देउवा र पौडेलपछिका नेता को हुन् कांग्रेसमा ?

देउवा र पौडेलपछिका नेता को हुन् कांग्रेसमा ?


congress leader
सभापति सुशील कोइरालाको निधनपश्चात् नेपाली कांग्रेसका तीन शीर्ष नेताहरूको सङ्ख्या घटेर ‘दुई’ हुन पुगेकोले तेस्रो नेता को हुन सक्लान् भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । ‘हाइरार्की कन्सस’ मानिने कांग्रेसमा सर्वस्वीकार्य नेता हुन सक्नुलाई एउटा कठिनतम् कार्य मानिन्छ । दुई दशकअघि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछिका नेताको रूपमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शैलजा आचार्यलाई लिइन्थ्यो । आचार्यको निधनअघि नै उहाँ सुशील कोइरालाभन्दा पछि परिसक्नुभएको थियो । विगतमा अनुमान नगरिएको भए पनि गिरिजाप्रसाद कोइरालको निधनपश्चात् सुशील कोइराला पार्टी सभापति बन्नुभयो र कार्यकर्ताहरूले देउवा र पौडेलसरहको नेताको रूपमा उहाँलाई स्वीकार गरेका हुन् ।

कांग्रेसमा यतिबेला देउवा र पौडेलपछिका नेता आफूलाई ठान्नेहरूको सङ्ख्या सानो छैन । खुमबहादुर खड्काको ‘ग्रहदशा’ नबिग्रिएको भए धेरै पहिले नै उहाँको स्थान उच्च तहको हुन सम्भव थियो । अहिले पनि खुमबहादुर खड्का देउवा र पौडेलपछिका सर्वाधिक प्रभावकारी नेता मानिनुहुन्छ । तर, खड्काबाहेक त्यस्ता अनेक नेता छन् जसले देउवा र पौडेलपछिको नेताका रूपमा आफूलाई ठान्ने गरेका छन् । गिरिजाप्रसाद कोइरालाकी पुत्री भएकै कारण सुजाताले आफूलाई उच्च तहकी नेतृ ठान्न थाल्नुभएको छ भने गणेशमानसिंहपुत्र प्रकाशमान सिंहले पनि आफ्नो हैसियत देउवा र पौडेलसरह भएको ‘एक्टिङ’ गर्न थाल्नुभएको छ । त्यस्तै बीपी कोइरालाका कान्छा सुपुत्र डा. शशाङ्क कोइरालाले आफू बीपीपुत्र भएकै कारण ‘महान्’ भएको व्यवहार प्रस्तुत नगरे पनि उहाँलाई एक सम्भाव्य नेताका रूपमा हेरिएको छ । तर, देउवा र पौडेलपछिको नेता बन्न भने डा. शशाङ्कले अझै धेरै परिश्रम गर्नुपर्ने अवस्था छ ।

त्यस्तै विमलेन्द्र निधि एक ठूला नेताका सुपुत्र भए पनि उहाँ आफ्नै क्षमता र परिश्रमबाट आफ्नो हैसियत स्थापित गर्न सफल हुनुहुन्छ । पारिवारिक ‘लिगेसी’बिनाका नेताहरू खुमबहादुर खड्का र डा. रामशरण महतले जसरी आफ्नो उचाइ बढाउनुभएको छ ठीक त्यसैगरी सुजाता कोइराला, शशाङ्क कोइराला र प्रकाशमान सिंहको उचाइ बढेको होइन । उहाँहरूका पछाडि आफ्ना पिताजीका नाम नजोडिने हो भने नेपाली कांग्रेसमा उहाँहरूकै स्तरका व्यक्ति हजारौँहजार छन् भन्न सकिन्छ । जसरी शेरबहादुर देउवा र रामचन्द्र पौडेल सामान्य किसान परिवारबाट माथि उठेर नेता भएका हुन्, त्यसैगरी खुमबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह केसी र पूर्णबहादुर खड्कालगायतले पनि आफ्नो क्षमता, परिश्रम र सङ्घर्षबाट आफूलाई माथि उठाएका हुन् ।

कोइराला परिवारका सदस्य भएर पनि डा. शेखर कोइरालाले आफूलाई स्थापित गर्न सङ्घर्ष गरिरहनुपरेको छ । शशाङ्क र सुजाताका पछिल्तिर बीपी र गिरिजाप्रसाद जोडिए पनि प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुयाउनुभएकी नोना कोइराला र उहाँका पतिलाई उचित सम्मान दिन कञ्जुस्याइँ भएकोले डा. शेखर कोइराला, शशाङ्क र सुजाताझैँ सुविधाजनक अवस्थामा हुनुहुन्न । डा. कोइराला परिवारभित्रै ‘रिङ’बाहिरका सदस्यजस्तो देखिएका छन् । कार्यक्षमताका दृष्टिले डा. शेखर कोइराला परिवारभित्र अब्बल मानिए पनि निकट भविष्यमै उच्च शृङ्खलाको नेता बन्न भने सम्भव देखिएको छैन । सुशील कोइरालाले आफूपछिको नेतामा डा. शशाङ्क कोइरालालाई स्थापित गर्ने चाहना राख्नुभएको थियो । बीपी कोइरालाका सहोदर पुत्र हुनुबाहेकको क्षमता प्रस्तुत गर्न बाँकी हुँदाहुँदै पनि शशाङ्क भविष्यमा उच्च तहकै नेता बन्न सम्भव छ, तर तत्काल त्यसको सम्भावना कम रहेको छ ।

महामन्त्री कृष्ण सिटौलाले नेपालको राजनीतिक परिवर्तनका क्रममा गिरिजाप्रसाद, माओवादी र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको बीचमा रहेर जुन भूमिका निर्वाह गर्नुभयो त्यसले सिटौलाको हैसियत अवश्य बढाएको छ, तर लोकप्रियता बढ्न सकेको छैन । महासचिव या पार्टी सभापति र उपप्रधानमन्त्रीभन्दा तलको हैसियतमा ओर्लन नमिल्ने अवस्थामा रहनुभएका सिटौला कांग्रेसको सभापति या संसदीय दलको नेता बन्न सक्ने अवस्था छैन । सिटौलाले उच्च तहको जिम्मेवारी पाएका भए पनि देउवा र पौडेलपछिको नेता बन्न उहाँले धेरै मिहिनेत गर्नुपर्ने र लामै समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

कांग्रेसमा देउवा र पौडेलपछिको नेता आफूलाई ठान्नेहरूको सङ्ख्या ठूलो छ । नियतिको सिकार नबनेका भए खुमबहादुर खड्का धेरै पहिले नै कांग्रेसको उच्च नेतृत्व तहमा पुगिसक्नुभएको हुन्थ्यो । अहिले पनि कांग्रेसभित्र खड्काको हैसियत बलियो देखिन्छ । त्यसैले खुमबहादुर खड्का, डा. रामशरण महत, विमलेन्द्र निधि, डा. शशाङ्क कोइराला र प्रकाशमान सिंहमध्येबाट नै देउवा र पौडेलको हाराहारीका नेता पैदा हुने निश्चितप्राय: छ । उहाँहरूमध्ये पनि खड्का, डा. कोइराला र निधिमध्ये तीनैजना वा कुनै दुईले शीर्षस्थ नेताहरूको स्थान प्राप्त गर्न सम्भव देखिएको छ । प्रकाशमान सिंह जातीय भावनाबाट मुक्त भएको सन्देश दिन सफल हुनुभएमा उहाँ पनि उच्च तहमा पुग्न सम्भव देखिएको छ ।