कस्तो काङ्ग्रेस, कस्तो नेतृत्व ?

कस्तो काङ्ग्रेस, कस्तो नेतृत्व ?


ghatana
संविधानसभाबाट संविधान निर्माण भयो, मुलुकको राजनीतिक सङ्क्रमणकाल समाप्तिको दिशामा गयो भन्नेहरूको कमी नभए पनि संविधान निर्माणपछि अनपेक्षित रूपमा विकसित घटनाक्रमले मुलुक अझै वर्षौं सङ्कटकै अवस्थामा अल्झिने सम्भावना देखाएको छ । कुनै पनि दल या नेताले पछिल्लो घटनाक्रमलाई व्यवस्थापन गरेर जनतालाई आश्वस्त र आशावादी तुल्याउन सकेका छैनन् । मुलुक अत्यन्त कठिन मोडबाट गुज्रिरहेको यथार्थको यो एउटा सङ्केत हो । हरेक कालखण्डका परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्दै आएको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेस यस कठिन परिस्थितिबीच आफ्नो १३औँ महाधिवेशनको सङ्घारमा उभिएको छ ।

मुलुकका कठिनभन्दा कठिन बोझ पनि काङ्ग्रेसले थेग्दै आएको तथ्यगत पृष्ठभूमिमा उभिएर यतिबेला जनताको सचेत पङ्क्ति नेपाली काङ्ग्रेसले नै पुन: एकपटक मुलुकलाई वर्तमान सङ्कटपूर्ण मोडबाट बचाएर अगाडि लैजाने अपेक्षा र विश्वासमा प्रतीक्षारत छ । यसर्थ, काङ्ग्रेसको १३औँ महाधिवेशन महत्त्वपूर्ण बन्न पुगेको छ । तर, यस्तो अवस्थामा पनि विचार र नीतिको पक्षमा भन्दा गुट र नेतृत्व हत्याउने होडबाजीमै काङ्ग्रेस रुमलिएको प्रतीत भइरहेछ । नेपाली राजनीतिक दलहरूमा विद्यमान ठूलामध्येको एक अहम् समस्या हो गुटगत राजनीति । काङ्ग्रेस मात्र यस रोगबाट चोखो रहन सक्ने परिवेश निर्माण भइनसकेको लुकाएर लुक्ने विषय होइन तापनि सम्बन्धित नेताहरूले यस महारोगलाई खासै गम्भीर रूपमा लिएको छनक मिल्दैन । यस्तोमा १३औँ महाधिवेशनले काङ्ग्रेसमा संस्कारतुल्य बनेको साठी–चालीसको भागबन्डा अन्त्य गर्ने, पार्टी एक ढिक्का हुने अपेक्षा काङ्ग्रेस नेतृत्वले कसरी गरिरहेको छ, उदेकलाग्दो नै छ ।

कुनै पनि पार्टी सक्षम, सशक्त र दूरदर्शी हुनु, जनता र देशप्रति इमानदार रहनु अनि उसले सही दिशा लिनु भनेको देशले नै सही मार्ग अवलम्बन गर्नु हो । काङ्ग्रेसजस्तो मुलुककै जेठो र ठूलो प्रजातान्त्रिक दलबाट यस्तै अपेक्षा गरिएको छ । संविधान बनेपछि देशका सबै समस्या वा चुनौतीहरू समाधान हुनेछन् भन्ने भ्रमबाट यतिबेला सर्वसाधारण नागरिकसमेत मुक्त भइसकेका छन् । अर्थात्, संविधान बन्नु र जारी हुनु नै सबैथोक होइन रहेछ भन्ने आमतहसम्मले बुझ्न पाएका छन् । यसर्थमा संविधान कार्यान्वयनको पाटो निकै चुनौतीपूर्ण कार्य बनेर मौजुदा राजनीतिक नेतृत्वसामु खडा भएको छ । हो, यहीँनेर त्याग र बलिदानको परम्परामा हुर्किएको नेपाली काङ्ग्रेसको महत्त्व र जिम्मेवारी पनि जोडिएको छ ।

तर, यस्तो महत्त्वपूर्ण घडीमा के नेपाली काङ्ग्रेस जनचाहनाअनुरूप अघि बढ्न सक्षम छ त ? आज पार्टीभित्रै र इतर पक्षबाट पनि सर्वाधिक तेस्र्याइएको सवाल हो यो । काङ्ग्रेस नेतृत्वले यसको चित्तबुझ्दो जवाफ व्यवहारसिद्ध तवरले दिनु वाञ्छनीय मात्र होइन अपरिहार्य नै बनेको छ । आज अन्य दलजस्तै नेपाली काङ्ग्रेसभित्र पनि अराजक–अनुशासनहीन क्रियाकलाप, अवाञ्छित आर्थिक चलखेलजस्ता अनेक विकृति–विसङ्गतिले घर गर्न थालेको जनगुनासो आरोपकै स्तरमा सुनिएका छन् । यी पक्कै निरर्थक उरालिएका आवाज होइनन् । योग्य, अनुशासित, इमानदार तथा निष्ठावान् कार्यकर्ता उपेक्षित र जिम्मेवारीविहीन तुल्याइने प्रवृत्ति काङ्ग्रेसमा नजानिँदो गरी मौलाइरहेको छ । योग्य र अनुशासित कार्यकर्तालाई पार्टीक्रियाकलापबाट विमुख तुल्याइनु भनेको कुनै पनि दलले आफ्नो अस्तित्वप्रति नै खेलवाड गर्नु हो । यस्तो आत्मघाती कदमबाट जोगिँदै पार्टीलाई असल तथा निष्ठावान् कार्यकर्ताको पकडमा राख्न महाधिवेशन एक विशिष्ट अवसर हो ।

काङ्ग्रेसको आन्तरिक राजनीतिमा सुधार गरेर कार्यकर्ता र जनताको मनोबल बढाउनुका साथै देश र जनताको सपना पूरा गराउने चुनौती पनि यतिबेला काङ्ग्रेससामु छ । नेतृत्व लिन चाहने हरेकले अन्तस्करणबाटै यो मनन गर्नुपर्छ र महाधिवेशन प्रतिनिधिले पनि पार्टी–कार्यकर्ताप्रति उत्तरदायी, क्षमतावान् र सही नीति बोकेको नेतृत्व निर्माणका लागि आफ्नो अल्पकालीन स्वार्थ नहेरी असल नेतृत्व चयनमै केन्द्रित हुनु आवश्यक छ । आमजनतासँग कसरी नजिक हुने, तिनको सुख–दु:खसँग कसरी अधिकतम् जोडिने, देशको आर्थिक विकास र समृद्धिका लागि कस्तोखाले नीति अवलम्बन गर्ने भन्ने सवाल अब पार्टी–नेतृत्वको मात्र नभई तमाम कार्यकर्ताको पनि हो । महाधिवेशनमार्फत नेपाली काङ्ग्रेसले लिने नीति र कार्यदिशाले नै पार्टी र मुलुकको भविष्य निर्धारण गर्ने कुरामा द्विविधा नरहेकाले समयसापेक्ष ढङ्गमा पार्टीलाई नयाँ उचाइ र जीवन्तता प्रदान गर्दै मुलुकका ज्वलन्त समस्या समाधान गर्न प्रस्ट दृष्टिकोण, दृढ अठोटयुक्त जुझारु नेतृत्वको चयन गर्न काङ्ग्रेस प्रतिनिधि नचुकून्, अहिलेका लागि त यत्ति सुझाव नै पर्याप्त हुन सक्छ ।