देउवाको दायित्व

देउवाको दायित्व


ghatana
स्थापनाकालदेखि नै कोइराला परिवारको मुट्ठीमा कैद रहेको पार्टीको रूपमा आलोचित नेपाली कांग्रेसले अन्तत: उक्त दोषमुक्तिको मार्ग अवलम्बन गरेको छ । एक सामान्य नागरिकको तहदेखि सङ्घर्ष, दु:ख–कष्ट, त्याग र उतारचढावका अनेक आयामलाई माध्यम तुल्याएर माथि उठेका शेरबहादुर देउवा मुलुककै पुरानो र सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको शीर्ष भूमिकामा विराजमान हुन पुगेका छन् । पार्टीभित्रै प्रजातन्त्रको खडेरी पर्न थालेको भनी आलोचना तीव्र हुन थालेको परिवेशमा पार्टीमै प्रतिपक्षीसरहको भूमिकामा रहन विवश वरिष्ठ नेता देउवा सभापति निर्वाचित भएबाट सिङ्गो कांग्रेस–पङ्क्तिमा मात्र नभई मुलुकभित्र र बाहिरसमेत नवीन तरङ्ग पैदा भएको अनुभूति गरिँदै छ । पारिवारिक लिगेसीको अघोषित क्रियान्वयनका कारण पार्टीको प्रमुख ओहदाको जिम्मेवारी बहन गर्ने अवसरबाट वञ्चित रहँदै आएका नेता देउवालाई मिलेको यस सफलतासँगै मुलुकको दशा र दिशामै सकारात्मक परिवर्तन देखापर्ने अपेक्षा बढेर गएको छ ।

तर, प्रमुख दलको प्रमुख भूमिकामा पुग्नु मात्रलाई ‘सम्पूर्ण’ ठान्न सकिँदैन, मिल्दैन । उक्त जिम्मेवारीमा रहेर निर्वाह गर्ने भूमिकाको आधारमा मात्र व्यक्तिको यथोचित मूल्याङ्कन हुन सक्छ । कांग्रेसका वरिष्ठ नेता एवम् नवनिर्वाचित सभापति देउवाको हकमा पनि यही मान्यता लागू हुने हो । प्रथमत: सभापतिका रूपमा नेता देउवासामु पार्टी एवम् मुलुकलाई नै प्रजातान्त्रिक मूल्य–मान्यता र संस्कृतिबाट हिँडाउने जिम्मेवारी पहाडजत्तिकै दर्बिलो रूपमा खडा भएको छ । किनकि, प्रजातन्त्र पुनप्र्राप्तिको तीन दशक पुग्न लाग्दा पनि प्रजातान्त्रिक पद्धतिअनुरूप विधिको शासन मुलुकमा स्थापित हुन नसक्दा देश अधोगतितिर लागिरहेको छ भने आमजनतामा प्रजातान्त्रिक शासनपद्धति एवम् राजनीतिक दलहरूप्रति नै वितृष्णा बढाएको छ । आफूलाई प्रजातान्त्रिक आन्दोलनको मूल प्रवाह ठान्ने कांग्रेसलाई साँच्चै यदि यस्तो दाबी गर्ने हक छ भने विधिको शासन कायम गराई देश र जनताको समग्र स्तर उकास्ने दायित्व पनि उत्तिकै छ । अझै लोकतान्त्रिक संस्कारबाट टाढै रहेका कम्युनिस्टलगायतका कतिपय दललाई प्रजातान्त्रिक पद्धति र संस्कृति सिकाउने कर्म नेपाली कांग्रेसले व्यावहारिक तवरमै निर्वाह गर्नुपर्छ, जो अबको कांग्रेस नेतृत्वबाट अपेक्षा गर्न सकिन्छ ।

यस्तै, पार्टीलाई व्यक्तिमुखी नभई विधिमुखी बनाएर अगाडि लैजानु कांग्रेस नेतृत्वको निम्ति अपरिहार्य कार्य हो । पार्टीका तमाम नेता–कार्यकर्तालाई तिनको योग्यता, क्षमता र आवश्यकता हेरेर उचित जिम्मेवारी प्रदान गर्ने परिपाटी या संयन्त्रको विकास हुनु नितान्त आवश्यक छ । यसले पार्टी–कार्यकर्तामा ऊर्जा, उत्साह या जाँगर भरिदिन्छ । कार्यकर्ता ऊर्जाशील हुनु भनेको सिङ्गै पार्टी ऊर्जामय बन्नु हो र ऊर्जावान पार्टीले नै मुलुकलाई प्रगतिको अग्रदिशामा लैजान सक्छ भन्ने सामान्यतया सबैले बुझेकै कुरा पनि हो । कांग्रेस कमजोर हुँदा वा राष्ट्रिय राजनीतिमा यसले फितलो प्रदर्शन गर्दा प्रजातन्त्र र मुलुक नै सङ्कटमा पर्ने गरेका उदाहरण छन् । यस्ता प्रसङ्गलाई पार्टीको नयाँ नेतृत्वले गम्भीरतापूर्वक मनन गरी समयोचित पाइला बढाउनुपर्छ ।

आफ्नै दलको अगुवाइमा जारी भएको संविधान कार्यान्वयनको पाटो पनि कांग्रेसको नवनेतृत्वका लागि ठूलो चुनौतीको विषय हो । संविधान जारी हुँदा या त्यसपछि एकै राष्ट्रका जनता एकातिर दीपावली गर्दै थिए भने अर्कोतर्फ अन्धकार छाएको थियो । अर्थात्, राजधानीतिर उल्लास र तराई–मधेसतिर गोली चलेको अवस्था थियो । अझै पनि त्यो परिवेशको अन्त्य भइसकेको छैन, अन्त्य भएको ठान्नु महाभूल हुनेछ । संविधान जारी भएलगत्तै कांग्रेसले यसमा त्रुटि रहेको स्वीकार गरी संशोधन प्रक्रियामा गएको सन्दर्भ यहाँनेर स्मरणीय छ । सबैलाई मिलाएर अघि बढ्ने मामलामा कहलिएका लचकदार वा उदार व्यक्ति कांग्रेसजस्तो महत्त्वपूर्ण दलको अगुवाइ गर्ने ओहोदामा पुगेका छन् । तराई–मधेसलगायतका समस्या समाधानको निम्ति यो अत्यन्त सकारात्मक सन्दर्भ हो ।

सबभन्दा महत्त्वपूर्ण त प्रजातन्त्र, राष्ट्रियता र समाजवाद प्रकारान्तरले कांग्रेसका मौलिक आदर्श हुन् र पनि यसको व्यावहारिक प्रयोगमा स्वयम् कांग्रेस नै चुक्दै आएको पछिल्लो कालखण्डमा आरोप लाग्ने गरेको छ । अब यो आदर्शलाई पुनर्जीवित तुल्याउँदै बीपीको पथमा हिँड्ने–हिँडाउने दायित्व पनि पार्टीको नयाँ नेतृत्वमा आएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस एक ढिक्का भई यस्ता यावत् ज्वलन्त मुद्दाको समयोचित हल निकाल्ने क्षमता पार्टीले प्रदर्शन गर्न सकोस्, यही शुभकामना ।