‘आदिवासी/जनजातिको अधिकार स्थापित गर्नु मेरो एजेण्डा’

‘आदिवासी/जनजातिको अधिकार स्थापित गर्नु मेरो एजेण्डा’


dilmaan Pakhrin Tamang
:: दिलमान पाख्रिन तामाङ (सांसद् एवम् युवानेता, नेका) ::

० नेपाली काङ्ग्रेसको १२औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनी प्रचार गरिएको थियो, तर अहलिे १३औँ अधिवेशन हुन लाग्दा पनि गुट–उपगुट र तानातानी त झन् चर्को देखियो नि, किन होला ?
– नेपाली काङ्ग्रेस पार्टीको गाउँतहदेखि नै पार्टी–सङ्गठनलाई चुस्त–दुरुस्त र मजबुत तुल्याउनु आवश्यक भए पनि नेतृत्व तहको ध्यान यसतर्फ गम्भीर रूपले नपुगेको अनुभूति आज सबैले गरेका छन् । पार्टीको मूल नीति पक्रिएर काम गर्न सबै तह–तप्काका कार्यकर्ताले विशेष पहलकदमी लिनुपर्छ, तर यस्तो हुन सकिरहेको छैन । जब वैचारिक हिसाबले हिँड्न खोजिँदैन त्यहाँ स्वत: गुटको राजनीति सुरु हुन्छ । काङ्ग्रेसमा पनि यो समस्या देखिएकै छ । मेरो व्यक्तिगत मान्यता र धारणा त यही हो कि पार्टी हरदम एक हुनुपर्छ, नेपाली काङ्ग्रेस भनेपछि एउटै काङ्ग्रेस हुनुपर्छ । गुटको छिनाझपटीले पार्टीलाई कमजोर तुल्याउँछ । यो बुझेर पार्टीलाई एकढिक्का बनाएर लैजाने काम शेरबहादुर देउवा र रामचन्द्र पौडेलजस्ता शीर्षनेताहरूको हो । हामी उहाँहरूको कदमको प्रतीक्षामा छौँ ।

० यो महाधिवेशनले पार्टीलाई एकभावमा अघि बढाउला त ?
– पहिला पनि एकताको महाधिवेशन भनियो, तर मौखिक रूपमै सीमित भयो, व्यवहारमा लागू हुन सकेन । अब गुट–उपगुट त्यागेर स्वार्थ छोडेर पार्टीलाई अगाडि बढाउन जरुरी छ । मैले मात्र होइन आम काङ्ग्रेसजनले यस्तै अपेक्षा गरेका छन् । विगतबाट पाठ सिक्दै काङ्ग्रेस अब एक भएर अघि बढ्छ, बढ्नैपर्छ । यसो हुन नसके काङ्ग्रेस समयसापेक्ष भएर अघि बढ्न नसक्ने परिस्थिति आउन सक्छ ।
Dilman-Tamang
० यो ग्रुपिजममा तपाईं पनि कुनै समूहतिरै हुनुहुन्छ होला नि, कुन खेमाको हो तपाईं ?
– म त्यस्तो कुनै खेमामा विश्वास गर्दिनँ, बरु काङ्ग्रेस एकढिक्का भएर मुलुककै नेतृत्व गरिरहेको हेर्न चाहन्छु । भन्नैपर्दा पार्टीभित्रका तमाम साथीहरू जहाँ गोलबद्ध भएर बसेका छन्, पार्टीको मूलधार जुन हो उक्त ठूलो धार नै मेरो पनि पार्टीभित्रको थलो हो ।

० संस्थापन भनिएको पक्षभित्र उम्मेद्वार नै धेरै देखिएकोले देउवापक्षीय धार सशक्त बनेको कुरा स्वीकार गर्नुहुन्छ तपाईं ?
– पार्टीको आफ्नो विचार वा लाइन हुन्छ र पनि व्यक्तिका आ–आफ्ना धारणा हुन सक्छन् । धारणाका आधारमा व्यक्तिको समूह बन्ने हो । जहाँसम्म कुन पक्ष बलियो र कुन कमजोर देखियो भन्ने सवाल छ, अहिले नै खास धारणा बनाइहाल्ने बेला भएको छैन । हामीले यो वा त्यो भनेर अनावश्यक प्रचार गर्नु पनि उपयुक्त हुँदैन । समय छँदैछ, नेताहरू मिलेर आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नै छन् ।

० युवापुस्तामा नेतृत्व सार्नुपर्ने माग उठे पनि यो महाधिवेशनले पनि यस माग सम्बोधन गर्ने भएन नि, के भन्नुहुन्छ ?
– काङ्ग्रेसको इतिहासदेखि नै चलिआएको परम्परा हो कि पुराना अनुभवी नेताहरूको सम्मान र कदर गर्नैपर्छ । उहाँहरूको अनुभवबाटै नयाँपुस्ताले सिक्ने हो । मेरो बुझाईमा यस महाधिवेशनले प्रशस्तै युवा अनुहारलाई पनि नेतृत्वमा स्थापित गराउने छ । पुराना र नयाँको सम्मिश्रणबाटै अबको काङ्ग्रेस उज्यालो भविष्यतिर डोहोरिने छ ।

० तपाईं पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै हुनुहुन्छ कि ?
– हो, मैले आरक्षण कोटा आदिवासी/जनजातिबाट केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिँदैछु । खास एजेण्डासहित म केन्द्रीय जिम्मेवारी लिन अग्रसर भएको हुँ । नेपाली काङ्ग्रेसको अगुवाईमा जारी भएको संविधानलाई कार्यान्वयन गराउनुपर्ने चुनौती हाम्रासामु छ । संविधानअनुसार ऐनकानुन बनाउनुपर्ने छ । अब बन्ने ऐनकानुनमा आदिवासी/जनजातिका हक/अधिकारका कुरालाई सुनिश्चित गर्नुपर्ने छ । पार्टीका कमी–कमजोरी सच्याउँदै साङ्गठनिक रूपले पार्टीलाई चुस्तदुरुस्त तुल्याउँदै मुलुकको आर्थिक विकास र समृद्धिका लागि मैलै व्यक्तिगत तवरबाट पनि अहम् भूमिका निर्वाह गर्न सक्छु भन्ने दृढ विश्वास मसँग छ । र, यहाँनेर थप म के भन्न चाहन्छु भने पार्टीका शीर्षनेताहरूले यदि पार्टीलाई बलियो बनाउने हो, देशलाई आर्थिक विकासतिर अघि बढाएर समृद्ध नेपाल निर्माण गर्ने हो भने अब मिलेर अघि बढ्नुपर्छ । नेपाली काङ्ग्रेस नै नेपाली जनताको आशाको केन्द्र भएकोले काङ्ग्रेसले आफ्नो दायित्व मनन गर्नुपर्छ ।