‘सभापतिमा देउवाको चयन मुलुककै लागि हितकर’

‘सभापतिमा देउवाको चयन मुलुककै लागि हितकर’


Bal-Krishna-Khand
:: बालकृष्ण खाण ::

नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएपछि यसभित्र एउटा नयाँ आशा सञ्चार भएको छ । नेपाली कांग्रेसले एउटा नयाँ गति लिन सकोस्, कांग्रेसमा एकता, सद्भाव र मेलमिलाप बढेर जाओस्, जनतामा स्थापित नेता–कार्यकर्ताले जिम्मेवारी या भूमिका पाऊन् र यो पार्टीलाई नयाँ दिशामा अग्रसर तुल्याऊन् भन्ने आमकार्यकर्ताको चाहना थियो । यसक्रममा शेरबहादुर देउवालाई सबैले आफ्नो नेताको रूपमा स्वीकार गरेका हुन् । उहाँले गहनतम् उत्तरदायित्व सम्हाल्ने जिम्मेवारी पाउनुभएको छ । किनकि, नेपाली कांग्रेसको सभापति भनेको मुलुकको राजनीतिमा ऐतिहासिक दायित्व हो । यो दायित्व निर्वाहका लागि कांग्रेसका सबै साथीहरूको सल्लाह, सहयोग र समर्थन लिएर सभापति देउवाले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुहुनेछ भन्नेमा म विश्वस्त छु ।

महाधिवेशन चुनावमा प्रतिस्पर्धी रहनुभएका रामचन्द्र पौडेललाई पनि सम्मानका साथ समेटेर देउवा अघि बढ्नुहुनेछ भने कसैसँग पनि आग्रह–पूर्वाग्रह नराखी, कांग्रेसका सबै कार्यकर्ता–नेता भनेका पार्टीका आधारस्तम्भ हुन् भन्ने तथ्यलाई मनन गरी उहाँले पार्टीलाई नेतृत्व दिनुहुनेछ । सबै कार्यकर्ता, सबै नेतालाई मिलाएरै उहाँले पार्टीलाई अगाडि बढाउनुपर्दछ र बढाउनुहुनेछ भन्ने विश्वास हामीलाई छ ।

अब भागबन्डाको आधारमा भन्दा पनि आवश्यकता र औचित्यको आधारमा, नेताहरूसँगको आपसी परामर्शकै आधारमा कांग्रेसले पार्टीका नेता र कार्यकर्तालाई भूमिका दिनुपर्छ र दिन्छ पनि । रामचन्द्र पौडेल हाम्रा सम्माननीय नेता हुनुहुन्छ । कांग्रेसको विकास र विस्तारका लागि उहाँको पनि ठूलो भूमिका रहेको छ । यस हिसाबले आगामी दिनमा पनि हामीले पार्टीका नेताको रूपमा नेता पौडेललाई सम्मान गर्नेछौँ र पार्टीमा उहाँको यथोचित जिम्मेवारी या भूमिका पनि रहिरहनेछ ।

शेरबहादुर देउवाको यस किसिमको जितको निम्ति पार्टीका सबै तह, तप्काका साथीहरूको आ–आफ्नै भूमिका रहेको छ । कोही व्यक्तिविशेष या समूहविशेषले अलग्गै या विशेष भूमिकाको दाबी गर्नु यतिबेला उपयुक्त पनि हुँदैन । एकले अर्कोलाई हिजो सहयोग नगरेको भए पनि आज सहयोग गर्ने, हिजो सँगै नरहेको भए पनि आज सँगै हुने, कुनै पूर्वाग्रह र द्वेष नराखी एकले अर्कोलाई साथ–सहयोग दिने, हातेमालो गर्ने कांग्रेसीजनको पुरानै चरित्र हो । देउवालाई सभापति निर्वाचित गराउने सन्दर्भमा पनि यस फ्याक्टरले काम गरेको नहोला भन्ने आधार छैन ।

मुलुकले राष्ट्रिय सहमतिको सरकार खोजिरहेको छ । मैले त बारम्बार भन्ने गरेको छु कि सरकार निर्माण गर्ने क्रममा सबभन्दा ठूलो पार्टीले अगुवाइ गर्नुपर्छ, गर्छ । दोस्रो पार्टीलाई सरकारमै दोस्रै हिसाबको जिम्मेवारी मिल्छ भने यही आधारमा सबै पार्टीलाई यथोचित जिम्मेवारी प्रदान गर्नुपर्छ । यसरी सबैलाई मिलाएर राष्ट्रिय सहमतिको सरकार निर्माण गरिनुपर्छ, सहमतिको सरकार बन्न नसक्दाको अवस्थामा पनि जुन गठबन्धन–सरकार निर्माण हुन्छ, त्यो प्राकृतिक तवरको हुनुपर्छ, जसले मुलुकलाई दुईतिहाइ बहुमत दिन सकोस् । वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट निर्माण भएको छ । संविधान कार्यान्वयन गर्ने, संविधानलाई परिस्कृत गर्दै अघि बढाउने र आन्दोलनलाई सम्बोधन गर्दै सबै नेपालीको भावना सम्बोधन गर्ने क्रममा सरकारको अहम् भूमिका रहन्छ । यो सरकार हाम्रो हो, यसले हाम्रो रक्षा गर्छ, भन्ने अपनत्वभाव सबै क्षेत्र वा जातजातिका नेपालीमा पैदा हुनुपर्छ । यसरी मुलुकलाई शान्ति र समृद्धि प्रदान गर्ने दिशामा अब बन्ने सहमतिको सरकारले कदम चाल्नु आवश्यक छ ।

वर्तमान सरकार बिलकुल अप्राकृतिक गठबन्धनबाट निर्माण भएकाले यसलाई सच्याउनु आवश्यक छ । गणतन्त्र नमान्ने शक्ति पनि यो सरकारमा छ भने सङ्घीय गणतान्त्रिक लोकतन्त्र नमान्ने पनि यसैमा अटाएको छ । यस्तो खालको अप्राकृतिक सरकारले मुलुक हाँक्न सक्दैन । यसले सबै जनताको विश्वास प्राप्त गर्न सकेको छैन र सक्दैन पनि । अन्तर्राष्ट्रिय साथ–सहयोग पनि यस्तो सरकारले हासिल गर्न नसक्ने हुनाले यसको आयु लम्बिरहनु मुलुकको हितमा हुन सक्दैन । यसको अर्थ सरकारलाई ढाल्ने भन्ने होइन । सरकारको अगुवाइ गरिरहेको दलसँग हाम्रो पार्टीले संवाद गर्छ र मुलुकको आवश्यकताअनुसार सबै मिलेर र मिलाएर अघि बढ्ने माहोल सिर्जना गर्छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति हाम्रो कुनै आग्रह–पूर्वाग्रह छैन । यो मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा उहाँको पनि ठूलो भूमिका र योगदान छ । यसको हामी सदैव सम्मान एवम् कदर गर्छौं । तर, दुईतिहाइ बहुमत नभएको अप्राकृतिक गठबन्धनको सरकारले मुलुकका ज्वलन्त समस्या हल गर्न नसक्ने हुँदा प्राकृतिक तवरको सहमतीय सरकार गठनको आवश्यकता परेको हो । अब पनि कांग्रेस–एमालेजस्ता दल एउटै गठबन्धनमा रहेर नै मुलुकलाई हाँक्ने हो ।

यसक्रममा कांग्रेसले सरकारको अगुवाइ गर्ने कुरा अत्यन्त स्वाभाविक हुन आउँछ र पार्टीको सभापति हुनुको साथै लचकदार र सबैलाई मिलाएर लैजाने खुबीका कारण पनि कांग्रेसका एक सक्षम नेता तथा सभापति शेरबहादुर देउवाले नै अबको सरकारको नेतृत्व गर्नु स्वाभाविक, सान्दर्भिक र उपयुक्त पनि हुन्छ भन्ने मेरो दृढ मत छ । पार्टीलाई राम्ररी चलाउन देशभरका कार्यकर्ताले उहाँलाई अत्यधिक मत त दिएकै छन्, यो मत भनेको देश नै चलाउनको निम्ति पनि हो भन्ने मेरो बुझाइ छ । पार्टी सञ्चालनका लागि जुन बलियो आधारशिला देउवाजीलाई मिलेको छ, यो सिङ्गो कांग्रेस पार्टीका लागि पनि महत्त्वशाली सन्दर्भ हो भने देशलाई पनि उहाँको नेतृत्वले धेरै कोणबाट हित पुग्नेछ । मुलुक र मुलुकका समस्यको निकासका लागि पनि कांग्रेस सभापतिमा शेरबहादुर देउवाको चयन हुनु अत्यन्त हितकर विषय हो, समयले यसको पुष्टि गर्दै जानेछ ।

‘काखा–पाखा नगरे जित सार्थक बन्नेछ’
Gururaj-Ghimire
:: गुरुप्रसाद घिमिरे ::

प्रजातान्त्रिक दलभित्र भएको विधिसम्मत प्रक्रिया र त्यसबाट प्राप्त जित–हारलाई स्वाभाविक रूपमा लिनुपर्छ र हामीले त्यसरी नै लिएका छौँ । निर्वाचनको दौरानमा केही तलमाथि भएको छ भने त्यो विवेचना र विश्लेषणको विषय बन्न सक्ला, तर स्वस्थ प्रक्रियाबाट आएको परिणामलाई अन्यथा हिसाबले लिनुहुँदैन । शान्तिपूर्ण, मैत्रीपूर्ण ढङ्गले प्रतिस्पर्धा भएको छ र परिणाम पनि त्यसै किसिमबाट आएको छ, यसलाई मैले स्वाभाविक रूपमा लिएको छु । नेता देउवाले हासिल गर्नुभएको मतलाई अस्वाभाविक रूपमा लिनुपर्छ भन्ने म ठान्दिनँ । देउवाजी निर्वाचनबाट पार्टीको मुख्य व्यक्ति बन्नुभएको छ, स्वभावत: यसपछि उहाँको जिम्मेवारी पनि हलक्कै चुलिएको छ । तर, निर्वाचनबाट सभापतिको जिम्मेवारी हासिल गर्नुलाई मात्र सम्पूर्ण हिसाबले सफलता मान्न मिल्दैन । आगामी चार वर्ष सभापतिका रूपमा उहाँले कसरी गुजार्नुहुन्छ, पार्टीलाई कुन दिशामा लैजानुहुन्छ, पार्टीभित्रका सबै नेता–कार्यकर्ता र सबै विचारलाई समेटेर काखा–पाखा नगरी उहाँले नेतृत्व प्रदान गर्न सक्नुहोला कि नहोला, यस्ता सवालभित्र देउवाजीको जितको सार्थकता या निरर्थकता लुकेको छ ।

पराजित व्यक्तिलाई अपहेलना गर्ने छुट उहाँलाई छैन भने विजयी सभापतिलाई असहयोग गर्ने, व्यवधान पुर्‍याउने कार्य पनि कतैबाट हुनुहुँदैन भन्ने मान्यता म राख्दछु । यसर्थमा उहाँलाई हामी सबैको सहयोग रहनेछ, यसकै जगमा पार्टीलाई थप उचाइमा लैजान गतिशील नेतृत्व नयाँ सभापतिले दिन सक्नुपर्छ । जहाँसम्म कांग्रेसमा रहेको चालीस–साठीको अंशियारीको कुरा थियो, त्यसको अब अन्त्य भयो भन्ने हामीले ठानेका छौँ । प्रतिशतको आधारमा हामी अब पार्टीमा भागबन्डा खोज्नेछैनौँ । यस किसिमको व्यवहार सभापतिले पनि प्रदर्शन गर्नुपर्छ र गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ । यदि पराजित पक्षलाई पेलेर जाने, सहयोग नलिने खालको अप्रजातान्त्रिक अभ्यास कतैबाट भयो भनेचाहिँ हामी मूकदर्शक बनेर रहन किमार्थ सक्दैनौँ, प्रतिवाद गर्नेछौँ ।