यी रहेछन् आर्थिक समृद्धिको पूर्ण बाधक

यी रहेछन् आर्थिक समृद्धिको पूर्ण बाधक


Kishor Silwal
– किशोर सिलवाल

राजनीतिक अस्थिरता भन्नाले साधारण अर्थमा देशको आन्तरिक राजनीतिमा कहिले पनि स्थिरता नहुनु भन्ने नै बुझिन्छ । राजनीतिक पार्टीबीच झैझगडा भइरहनु, मेलमिलाप नहुनु, असहयोगको भावनाले जकडिनु, पद र धनको लोभलालच, इष्र्या, द्वेष, कुसंस्कार, अन्तस्करणको मुख्य मर्मको अहंकारलाई बुझ्ने क्षमता नै नहुनु भनेको आध्यात्मिक ज्ञान नहुनुु हो । वैशाख १२ को महाभूकम्प, नाकाबन्दी र दुई ठूला छिमेकी देशसँग परराष्ट्र वा कूटनीतिक पहल गरी सम्बन्ध प्रगाढ र तटस्थ राख्न नसक्नु भनेको राज्य सञ्चालन गर्ने नेता र नेतृत्व वर्गको कमजोरी नै हो ।

देखापरेका समस्यालाई तुरुन्त सम्बोधन गरी समाधान गर्न नसक्नाले जनताले राजा महेन्द्र र बीपी कोइरालाको दूरदर्शितालाई सम्झन थालेका छन् । कतिपय जनप्रतिनिधि नै अशिक्षित भएकाले विभिन्न विकृति चुलिन पुगेको, नातावाद, कृपावाद, चाकडीको बोलवाला, समानुपातिक समावेशीको अवधारणाले सक्षमलाई पाखा लगाइनु, सरकारमा एकपछि अर्को पार्टी क्षणिक समयका लागि समावेश हुनाले हुनुपर्ने काम नहुने, तर भाषण बढी गर्ने प्रवृत्ति, पार्टीहरू बहुमतमा विजय नभई कोलिसन शासन सञ्चालन गर्नुपर्ने विवशता, पार्टीले सरकारको हरेक क्षेत्रमा सांसद नियुक्तिदेखि कार्यपालिका र न्यायपालिकाका कर्मचारीको सरुवा, बढुवा र भर्ना गर्नसमेत भागबन्डाले गर्दा काममा पारदर्शिता नदेखिनु, कुनै पनि पार्टीहरू सरकारमा समावेश हुँदा आफ्ना कार्यकर्तालाई भौतिक विकासका काममा लगाउने, तर काम नै नसकी पैसा खाएर भाग्ने, तर कारबाही नगर्ने प्रवृत्तिले गर्दा नेता र नेतृत्वको मात्र गल्ती देखिन्छ न कि लोकतान्त्रिक गणतन्त्र पद्धतिको ।

विश्व जगत्को मानचित्रमा सीमाङ्कन बढ्ने र घट्ने काम नभई तटस्थता देखिँदै जानु भन्नु नै दोस्रो विश्वयुद्धको समाप्ति थियो । जर्मनको तानाशाह हिटलरको मृत्युपश्चात् र वैज्ञानिक आइन्स्टाइनले गरेको आविष्कार एटम बम अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा सो बमको परीक्षण गरेर मानव र जीवजन्तुहरूको तहसनहस र सत्यानाश गरी मार्नुको पछाडि दोस्रो युद्धताका जर्मनीको पिट्ठु जापानले अमेरिकाको पोलहार्वरमा गरेको आक्रमणको बदलास्वरूप खसालिएको हो भनी एकाथरी विश्लेषकको ठहर छ । त्यस्तै नेपालमा पनि पृथ्वीनारायण शाह, बहादुर शाह र जंगबहादुर राणाले क्रमश: राष्ट्रको उठान र राष्ट्रिय हितको जुन काम नेपालको एकीकरण, ग्रेटर नेपालको सीमा विस्तार र ब्रिटिस साम्राज्यलाई लखनउको सिपाही विद्रोह दमन गरी सहयोग गरेबापत चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लिन सफल हुनु नै देशभक्तिको काम गरेको ठहर छ ।

२००७ सालदेखि २०७२ सालसम्ममा ४ वटा मुख्य राजनीतिक परिवर्तन भए तापनि राजनीतिक पार्टीका नेताहरू मच्चियो मच्चियो थच्चियो अर्थात् हात लाग्यो शून्यकै अवस्थामा छन् । लोकतान्त्रिक समाजवाद प्राप्तिका लागि पार्टीहरूकै घोषणापत्रमा उल्लेख भए तापनि बल्लबल्ल तीनपटकमा आएको संविधान २०७२ प्रकाशित गरी टुँडिखेलमा खुसी मनाउन के लागेका थिए, भारतको अघोषित आर्थिक नाकाबन्दीले स्वागत गरिदिँदा जनजीवन नै तहसनहस हुन पुग्यो । मधेसी नेताहरूले सरकारको तीन खर्ब रुपैयाँ राजस्व डुबाए पनि सरकारले यिनलाई देशद्रोहीको बिल्ला लगाउन नसक्नुको कारण के हो, नबुझेर जनता रनभुल्ल छन् ।

चीन र भारतजस्ता महत्त्वपूर्ण छिमेकीहरूको फरक विचार र फरक नीतिलाई गहिरिएर नबुझ्ने हो भने यी दुई देशको चलखेलले नेपाल भन्ने देश नै विलीन हुन पनि सक्छ । पृथ्वीनारायण शाहले नेपाल दुई देशबीचको तरुल थियो भन्नु स्वाभाविक थियो, तर देशले परराष्ट्र मामिलामा चिन्न नसकी आफू तरुल हो भनी व्यवहार गर्न नसक्नुको तात्पर्य दुई देशबीच फरक विचार निस्कनु स्वाभाविक थियो । नेपाल तबसम्म निहुरिरहन्छ जबसम्म ऊ गरिब रहिरहन्छ र सदाका लागि कमजोर भई दलिने अवस्थामा रहिरहन्छ भन्ने सोच छिमेकीमा रहेको बुझिन्छ ।

अन्त्यमा, नेपालजस्तो एक सानो भूपरिवेष्ठित, गरिब र अल्पविकसित मुलुकमा लामो शासनकालको इतिहास हेर्ने हो भने झन्डै २ सय ७२ वर्षसम्म राजनीतिक अस्थिरता रहिरहनु यसलाई अतिरञ्जितको संज्ञाको साथसाथै अराजकता, असमानता, अन्याय, अत्याचार, भ्रष्टाचार, असामाजिक सुरक्षा, समाजमा बसोवास गरेका जनताको शासक र शोषित वर्गको बीचमा असद्भाव, अमेलमिलाप र असहयोगको भावना बढावा दिँदै जानाले राजनीतिक दृश्य एकपछि अर्को हुकुमी शासन, सामन्ती शासन, प्रजातान्त्रिक शासन, बहुदलीय शासन र लोकतान्त्रिक गणतन्त्रको शासन (बहुलवाद) सम्म आइपुग्दा पनि शासकले शोषित वर्गलाई झुटो सपना बाँड्नेसिवाय माकुरोको जालोमा माखोसमेत मार्न सकेनन् भन्दा नै न्यायोचित हुनेछ । बुद्धिजीवी वर्गको भनाइअनुसार राजा एवम् नेताहरू देशको आर्थिक विकास, जनतामा शैक्षिक जागरण जस्ता कुरा वास्तविक अर्थमा कहिल्यै चाहँदैनन् । जनता शिक्षित भए भने आफैविरुद्ध आन्दोलनमा खडा हुने, जनतालाई शोषण गर्न नपाइने, जनता कर्तव्यनिष्ठ नहुने, आदेशको पालना नगर्ने जस्ता महात्रासमा उनीहरू पर्दछन् । यसरी गरिब जनतालाई कजाई खाने भाँडो गुम्ला भन्ने डरका कारण अस्थिरता नै अस्थिरताको भूमरीमा अल्झाईराख्ने प्रवृत्ति एकातिर छ भने अर्कोतिर निच मानसिकताको भावले ग्रसित भएबाट न माथि न तल जनतालाई बीचमा नै झुन्ड्याई दु:ख दिइरहने सोच भएपछि दैवको त केही नलाग्दा जनताको के लाग्दो रहेछ र †

तसर्थ, नेता र नेतृत्व वर्गहरूको चरित्रहीन, अक्षमता, अदूरदर्शितालाई हटाउने एक मात्र अचुक खोज हो– चरित्र निर्माण, विशुद्ध योग साधना, ध्यान, प्राणायाम । राजनीतिक पार्टीका नेतृत्व तहलाई मात्र नभई सरकारी निजामती कर्मचारी, व्यापारी, बुद्धिजीवी वर्गहरू, सुरक्षा निकायका सशस्त्र र सिभिल प्रहरी प्रशासन, न्याय क्षेत्रमा न्यायाधीश र वकिल, शिक्षक र विद्यार्थीको साथै सबै वर्गहरू र तप्काहरूलाई नै चरित्र निर्माण प्रशिक्षण गराएर मात्र आ–आफ्नो सेवाका क्षेत्रहरूमा पठाउने हो भने उनीहरूमा चारित्रिक चेतनाको जागरण भई निस्वार्थ, न्यायिक, सेवामयी, सरल सुगन्धमय आदर्श प्रकृतिको जीवन बन्नुको साथै ओजस्वी र तेजस्वी भई राम्रो सतकर्म गर्न सक्षम हुन्छन् । राम्रो सतकर्म ती व्यक्तिहरूमा विकसित हुँदै गएको मानवीय गुण, द्वैध चरित्र, पूर्ण मानव र ज्ञानी पुरुषलाई सदुपयोग गरी देशको आर्थिक विकासमा लगाउन सकिन्छ भन्नु नै देशको विकास तीव्र गतिमा हुँदै जानु अग्रगामी छलाङ लगाउनु विजयको उद्घोष गर्नु पनि हो ।

[email protected]