‘तराईको समृद्धिको लागि अलग्गै मोडल आवश्यक’

‘तराईको समृद्धिको लागि अलग्गै मोडल आवश्यक’


Suresh chalise PhD 3
:: डा. सुरेश चालिसे ::

मिथिला कल्चरल सोसाइटी संयुक्त अधिराज्यबाट ‘प्रथम मैथिलीभाषी राजदूत’ भनी सम्मानित डा. सुरेश चालिसेले जर्मनीबाट विश्वस्तरको छात्रवृत्ति ‘Alexander Von Humboldt’ प्राप्त गरी पोस्टडक्टरेड गरेका छन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विदेश मामिला सल्लाहकार रहिसकेका डा. चालिसेले अमेरिकाका लागि पनि नेपाली राजदूतको जिम्मेवारी सम्हालिसकेका छन् । उनका तीन पुस्तक प्रकाशित छन् भने समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपालको शान्तिप्रक्रियाबारे उनका धेरै लेख प्रकाशित छन् । स्व. कृष्णप्रसाद भट्टराई र स्व. गिरिजाप्रसाद कोइरालासित अत्यन्त निकट रहेर काम गरेका चालिसे अचानक प्रत्यक्ष राजनीतिमा उत्रिँदै नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशनमा खुल्लातर्फबाट संस्थापनपक्षीय समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने निधो गरेका छन् । सप्तरी जिल्लानिवासी उनी भन्छन्, ‘मसित तराईलाई उन्नतशील र सुरक्षित बनाउने भिजन छ ।’ प्रस्तुत छ पूर्वराजदूत डा. चालिसेसँग लिइएको सङ्क्षिप्त अन्तर्वार्ता ।

० अचानक प्रत्यक्ष राजनीतिमा आउनुभयो नि, के कारणले हो ?
– नेपाली काङ्ग्रेस नेपालको एक मात्र अगुवा प्रजातान्त्रिक पार्टी हो । यो पार्टीलाई २१औँ शताब्दीको चुनौती र अवसर सुहाउँदो बनाउनका लागि युवापुस्ताको खाँचो छ र त्यसमा मेरो पनि केही भूमिका हुन सक्छ भनेर राजनीतिक मैदानमा उत्रिएको हुँ ।

० तपाईंको जन्मस्थल तराईमा हो, तराईका वर्तमान चुनौती के–के छन् ?
– चुनौतीहरू त निकै छन् । औँल्याउनै पर्नेचाहिँ के छ भने तराईका अधिकांश पहिचानसम्बन्धी मुद्दाहरू सम्बोधन गरिएका छन् । तर, तराईको आर्थिक उन्नति र पर्यावरणीय सुरक्षाबारे कसैले ध्यान दिएको छैन । दु:खका साथ भन्नुपर्छ कि नेपाली काङ्ग्रेसको भर्खरै परित नीति तथा कार्यक्रमले पनि यस विषयलाई सम्बोधन गर्न भ्याएको देखिँदैन । आउने महाधिवेशनमा यसलाई परिष्किृत गर्नुपर्ने हुन्छ । अर्कोतर्फ यदि अहिलेकै अवस्था रहिरहने हो भने २५ वर्षपछि यो क्षेत्रले आर्थिक रूपले एकदमै कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ । तसर्थ, तराईलाई आर्थिक विकासको छुट्टै मोडेल आवश्यक छ भन्ने मलाई लाग्छ ।

० त्यो मोडेल अथवा नमुनाचाहिँ के हो त ?
– यो त समय आएपछि मात्रै खुलासा गर्नुपर्ला । अहिले महाधिवेशनको चुनावको माहोलमा तपाईंका विचारहरू अरूले कपी गर्न पनि सक्छन् । यसबारे महाधिवेशनपछि कुरा गरौँला । अहिले यति मात्र बुझौँ कि जुन गतिमा तराईको जमिनमा सहरीकरण भइरहेको छ र पानीको सतह तल गइरहेको छ, आउँदो २५ वर्षपछि त्यहाँ कृषियोग्य जमिन रहने छैन । त्यस्तो विकराल अवस्थामा तराईलाई हरेक दृष्टिकोणले कसरी सम्पन्न गराउन सकिन्छ ? इत्यादि कुराहरूका लागि विशेष कदम चाल्नुपर्ने अपरिहार्यता छ भन्ने मलाई व्यक्तिगत रूपमा लाग्छ । म अहिले पनि विश्वस्त छु कि तराईका मुख्य शहरहरूलाई दक्षिण एसियाको नमूना शहर बनाउनका साथै यसलाई नेपालको आर्थिक गतिविधिको केन्द्र बनाउन पनि सकिन्छ ।

० तपाईं तराईलाई नै फोकस गरेर विकासको कुरा किन गरिरहनुभएको छ ?
– एक त तराई मेरो जन्मस्थल हो ।मेरो बाल्यकालदेखि युवावस्था यहीँकै हावापानी र माटोमा बितेको हो । दोस्रो कुरो पहाड, हिमाल र तराईबीच भूगर्भीय तथा वातावरणीय हिसाबले पनि अन्योन्याश्रीत सम्बन्ध रहेको छ र म के कुरामा विश्वस्त छु भने तराईको उन्नतिले पहाड र हिमाललाई पनि उन्नतिको बाटोमा लैजान्छ । त्यस्तै, हिमाल र पहाडको विकासले तराईको समृद्धिलाई बढाउँछ । तर, आजको सन्दर्भमा, हिमाल–पहाडभन्दा तराईको आर्थिक भविष्य सोचनीय रहेको हुँदा म तराईको विकासको मोडलप्रति बढि केन्द्रित भएको मात्र हुँ ।
Suresh chalise PhD
० प्रसङ्ग बदलौँ, प्रधानमन्त्री गिरिजाप्रसादको सल्लाहकार भएर काम गर्दा कुन क्षण तपाईंलाई बढी महत्त्वपूर्ण लाग्यो ?
– त्यस्ता थुप्रै अवसर मैले पाएँ । अन्तर्राष्ट्रिय समुदाय, नेपाल आर्मी र प्रधानमन्त्रीबीच सम्बन्ध भनौँ वा समन्वयका थुप्रै जिम्मेवारीको मौका मलाई मिल्यो । तर, प्रधानमन्त्री कोइरालाले दिनुभएको नेपाल आर्मी र माओवादी सेनाबीचको ‘कन्फिडेन्स बिल्डिङ’को जिम्मेवारी अहिले पनि मलाई अत्यन्त रोमाञ्चक लाग्छ । खासगरीकन पहिलो मिटिङ जुन लैनचौरस्थित होटल एम्बेसडरमा भयो, त्यस मिटिङबारे प्रधानमन्त्रीले एकदमै गोप्य राख्नुभएको थियो । त्यसबेलाका गृहमन्त्रीलाई पनि सो कुरा थाहा दिइएको थिएन । मिटिङस्थलभित्र पस्नुअघिको करिडोरका दुवैतर्फ माओवादीले झोला बोकेका आफ्ना लडाकुहरू राखेका थिए । ती झोलामा हतियार हुन सक्ने पूरै सम्भावना थियो । जब कि मसित गएका तीनजना जनरलहरू सबै हतियारविहीन थिए । एकजना आर्मी जनरलले मलाई कानमा भनिहाले, ‘सहमतिभन्दा बाहिर गएर माओवादीहरूले आफ्ना लडाकाहरूलाई उपस्थित गराएका रहेछन् ।’ त्यो समय एकछिनका लागि अत्यन्त संवेदनशील र रोमाञ्चकारी थियो । मलाई पहिलो वार्ता विश्वासको सङ्कटले नबिथोलियोस् भन्ने चिन्ता लागेको थियो ।

० तपाईंले कृष्णप्रसाद भट्टराईसँग पनि काम गर्नुभयो । स्व. भट्टराईको कुन कुरा तपाईंलाई बढी मन पथ्र्यो ?
– उहाँको ठट्टाहरू प्राय: गरी रसपूर्ण हुने गर्दथ्यो । उहाँ कहिलेकाहीँ आफूले आफैँलाई पनि व्यङ्ग्य गर्नुहुन्थ्यो । उहाँको त्यो शैली मलाई अत्यन्त मनपथ्र्यो ।