लोकतान्त्रिक समाजवाद राष्ट्रनिर्माणको आधार

लोकतान्त्रिक समाजवाद राष्ट्रनिर्माणको आधार


Indra Baral 9
:: इन्द्रबहादुर बराल ::

राष्ट्रकै सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको १३औँ महाधिवेशन सन्निकट आइसकेको छ । यसैबीच पार्टी सभापतिको असामयिक निधनले कांग्रेसजनमा महाधिवेशनबारे व्यापक चिन्ता र चासो छाए पनि अधिवेशन नगरिनहुने बाध्यात्मक अवस्था छ । त्यसैले पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनबाट व्याप्त शोकलाई शक्तिमा परिणत गर्दै १३औँ महाधिवेशन सम्पन्न गर्न आमकाङ्ग्रेसजन लागिपरेका छन् ।

त्यसो त अधिकांश जिल्ला अधिवेशन सम्पन्न भई २० फागुनबाट सुरु हुने १३औँ महाधिवेशनको तयारीसमेत लगभग भइसकेको स्थितिमा अनेक पीडा र छटपटीका बाबजुद कांग्रेसले नयाँ नेतृत्व चयन गर्दै छ । पार्टीसभापतिको निधनअघि र पछिमा पार्टी नेतृत्वको समीकरणमा केही फेरदबल हुनसक्ने अवस्था रहँदारहँदै पनि यसपटक पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको पल्ला भारी रहेको आमकाङ्ग्रेस कार्यकर्ताले अनुभूति गरेको महसुस गरिँदै छ । संस्थापन पक्षबाट उम्मेदवारीबारे अनेक सम्भावना व्यक्त गरिए पनि अन्तत: उपसभापति रामचन्द्र पौडेलको उम्मेदवारीको सम्भावना बलियो बन्दै गएको छ । तर, आमकांग्रेसजनलगायत सम्पूर्ण शुभचिन्तकहरूको चिन्ता भने पार्टीले लिने भावी कार्यदिशा कस्तो हुने हो भन्नेमै छ ।

नेपाली कांग्रेसको विगतका अनुभव हेर्ने हो भने कुनै पनि महाधिवेशनमा पार्टीले लिने भावी कार्यदिशा वा नीति तथा कार्यक्रमभन्दा नेतृत्व घुमाउने खेल नै चल्ने गरेको अनुभव छ । पार्टीका आर्थिक, सामाजिक पक्षभन्दा पनि पार्टी कब्जा गर्ने होडबाजीले राजनीतिक, वैचारिक र सैद्धान्तिक हिसाबले पार्टी कमजोर बन्न गएको हो कि भन्ने गाइँगुइँ पनि नसुनिएको होइन । एकातिर सिङ्गो मुलुक जननेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटोमा अनुसरण भइरहँदा कतै कांग्रेस आफँै अलमलिएको त होइन भन्ने चिन्ता पनि प्रकट हुँदै छ । यसर्थ अब नेपाली कांग्रेस १३औँ महाधिवेशनमार्फत वैचारिक र राजनीतिक हिसाबले ‘लोकतान्त्रिक समाजवाद राष्ट्र निर्माणको आधार’लाई अझ सुदृढ र सशक्त बनाउनैपर्छ । यसको लागि लोकतान्त्रिक समाजवादका आधारहरूमा व्यापाक बहस र छलफल अपरिहार्य छ ।

१३औँ महाधिवेशनलाई सार्थक र जनताको पार्टी बनाउँदा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलगायत शुभचिन्तकसमेतले आफ्नो विवेकको प्रयोग गर्नैपर्छ । यहाँ किन पनि लोकतान्त्रिक समाजवादप्रति बढी जोड दिइएको हो भने यतिबेला उग्रवामपन्थीदेखि उग्रदक्षिणपन्थीहरू पनि कुनै न कुनै रूपमा लोकतान्त्रिक समाजवाद मूल प्रवाहमा आउने प्रयत्नमा छन् । यस्तोमा कतै कांग्रेस चुक्यो भने ‘राष्ट्रनिर्माणको आधार लोकतान्त्रिक समाजवाद’रूपी हतियार अर्कैको हातमा पुग्न सक्छ । नेपाली कांग्रेसका प्रात:स्मरणीय महामानव बीपी कोइरालाले नासोको रूपमा छोडेको राष्ट्र निर्माणको आधार लोकतान्त्रिक समाजवाद भन्ने नारा खोसिन सक्नेतर्फ ध्यान दिनैपर्छ ।

कुनै पनि राजनीतिक पार्टीको आत्मा भनेकै विचार हो र विचारविहीन अवस्थामा साङ्गठनिक जीवन रहन सक्दैन । यसको मतलब कांग्रेसमा विचार नै छैन भन्न खोजिएको नभई १३औँ महाधिवेशन थप वैचारिक अधिवेशनको रूपमा चिनियोस् र त्यहाँ सघन बहस र छलफल होस् जसबाट तमाम कार्यकर्ता वैचारिक र सैद्धान्तिक दृष्टिकोणले बढीभन्दा परिष्कृत हुँदै जाऊन् भन्ने ध्येय मात्रै हो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सबल र सुदृढ गर्न पनि वैचारिक बहसको आवश्यकता छ । लोकतन्त्र केवल नेतृत्व हत्याउने साधन होइन, नेतृत्व त साधन मात्रै हो, साध्य त विचार नै हो भन्ने मान्यतामा महाधिवेशनको ध्यान केन्द्रित हुनुपर्छ । आवश्यक परे बौद्धिक जगत्सँग पनि रायसल्लाह लिनु बुद्धिमानी हुनेछ । पदमा पुगेपछि सबै कुरा आफैँ जान्नेसुन्ने ठान्ने प्रवृत्ति अत्यन्त खतरनाक देखिएको सन्दर्भमा उक्त भनाइ उल्लेख गरिएको हो, कसैप्रति कुनै दुराग्रह होइन ।
मुलुकले ठूलाठूला राजनीतिक क्रान्ति सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यतिसम्म कि २ सय ४० वर्षभन्दा लामो विरासतलाई समेत क्रमभङ्ग गराइसकेको छ । त्यसैले कुनै परिवारविशेषको निरन्तरताभन्दा पनि नेपाली जनताको परिवर्तनतर्फको चाहना मुख्य मुद्दा हो । आधुनिक राजनीतिक पार्टीले त्यसै दिशातर्फ केन्द्रित हुनु जरुरी छ । यही तथ्यलाई ध्यानमा राखेर जननायक बीपी कोइरालाले पार्टीका संस्थापकमध्येका सन्तनेता कृष्णप्रसाद भट्टराईलाई आफू छँदै पार्टीको कार्यवाहक सभापति बनाएर जिम्मेवारी दिनुभएको हो भन्ने कुरा ठोकुवाका साथ भन्न सकिन्छ । होइन भने परिवारकै अन्य कोहीलाई कार्यवाहक दिएर परिवारिक विरासतलाई निरन्तरता दिनबाट बीपीलाई रोक्न सक्ने तागत कुनै थिएन । जसरी बीपीले आफ्नै जीवनकालमा पार्टीको जिम्मेवारी किसुनजीलाई सुम्पिनुभयो त्यसैगरी किसुनजीले पनि जनताको छोरा अत्यन्त पिछडिएको दुर्गम जिल्लामा जन्मे–हुर्केर आफ्नै बाहुबलले विद्यार्थी राजनीतिबाट स्थापित शेरबहादुर देउवालाई नै अघि बढाउने काम बीपीकै पदचिह्नबाट प्रभावित भई गर्नुभएको हुनुपर्छ ।

बीपीदेखि किसुनजीसम्मका पदचिह्न पछ्याउँदै र केलाउँदै गयौँ भने नि:सन्देह नेपाली कांग्रेसले आफ्नो गन्तव्य सही हिसाबले चुम्नेछ । अन्यथा पार्टीको नीति तथा कार्यक्रमको लागि भन्दा पनि साँढे जुधाउने खेलमा मात्र लाग्यौँ भने नेपाली कांग्रेसको भविष्य कस्तो होला, यसै भन्न सकिने अवस्था छैन । यसको अर्थ कांग्रेस समाप्तै हुन्छ भन्ने होइन, तर लोकतान्त्रिक समाजवादको मार्गमा हिँडाउन जति सहज हुन्छ अरूबाट त्यति सजिलो नहुन सक्छ । त्यसैले लोकतान्त्रिक समाजवाद र राष्ट्रियताको सम्बन्धमा व्यापक बहस जरुरी छ । राष्ट्रिय भावनाबाट ओतप्रोत भएर नै कांग्रेसले आफ्नो स्थापनादेखि नै राष्ट्रियतालाई आदर्शको रूपमा ग्रहण गरेको हो । तथापि नेपालबाट उग्रराष्ट्रवादका तथाकथित नाइकेहरूले नेपाली कांग्रेसको राष्ट्रियताप्रति भ्रम सिर्जना गर्ने खालका अनर्गल हल्ला मच्चाइराखेको सन्दर्भमा राष्ट्रियताबारे पनि कार्यकर्तालाई गम्भीर रूपले प्रशिक्षित गराउनु उपयुक्त देखिन्छ । १३औँ महाधिवेशन त्यस दिशामा चुक्नैहुँदैन ।
sher bahadur deuba
चाहे राष्ट्रियता होस् वा लोकतान्त्रिक समाजवाद, यसलाई बीपीले बडो सरल ढङ्गले व्याख्या गर्नुभएको छ । त्यसैले राष्ट्रिय र प्रजातान्त्रिक समाजवादबारे किुनै महाभारतको ठेली पढिरहनुपर्दैन । बीपीले भन्नुभएको छ कि प्रत्येक नेपालीको आफ्नै एउटा घर होस्, उनीहरूले खनजोत गर्ने आफ्नै निजी जग्गाजमिन होस्, उनीहरूका छोराछोरीले समायोचित शिक्षा पाऊन् र आवश्यक परेका बेला पर्याप्त ओखतीमूलो पाऊन् । यसका लागि त लोकतान्त्रिक समाजवाद स्थापना हुनैपर्छ । बस् यति नै पर्याप्त छ लोकतान्त्रिक समाजवादको सङ्क्षिप्त बुझाइका लागि ।

राष्ट्रियता भनेको भूगोल हो, त्यस भूगोलमा बस्ने नागरिक वा जनता राष्ट्रियताका अभिन्न अङ्ग हुन् । त्यसैले भूगोल र त्यस भूगोलमा बस्ने जनता जसले आफूलाई नेपाली हौँ भनेर गर्व गर्दछन्, तिनीहरूको सामूहिक नाम नै ‘राष्ट्रियता’ हो । अर्को अर्थमा राज्य भनेको भूगोल र राष्ट्र भनेको त्यस भूगोलमा बस्ने नागरिक वा जनता हुन् । यसअनुसार राष्ट्र र राज्यको प्रतिनिधित्व राष्ट्रियताले गर्दछ । यसर्थ नेपाली राष्ट्रियताबिना कुनै पनि राजनीतिक शक्ति नेपाली भूमिमा टिक्न सक्दैन । तर, केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दौडको क्रममा नेपाली कांग्रेसप्रति अत्यन्त घृणित प्रचारहरू गरिए, जसबाट धेरै कांग्रेसजनलाई दु:खी बनायो । विशेष गरेर कम्युनिस्टहरूले सत्तारोहणको सिँढी बनाउने क्रममा नेपाली कांग्रेसलाई अराष्ट्रवादी चित्रित गराउने चेष्टा गरेकै हुन् । तर, सचेत नेपाली जनता त्यस्तो भ्रममा परेनन्, बरु नेपाली कांग्रेसप्रति आफ्नो निष्ठामा कुनै आँच पुर्‍याउन खोज्ने तत्त्वदेखि सावधान रहे र रहिरहनेछन् पनि ।

त्यसैले नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनले लोकतान्त्रिक समाजवाद, राष्ट्र राज्य र राष्ट्रियताबारे गम्भीर समीक्षा गर्नैपर्छ । कथम् कांग्रेसको लोकतान्त्रिक समाजवाद अरूले नै अपहरण गरे भने त राष्ट्र, राज्य र राष्ट्रियता कमजोर हुन जाने निश्चित छ । त्यसैले नेपाली कांग्रेसको १३औँ महाधिवेशनलाई राष्ट्र निर्माणको लागि लोकतान्त्रिक समाजवाद कोसेढुङ्गा सावित गराउन सफल हुने अपेक्षा गरिएको छ ।

यसविपरीत १३औँ महाधिवेशन कर्मकाण्डको रूपमा मात्रै रह्यो, केवल नेतृत्वको होडबाजीमा मात्रै सीमित भइयो भने कांग्रेसका दुर्दिन रोक्न कसैले सक्दैन । त्यसैले पटक–पटक भन्नैपर्छ कि कांग्रेसको १३औँ महाधिवेशनलाई वैचारिक महाधिवेशन बनाउनैपर्छ र लोकतान्त्रिक समाजवादलाई राष्ट्र निर्माणको आधार बनाउनैपर्छ । जसमार्फत सामाजिक, आर्थिक एवम् राजनीतिक दृष्टिले न्यायापूर्ण समाजको निर्माण सम्भव छ । जबसम्म समाजमा विभेद रहन्छ, असमानताका काला दागहरू कायम रहन्छन्, तबसम्म कुनै पनि समाजले शान्ति र स्थायित्व कायम गर्न सक्दैन । त्यसैले समानतामा आधारित समाज निर्माणका लागि पनि लोकतान्त्रिक समाजवाद अहिलेसम्मकै एक मात्र निर्विकल्प बाटो हो । यस्तो निर्विकल्प बाटोको बारेमा व्यापक बहस र छलफलबाट कांग्रेसजनले राष्ट्र निर्माणको मार्गचित्र भेट्टाउन सक्छन् ।

सर्वकालिक रूपमा उत्तिकै सम्मानित प्रात:स्मरणीय जननायक बीपी कोइरालाले केवल प्रजातन्त्र–प्रजातन्त्र मात्र भनेर समाजलाई सकारात्मक रूपान्तरण हुने नदेखेर प्रजातन्त्रमा समाजवाद पनि मिसाएर आर्थिक–सामाजिक न्यायको ढोका खोल्नु मात्र भएन उहाँले आफ्नै जीवनकालमा केही काम पनि प्रारम्भ गर्नुभयो । त्यस्ता कदमबाट अत्तालिएका बिर्तावाला तथा राजारजौटा र तिनका दलालहरूले महत्त्वाकाङ्क्षी राजा महेन्द्रलाई उचालेर जननेता बीपीलगायतलाई जेलको कोठरीमा राखी प्रजातन्त्रको हत्या गराए । सम्भवत: बीपीकै पदचिह्नमा हिँड्नाले सत्ताच्यूत राजा ज्ञानेन्द्रले वरिष्ठ नेता शेरबहादुर देउवालाई अपदस्त मात्रै गरेनन् कपोलकल्पित आरोपमा जेलसमेत पुर्‍याउन पछाडि परेनन् । शेरबहादुर देउवाले गरेका या गर्न खोजेका केही काम (मोहीको हक स्थापित, कमैया मुक्ति, दलित, मधेसी, महिला कर्णाली क्षेत्र)का अत्तालिएकाहरू जनविरोधी रहेछन् भन्ने तथ्य ०६२/६३ को जनआन्दोलनले प्रमाणित गरिदिएको छ । तथापि, यतिबेलाका शासक प्रधानमन्त्री ओलीले भने तिनै जनविरोधी तप्काको बलमा आफूलाई टिकाएकोमा आश्चर्य मानिराख्नुपर्दैन ।

अन्त्यमा कांग्रेसको १३औँ महाधिवेशनबाट समतामूलक समाज निर्माणका लागि लोकतान्त्रिक समाजवाद राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ पार्टीभित्रको लोकतान्त्रिक समाजवाद पक्षधर वरिष्ठ नेता देउवा आगामी काङ्ग्रेस नेतृत्वमा चयन हुन सके नि:सन्देह शोषित, पीडित र उपेक्षित नेपाली जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न सक्नेछन् भन्ने विश्वास गर्न सकिन्छ ।
Nepali Congress