खेलकुदप्रेमी देउवा

खेलकुदप्रेमी देउवा


deuwa 8
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि खेलकुदमा नौलो तरङ्ग उत्पन्न भएको छ । खेलकुदको यथार्थलाई नजिकबाट आत्मसात् गरेका देउवाले ०५८ मै खेलकुद मन्त्रालयको स्थापना गरेर त्यसको पुष्टि गरेका थिए । राजनीतिक दलहरूले खेलकुदलाई सौताको व्यवहार गरिरहेको अवस्थामा समेत देउवाले खेलकुद मन्त्रालय स्थापना गरेर आफूलाई खेलकुदप्रेमी नेताको रूपमा प्रस्तुत गरेका थिए । खेलकुदको विकासबिना राष्ट्रको विकास हुन सक्दैन भन्ने मान्यता राख्ने देउवाले तत्कालीन समयमा गरेको यो निर्णय अहिले दूरदर्शी र सही सावित भएको छ ।

खेलकुदप्रेमी नेता देउवा कांग्रेसको सभापति भएपछि नेपाली खेलकुद क्षेत्रमा आशाका किरण देखिन थालेका छन् । अन्य राजनीतिक दलले खेलकुदलाई विशेष प्राथमिकतामा राखे पनि कांग्रेसले खेलकुदको प्रभावकारितालाई अहिलेसम्म बुझ्न नसकेको आमगुनासो छ । यस्तोमा देउवा सभापति निर्वाचित भएपछि खेलकुदप्रति कांग्रेसको सोचमा परिवर्तन हुने विश्वास गरिएको छ । देउवाले जसरी ०५८ मा खेलकुद मन्त्रालयको स्थापना गरे त्यसरी नै खेलकुदमा आमूल परिवर्तनका लागि विशेष भूमिका निर्वाह गर्ने विश्वास गर्न थालिएको छ ।

खेलकुदलाई सबैभन्दा बढी हाँक्ने अवसर कांग्रेसले पाए पनि त्यो उपलब्धिमूलक बन्न नसकेको इतिहास हामीसामु छ । खेलकुदलाई जुनसुकै राजनीतिक दलले सम्हाले पनि त्यो राजनीतिबाट अछुतो रहन सकेन । सबै राजनीतिक दलले खेलकुदजस्तो रचनात्मक क्षेत्रको विकास गर्नुको साटो राजनीतिक भर्तीकेन्द्र बनाएको ऐनाजत्तिकै छर्लङ्ग छ । बितेका केही वर्षमा कांग्रेसले खेलकुदप्रति चासो राख्दै भ्रातृ सङ्गठनमार्फत खेलकुदलाई समेट्ने प्रयास गरे पनि ती खासै प्रभावकारी बन्न सकेका छैनन् । यस्तो अवस्थामा देउवाले कांग्रेसको वागडोर सम्हालेपछि आफ्नो भ्रातृ सङ्गठनमा मात्र नभई समग्र खेलकुदको विकासमा उचित कदम उठाउने विश्वास गरिएको छ ।