राजनीति गर्न सहज छ ? – बबिता बस्नेत

राजनीति गर्न सहज छ ? – बबिता बस्नेत


Babita Basnet 1
‘पैसा नहुनेले अब चुनाव नलडे हुन्छ,’ गत शनिबार भृकुटीमण्डपमा नेपाली काङ्ग्रेसको महाधिवेशनको दृश्य हेर्दै एक जिल्ला नेता भनिरहेका थिए । बाटो र भुइँभरि छरिएका पर्चा र पम्प्लेट या टाँगिएका तुलहरू हेरेर नभई त्यहाँ दुईजना मानिसबीच भएको कुराकानी सुनेर उनले यसो भनेका थिए । चुनाव कसले जित्छ भन्ने कुरामा ती मानिसले जसले बढी पैसा खर्च गर्छ उसैले जित्छ भनेको सुनेपछि उनले यसो भनेका थिए । हुन पनि नेपालमा साना–ठूला सबैखाले निर्वाचन र पैसा एक–अर्काका पर्यायवाचीझैँ भएका छन् । राजनीतिक दलहरूमा मात्र होइन अन्य व्यावसायिक सङ्घ–संस्था सङ्गठनहरूमा समेत मानिसको मिसन, भिजन, लक्ष्य, नीतिलगायतका कुराले भन्दा पैसाले निर्णायक स्थान लिन थालेको छ ।

निर्वाचन नीति र नेतृत्वसँग जोडिएको कुरा हो । कुनै पनि सङ्घ–संस्था, सङगठन, राजनीतिक दल हुँदै मुलुक चलाउन नेतृत्वको आवश्यकता पर्दछ । राजनीतिक दलहरूको आन्तरिक चुनाव या दलहरूबीच प्रतिस्पर्धा हुने आमनिर्वाचन नेताहरूको मात्र नभएर जनताको पनि भविष्य निर्धारण गर्ने माध्यम हो । निर्वाचनका लागि मुख्य तीन तत्त्वहरूको आवश्यकता पर्दछ । राजनीतिक दल र उम्मेदवार, मुद्दाहरू र मतदान प्रक्रिया । राजनीतिक दलका ‘इनहाउस’ निर्वाचनमा पनि यिनै तीन कुरा महत्त्वपूर्ण हुन्छन, हुनुपर्ने हो । तर, हामीकहाँ भने यी कुराहरूका अलावा अन्य धेरै कुराहरू साथमा जोडिने गरेका छन् । आफ्ना राजनीतिक मुद्दाहरूभन्दा शक्ति र पैसाले बढी काम गर्न थालेको छ । कुशल नेतृत्व चयनका लागि उसले व्यक्त गरेका विचारसँगै विगतमा जनाएका प्रतिबद्धता र ती प्रतिबद्धताका कार्यान्वयनहरू महत्त्वपूर्ण हुन्छन् । नेतृत्वमा आउन चाहेको यदि उदीयमान युवा रहेछ भने उसले बोलेका कुराहरू, अपनाएको नीतिसँगै स्मार्टनेसलाई पनि हेरिन्छ भन्ने कुरा विश्वका कतिपय युवा राजनीतिकर्मीहरूको सवालमा प्रमाणित भइसकेको छ । जोन अफ केनडीदेखि बिल क्लिन्टन हुँदै बाराक ओबामासम्मले आफ्नो भाषणको तयारीसँगै आफूले लगाउने ड्रेस तथा हेयर स्टायलसम्ममा त्यत्तिकै ध्यान दिने गरेका थिए । राष्ट्रपतिको चुनाव होस् या ‘इनहाउस’ बिल क्लिन्टन र बाराक ओबामाको हाउभाउदेखि नीति तथा कार्यक्रमका कुरासम्म हाम्रो पुस्ताले देखेकै कुरा हो ।

विकसित मुलुकका धेरैजसो निर्वाचनमा मतदातालाई आकर्षित गर्न नेताहरूले तोकिएका विभिन्न स्थानमा भाषण गर्छन् । ती भाषणहरूलाई मिडियाले प्रत्यक्ष प्रसारण गरेर छ्याप्छ्याप्ती बनाउँछन् । नेताहरूले मन्तव्यमा व्यक्त गरेका कुराहरूलाई हेरेर मतदाताहरूले कसलाई भोट दिने हो निर्णय गर्छन् । तर, हामीकहाँ त मतका लागि पनि ठेक्कापट्टा हुन्छ । यति मानिसलाई मैले भन्न सक्छु या चलखेल गर्न सक्छु भनेर ठेकेदारहरूले भन्ने र नेताहरूले ती ठेकेदारमार्फत मतदातालाई प्रभावित गर्ने काम गर्छन् । जुन प्रभाव उनीहरूको बोली, मन्तव्य, नीति या कार्यक्रमबाट हुँदैन । त्यस्तो कारोबार मनको नभएर सीधै धनको हुन्छ, जहाँ मतदाताको मूल्य तोकिन्छ या मतदाता आफैँले आफ्नो मूल्य तोक्छन् त्यस्तो मुलुकको राजनीति मात्र दूषित हुँदैन प्रजातन्त्र नै जोखिममा पर्छ ।

हालै सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशन र अनेरास्ववियुको निर्वाचनलाई हेर्दा अबको राजनीतिले मुलुकलाई कता लाने हो यसै भन्न सकिन्न । यद्यपि राम्रै मानिसहरू नेतृत्वमा आए तर जुन प्रक्रिया र लुछाचुँडीको अवस्था निर्वाचनका बेला भयो त्यो खर्चिलो मात्र होइन बुद्धि, विवेक र इमानदारी मात्र साथमा भएको मानिसले गर्नै सक्दैन । हामी भन्छौँ, राजनीतिकर्मीहरू भ्रष्टाचारमा डुबे या उनीहरूले भ्रष्टाचारलाई संस्थागत बनाए, बनाउँदै छन् । हाम्रा निर्वाचनहरूलाई हेर्दा असल मानिसले गरेको आफ्नो सीधा आम्दानीले कुनै पनि निर्वाचन लड्नै सकिँदैन । इमानदारीको कमाइले अबको चुनावमा कसैले पनि भाग लिन सक्दैन । यसको अर्थ हो, राम्रा मानिसले राजनीति गर्न सक्दैनन् । बुद्धि र विवेक मात्रै प्रयोग गर्न खोजियो भने त्यो मान्छेले पदभन्दा पनि प्राप्त गर्नेचाहिँ ह्युमिलेसन हो ।

काङ्ग्रेस महाधिवेशनमा करिब एक सय मत बदर भए । दोस्रोपटकको सभापतिको मतदान भइरहेका बेला दुई उम्मेदवारका कार्यकर्ताबीच कुटाकुट भयो । यी दुई घटना नेपालको राजनीतिमा खासै प्रतिनिधि घटना होइनन् । सबै दलका निर्वाचन, आमनिर्वाचनमा मात्र होइन, सानातिना सङ्गठनका चुनावहरूमा पनि यस्तो हुने गरेका छन् । नेपालको सन्दर्भमा यी साधारण घटना हुन् । तर, राजनीतिक मूल्य–मान्यताको दृष्टिकोणले हेर्ने हो भने यी दुवै लाजमर्दो घटना हुन् । गाउँदेखि क्षेत्र हुँदै प्रतिनिधि चुनिएर आएकाहरूले जम्मा तीनजना सभापतिको उम्मेदवार भएको मतपत्रमा सही तरिकाले छाप लाउन सकेनन् । कस्ता स्थानीय नेता हुन् ती ? चुनावका विभिन्न चरण पार गर्दै केन्द्रीय प्रतिनिधि कसरी बने ? दोस्रो, निर्वाचनमा त प्रतिस्पर्धा गर्ने हो न कि एक–अर्काका बारेमा अस्वस्थ टीका–टिप्पणी । एउटा निश्चित कालखण्डमा प्रतिस्पर्धी भए पनि ती आफ्नै दलका नेता हुन् । आफूले भोलिपल्टदेखि नै दाजु ‘जय नेपाल’ भन्नुपर्ने नेताहरूका बारेमा नभएर उनीहरूको भिजनका बारेमा चर्चा गरेको अवस्था हुन्थ्यो भने त्यहाँ झडप या कुटाकुट हुने थिएन । जे पायो त्यही बोल्ने या कुटाकुट गर्ने कार्यले सम्बन्धित व्यक्तिहरूको भन्दा पार्टीको साख गिराउने काम गरेको छ । जसले जसलाई गरेको भए पनि यसप्रकारको लठैत प्रवृत्तिलाई निरुत्साहित नगर्ने हो भने आगामी अधिवेशनहरू अहिलेकोभन्दा धेरै गुणा शारीरिक मुक्काबाजी गर्नेहरूकै कब्जामा पुग्नेछ ।

भिजन, मिसन, लक्ष्य र तर्कले जितेर नेतृत्व लिने दिन आएमा राजनीतिक दलहरूको सङ्ख्या अहिलेको जस्तो हुनेछैन । राम्रा मान्छेहरू राजनीतिमा जान सक्नेछन् । राजनीतिमा राम्रा मान्छेहरू अहिले पनि नभएका होइनन्, छन् । तर, ती कि त ओझेलमा परेका छन् या त आफ्नो प्रभाव देखाउनै नसक्ने गरी खुम्चिएका छन् । यसो हुनुको कारण पनि मुक्काबाजी या ठेकेदारी प्रथावाला राजनीति नै हो । यसमा बुझ्नुपर्ने कुरा के हो भने राजनीतिलाई यस्तो बनाउने हामी नै हौँ । बाहिरका मानिसले आएर यस्तो बनाएका होइनन् । अब सही–गलत छुट्याउने बेला जनताको हो । आमनिर्वाचनका बेला सर्वसाधारण सबैको र दलहरूको निर्वाचनका बेला कार्यकर्ताको ।

नेतालाई स्वच्छ या दूषित बनाउनमा मतदाताहरूको ठूलो हात छ । यदि मतदाताहरू पैसामा नबिक्ने हो भने नेताले मात्रै केही गर्न सक्दैनन् । सिद्धान्तको राजनीति गर्न अब नेताले जनतालाई होइन जनताले नेतालाई सिकाउन सक्नुपर्छ । यसो गर्न सकियो भने राजनीति सबैका लागि सहज बन्न सक्छ । नत्र मनी, मसल, म्यनुपुलेसनसँगै अर्को एउटा ‘एम’ जोडिएर आउँछ त्यो हो मेन । सबै पुरुषहरू खराब छैनन् । सिद्धान्तमा रहेर स्वच्छ र इमानदार राजनीति गर्न चाहने पुरुषहरू छन्, तर व्याप्त वातावरणले उनीहरूलाई राम्रो बन्न दिइरहेको छैन । महिलालाई त चुनाव लड्न गाह्रो छ नै, यस्तै अवस्था रहेमा असल पुरुषहरूका लागि पनि राजनीति टाढाको लक्ष्य बन्नेछ ।