमा छन्, हामी खोजेर पत्ता लगाउन सक्दैनौँ । उहाँजस्ता विद्वान् युवाहरूको साथ देउवाजीलाई नै छ । कुनै परिवारविशेषले काङ्ग्रेस भनेको हाम्रै पारिवारिक सम्पत्ति नै हो भन्ने ढङ्गले व्यवहार गर्दै आएको परिवेशमा देउवाजीको लचकदार व्यक्तित्व, देशलाई नेतृत्व दिने अनुभव, क्षमता र गुण आदि यावत् कारण छन्, जसले शेरबहादुर देउवाको विजय सुनिश्चित तुल्याइसकेको छ ।

० मधेस आन्दोलनले देशलाई कति नोक्सान वा नाफा दिलायो, के भन्नुहुन्छ ?
– अहिलेको मधेस आन्दोलनले देशलाई आर्थिक रूपले निकै हानि गराएको प्रस्टै छ । वैशाख १२ को भूकम्पले पुर्‍याएको क्षतिबाट माथि उठ्न खोज्दै गर्दा झनै थिल्थिलो तुल्याउने हिसाबले यस प्रकृतिको आन्दोलन हुनु जायज थिएन । दर्जनौँ मधेसी युवाको ज्यान गयो, आखिर के मिल्यो त ? फरक स्वरूपमा पनि आन्दोलन गर्न सकिन्थ्यो, तर सम्बन्धित नेताहरूले यसप्रति विचार नै पुर्‍याएनन् । माग एउटै छ भने मधेसमा यत्तिका दल किन ? के दल भनेको व्यक्तिगत या समूहगत लाभ उठाउन खोलिने पसल हो ? मधेसमा आन्दोलन गरिरहेका दलहरूको रवैया हेर्दा त यस्तै महसुस हुन्छ ।

० छिमेकी भारतले नेपालमाथि हेपाहा व्यवहार गर्छ भन्ने धारणा सही हो कि आरोप हो, तपाईंको बुझाइमा ?
– यो फजुल कुरा हो । वास्तवमा नेपालप्रति भारतको अत्यन्त सद्भाव रहँदै आएको छ । यदाकदा परिस्थितिवश असमझदारी या तनावको अवस्था देखिए पनि यथार्थमा यी दुई मुलुक एक–अर्काबाट अलग रहनै सक्दैनन् । जहाँसम्म भारतले हेपाहा व्यवहार गर्छ भन्ने आरोप छ, आफूले भनेजस्तो हुँदा भारत ठीक नभए बेठीक भन्ने मानसिकताका कारण यस्ता धारणा बेलाबखत बाहिर आउँछन् । अवसर हेरेर ठीक र बेठीक भन्ने स्वार्थी या एकाङ्की मानसिकता त्याग्नु हितकर हुन्छ भन्ने लाग्छ मलाई त । छिमेकी बदल्न चाहेर बदलिन सक्दैन भन्ने बुझेर सोअनुरूप व्यवहार दुवै पक्षबाट हुनुपर्छ । भारतको स्वार्थ भनेको नेपालको भूमि भारतको सुरक्षा व्यवस्थाविरुद्ध प्रयोग नहोस् भन्ने मात्र हो । यो बुझेर व्यवहार गर्न सके दुई देशबीच कुनै समस्या रहँदैन भन्न चाहन्छु ।

प्रस्तुति : जयप्रकाश त्रिपाठी