नेता बिक्दा देशले दु:ख पायो

नेता बिक्दा देशले दु:ख पायो


अधिकांश काङ्ग्रेसजन हिन्दूराष्ट्रका पक्षमा छन्
Damodar Gautam 2
:: दामोदर गौतम (हिन्दूराष्ट्र पक्षधर काङ्ग्रेस नेता) ::

०२२ सालदेखि नेपाली काङ्ग्रेसमा आबद्ध भई अनवरत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय दामोदर गौतमलाई यतिबेला झट्ट भेट्नेले कुनै साधुसन्त ठान्दछ । त्यसो त उनी सन्तपथमै छन्, गेरुवस्त्र र रुद्राक्ष माला धारण गर्दछन्, तथापि पार्टीप्रतिको लगाव र राजनीतिक क्रियाकलापमा पनि त्यत्तिकै सक्रिय छन् । नेविसङ्घका संस्थापकमध्येका एक नेता र ०५१ को संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका गौतम सर्वधर्म सम्प्रदायप्रति समानभाव राख्छन् भने नेपाललाई हिन्दूराष्ट्र तुल्याउने अभियानमा सक्रिय छन् । नेका महाधिवेशन प्रतिनिधि उनी वीर अस्पतालमा कार्यालय रहेको सञ्जीवनी सेवा सङ्घमा ३५–३६ वर्षदेखि आबद्ध रहनुका साथै झन्डै २५ वर्षदेखि त्यसको अध्यक्ष, विश्व हिन्दू महासङ्घका प्रवक्ता र मुख्य सल्लाहकार, अन्तरधार्मिक परिषद्को अध्यक्ष, पशुपति क्षेत्र विकास कोषको सल्लाहकारका रूपमा क्रियाशील छन् । प्रस्तुत छ नेता गौतमसँग गरिएको कुराकानीका प्रमुख अंश :

० कुनै वेला नेपाली काङ्ग्रेसको राजनीतिमा एक प्रखर नेताको छवि बनाएको तपाईं अहिले राजनीतिक क्रियाकलापबाट टाढिएजस्तो देखिँदै हुनुहुन्छ नि ?
– म राजनीतिबाट टाढिएको छैन । ०१८ सालको जनसेवा काण्डदेखि राजनीतिक क्रियाकलापमा संलग्न भई ०२२ सालदेखि निरन्तर राजनीतिमा रहेको व्यक्ति यतिबेला कसरी एक्कासि राजनीतिबाट अलग हुन सक्छ र ? त्यसमाथि ०२७ सालमा नेविसङ्घ स्थापना गर्ने संस्थापकमध्येको एक म पनि हुँ । यतिबेला विभिन्न सामाजिक सङ्घ–संस्था तथा क्रियाकलापमा संलग्नता रहेकाले अलिक टाढाबाट हेर्नेका लागि म राजनीतिभन्दा पर भएजस्तो देखिएको होला, तर यथार्थमा म उत्तिकै सक्रिय छु काङ्ग्रेस राजनीतिमा ।

० तपाईं लगभग साढे पाँच दशक नेपालको प्रजातान्त्रिक आन्दोलन वा काङ्ग्रेस राजनीतिसँग निरन्तर जोडिएको व्यक्ति यसरी अन्य धार्मिक–सामाजिक सङ्घ–संस्थामा बढ्ता संलग्न रहँदा पार्टी–राजनीतिमा असर परेको छैन ?
– म आफ्नो दशवर्षे जेलजीवनको अवस्थामा पनि ती सङ्घ–संस्थामा सक्रिय रहेको व्यक्ति हुनाले राजनीतिक क्रियाकलापमा त्यस्तो असर परेको र पर्ने कुनै गुञ्जायस नै रहेन । योचाहिँ सत्य हो कि काठमाडौंको राजनीतिमा खासगरी यतिबेला गणेशमान सिंहको घरबाट मलगायतका केही साथीहरू प्रताडित छौँ । हरिबोल भट्टराई, मार्शलजुलुम शाक्य, तीर्थराम डङ्गोललगायत मजस्ता व्यक्तिलाई पेल्ने, छायामा पार्न खोज्ने, केन्द्र या क्षेत्रमै पनि रोक्न खोज्ने, जिम्मेवारीबाट वञ्चित गराउने काम त्यहाँबाट भएको छ र पनि म आफ्नो गतिमा निरन्तर चलिरहेकै छु ।

० तपाईं बीपीको सान्निध्यमा रहेर काम गरेको पुरानो काङ्ग्रेस नेता भएको नाताले यो बताइदिनुस् कि बीपीको अवधारणाबाट यतिबेला काङ्ग्रेस कति टाढा पुग्यो या बीपीकै लाइनमा छ यो पार्टी ?
– काङ्ग्रेसलाई मात्र नभई बीपीले यो राष्ट्रलाई नै जुन मार्गदर्शन दिनुभएको थियो, त्यसको समुचित परिपालना या अनुशरण हुन सकेको भए आज यो राष्ट्र विश्वकै समुन्नत मुलुकमध्येमा पर्ने थियो । विपक्षी, दरबार, कम्युनिस्टहरूले त बीपीको विचारलाई नमान्नु, सिध्याउन खोज्नु अस्वाभाविक थिएन, तर काङ्ग्रेसले नै छोड्दै गयो । ०३९ मा बीपीको निधन भयो, ०४२ सालको सत्याग्रह आन्दोलनदेखि नै काङ्ग्रेसले बीपीको लाइन छोड्न थालेको हो । बीपीले बारबार हामीलाई सचेत गराउनुहुन्थ्यो कि प्रजातान्त्रिक आन्दोलनको सन्दर्भमा कुनै विदेशी शक्तिसँग एलाइन्स नगर्नु, सहयोग वा लेनदेन नगर्नु, अनि नेपालका कम्युनिस्टसँग त आन्दोलनमा सहकार्य गर्दै नगर्नु । विदेशीको सहयोग लियो भने उसबाट डोमिनेसनमा पर्नुपर्ने अवस्था आउँछ, हामी स्वतन्त्र ढङ्गले आफ्नो निर्णय गर्न सक्दैनौँ भन्ने उहाँको धारणा थियो । यस्तै, यहाँका कम्युनिस्टले चाहिँ काम थोरै गर्छ, तर हल्ला भने आफ्नो पक्षमा धेरै गर्छ र बार्गेनिङ मात्रै गर्छ भनेर उहाँले उसबेलै बुझ्नुभएको थियो । तर, कम्युनिस्टसँग कार्यगत एकता गर्ने भनेर सत्याग्रहको बेला गणेशमानजीले आह्वान गर्नुभयो । बीपीको लाइनविपरीत भयो भनेर मैले सम्झाउँदा उहाँले हल्का ढङ्गले लिनुभयो । ०४६ मा वाममोर्चा बनाइयो, तर त्यसपछि काङ्ग्रेसको काँधमा चढेर वामपन्थीहरूले वितन्डा मच्चाए । बीपीले दिएको मार्गदर्शन अहिले पनि उत्तिकै उपयोगी छ, तर पार्टी भने कता–कता चिप्लिँदै गएको अनुभूति हुँदै छ । नेता असल हुँदा राष्ट्रले लिने दिशा र नेता कमसल पर्दा भोग्नुपर्ने दुर्गति सम्बन्धमा त बुझ्न अन्यत्र जानैपरेन, हामीले भोगिरहेकै छौँ ।

० काङ्ग्रेसमा पैसाको चलखेल बढ्यो, पुराना इमानदार कार्यकर्तालाई पाखा पार्न थालियो भन्छन्, कस्तो महसुस गर्दै हुनुहुन्छ ?
– यो एकदम सत्य हो । काठमाडौं जिल्लाकै उदाहरण लिँदा पनि आज तीर्थराम डङ्गोलजस्ता व्यक्ति बुथमा नोमिनेसनसम्म पनि गर्न नसक्ने अवस्थामा पुग्नु, हरिबोल भट्टराईजस्ता व्यक्ति बल्लतल्ल प्रतिनिधि छानिनु, यत्रो इतिहास र निरन्तरताका बाबजुद म पाँचौँ स्थानमा महाधिवेशन प्रतिनिधि छानिनुले हामीजस्ता पार्टी नै सबैथोक हो, यसलाई बचाउनुपर्छ, सत्य र इमानको मार्ग छोड्नुुहुँदैन भन्नेहरू पाखा पारिएका र जथाभावी गरेर पार्टीको ओहोदा भजाउँदै धन कमाउन बल गर्नेहरू हाबी बनेका त दुनियाँले देखिरहेकै छन् नि ।

० सुशील कोइराला बितेपछि उहाँलाई अत्यन्त महान् नेता भनेर चित्रित गरिनु कति स्वाभाविक हो ?
– गलत ढङ्गले नै भए पनि सम्पत्ति आर्जन गरौँ, लुटौँ, खाऔँ भन्ने गलत मानसिकता पटक्कै नभएको व्यक्ति हो सुशील कोइराला । उहाँको मूल अनुशरणीय पक्ष यही हो । तर, उहाँको आदर्श र इमानदारिता आफ्नै ठाउँमा रह्यो भने उहाँलाई घेरेर राख्नेहरूले के–के गरे–गरे । विगत दश–पन्ध्र वर्षमा यो देशका दलहरूमाथि बाह्य घुसपैठ धेरै बढेर गयो, नेताहरू बिकाउ भए, तर सुशील कोइराला यो प्रभावबाट सक्दो पन्छिएरै बसे भन्ने लाग्छ मलाई ।
Damodar Gautam
० लोकतन्त्र र गणतन्त्रका लागि लड्दालड्दै मुलुक यतिखेर आफैँ लडखडाएर ढल्ने अवस्थामा पुगेको भनी व्याख्या–विश्लेषण हुन थालेको छ, तपाईंलाई के लाग्छ ?
– हो, विचार या उद्देश्य राम्रो भए पनि विचारबाहक या त्यसलाई कार्यान्वयन गराउनेहरू खराब परिदिए भने मुलुकले उल्टो दिशा लिँदोरहेछ, समृद्ध होइन अवनति र धराशयी हुनेतर्फ जाँदोरहेछ । आज अनावश्यक बाह्य प्रभावका कारण मुलुकलाई धर्मनिरपेक्षता, सङ्घीयता आदि के–के जाति अवधारणाको चक्रब्युहमा पारेर भुटिँदै छ । समानुपातिक अरे, समावेशी अरे, यो जात र ऊजातलाई अधिकार अरे † यो सबै मुलुकलाई अस्थिरताको भासमा जाकिराख्न बाह्य शक्तिले लादेका एजेण्डा हुन् । हाम्रा नेताको बुद्धिविवेकमा खिया लाग्दा र ती बिकाउ भइदिँदा यस्ता कुराले प्रश्रय पाएको हो । एकापसमा मारकाट गराएर द्वन्द्व चर्काउनुभन्दा यस्ता अवधारणाले कसैलाई केही लाभ दिन सक्दैन भन्ने देखिसकिएको छ ।

० तपाईं हिन्दूराष्ट्र स्थापनाको अभियानमा पनि हुनुहुन्छ, कत्तिको सार्थक भइरहेको छ तपाईंहरूको अभियान ?
– पाँच वर्षअघिको काङ्ग्रेस महाधिवेशनमा म पार्टीको कुनै पक्षमा पनि परिनँ र केन्द्रीय सदस्यको चुनावमा पराजित भएँ । यसो हुनुको मूल कारण नै त्यतिबेला मैले प्रकाशित गरेको एक अपिल थियो । त्यो अपिलमा मैले मुलुक धर्मनिरपेक्ष हुनुहुँदैन, सङ्घीयतामा जानुहुँदैन भन्ने कुरालाई विशेष जोड दिएको थिएँ । पार्टीका नेताहरूलाई मजस्तो व्यक्तिलाई काखी च्याप्न गाह्रो पर्‍यो । तर, म त आफ्नो मूल्य–मान्यतामा अडिग भएर हिँडेको व्यक्ति कसैको प्यानलमा पर्नकै लागि मूल्य–मान्यता नै परित्याग गर्न सक्दिनँ । रामचन्द्र पौडेलले त्यतिबेला भने कि तिमी यस्तो कुरा गर्छौ भने तिमीलाई प्यानलमा राख्दा त सुशीलजी र म नै हार्न सक्छौँ । अनि मैले भनिदिएँ, ‘भैगो तिमीहरू नहार, तर म आफ्नो बाटो त छोड्दिनँ ।’ अब यो अभियान जारी राख्ने हो, जनमानसलाई यथार्थ बुझाउँदै जाने हो । हिजो म एक्लै थिएँ होला, तर आज काङ्ग्रेसभित्रै पनि अधिकांश हिन्दूराष्ट्रको पक्षमा छन् । एक न एक दिन यो साकार हुन्छ नै, सबैले बुझ्दै आएका छन्, नेताले पनि बुझेका छन् । दुई–चारजना बिकाउ नेताहरूलाई अप्ठ्यारो पर्ला, त्यो बेग्लै पक्ष हो । विस्तारै यो कुरा लागू हुन्छ भन्ने विश्वासमा म छु ।

० ९५ प्रतिशत जनताले हिन्दूराष्ट्रको पक्षमा सुझाव दिँदादिँदै पनि संविधानमा त्यो उल्लेख हुन नसकेको सन्दर्भबारे चाहिँ के भन्नुहुन्छ नि ?
– मैले यो कुरा सुशील, शेरबहादुर, रामचन्द्र तीनैजनासमक्ष त्यतिबेला राखेको थिएँ । तर, उनीहरूले ‘धर्मनिरपेक्ष’ नगरे त संविधान नै नबन्ने अवस्था छ नि दामोदरजी भने । अनि मैले पनि संविधान नै बन्न सक्दैन भने त अहिलेलाई भैगो नि त भन्ने जवाफ फर्काइदिएँ । किनकि, संविधान नै नबनेर राष्ट्र डुब्नुभन्दा बरु आफ्ना एजेण्डा त पछि संविधान संशोधन गरेर पनि संविधानमा राख्न सकिएला भन्ने मलाई लाग्यो ।

० भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाललाई हिन्दूराष्ट्र बनाउन विशेष क्रियाशील हुनुहुन्छ भन्नेहरू पनि छन् नि, यो सही होला ?
– हिन्दुत्वका लागि लड्ने क्रममै आजको स्थानसम्म आइपुग्नुभएका मोदीजस्ता नेता नेपाल हिन्दूराष्ट्र भइदिए हुन्थ्यो भन्ने चाहना राख्नुहुन्न होला भनी ठान्न त सकिँदैन नै । तर, आफैँ अग्रसर भएर नेपाललाई हिन्दूराष्ट्र तुल्याइदिन त उहाँले मिल्ने कुरा पनि भएन, हामीले मान्ने कुरा पनि आएन । हामीलाई हिन्दूराष्ट्र चाहिन्छ, नेपाल हिन्दूराष्ट्र हुन्छ, तर त्यो हाम्रै बलबुतामा हुन्छ । जस्तो कि भारत पनि हिन्दूराष्ट्र होस् भन्ने हामी चाहन्छौँ, तर त्यसका लागि लडिदिन हामी भारत नै जानचाहिँ सक्दैनौँ । बाह्य सद्भाव रहनु बेग्लै कुरा, गर्ने त हामीले नै हो । मैले बुझेअनुसार भारतको ‘र’ र कर्मचारीतन्त्रको उच्च तहले धर्मनिरपेक्षतालाई नै उचित ठाने पनि प्रधानमन्त्री मोदी र उहाँका सहयोगी भने नेपाल हिन्दूराष्ट्र नै बनोस् भन्ने चाहना राख्छन् । यो स्वाभाविक हो ।

० हिन्दूराष्ट्रका लागि राजसंस्था पनि ब्युँताउनुपर्छ भन्नेहरूलाई के जवाफ दिन चाहनुहुन्छ नि ?
– हिन्दूराष्ट्र र राजसंस्था भन्ने कुरा नितान्त फरक विषय हो । ५४ वर्षदेखि नेपाली काङ्ग्रेसमा आबद्ध रहेको म बीपीको चेला हुँ । बीपीले राजसंस्था हटाउनुपर्छ भन्नुभएको थिएन, तर सक्रिय राजतन्त्रको पक्षमा उहाँ कहिल्यै हुनुभएन । बेलायतको जस्तो राजसंस्था हुँदा हामीलाई हिजो पनि आपत्ति हुँदैनथ्यो भने अब पनि अपत्ति हुने कुरो भएन । सक्रिय र निरङ्कुश राजसंस्था त स्वयम् राजसंस्थाकै निम्ति पनि हितकर हुन सक्दैन । राजसंस्था फर्केर आउनुपर्छ भनी हिँडिँदैन, निष्क्रिय राजसंस्था फर्केर आएमा आपत्ति जनाएर उल्कापात पनि मच्चाइन्नँ ।

० सभापति कोइरालाको निधनपछि देउवा पक्ष दर्बिलो बनेको आँकलन गरिँदै छ, तपाईंलाई के लाग्छ ?
– काङ्ग्रेसमा यसरी गुट देखिनु राम्रो कुरा होइन । म त काङ्ग्रेस गुटविहीन दल बनेको हेर्न चाहन्छु । जहाँसम्म कोइरालाको निधनपछि देउवा समूह बलियो बनेको तर्क छ, यसमा म सहमत हुन सक्दिनँ । सायद देउवाले पनि यो तथ्य बुझेकै होलान् ।

० काङ्ग्रेस महाधिवेशनको सन्दर्भ छ, तपाईं पनि केन्द्रीय नेतृत्व लिने प्रयत्नमा हुनुहुन्छ, के भन्न चाहनुहुन्छ ?
– महाधिवेशन प्रतिनिधि बनेर आएका तीन हजार–बत्तीस सय प्रतिनिधिले कुनै गुट नहेरी काङ्ग्रेस हेर्नुपर्छ । किनकि, पार्टीमा बढ्दो विकृति रोक्नु आवश्यक छ, पार्टी बचाउनुपर्छ । तसर्थ, उनीहरूले शेरबहादुर प्यानल या रामचन्द्र प्यानल भनी नछुट्याई ती दुवैभित्र रहेका असल काङ्ग्रेसी हेरेर मत दिऊन् भन्ने आग्रह गर्न चाहन्छु । अर्को कुरा, नेपाली काङ्ग्रेसको रुचिबेगर आएको सङ्घीयताको पक्षमा जोडबल नगर्न र नेपाललाई हिन्दूराष्ट्र तुल्याउने अभियानमा सक्रियता दर्शाउन पनि म साथीहरूसँग आग्रह गर्दछु ।

प्रस्तुति : जयप्रकाश त्रिपाठी