पुनर्उत्थानको सङ्घारमा नेपाली कांग्रेस

पुनर्उत्थानको सङ्घारमा नेपाली कांग्रेस


SN-Karki, Shwoyembhunath
:: स्वयम्भूनाथ कार्की ::

पहिलो पुस्ता भनिने नेताहरू रहुन्जेल नेपाली कांग्रेसमा कुनै विकल्प पैदा हुन सकेन । शेरबहादुर देउवाले बारम्बार चुनौती दिई नै रहे तैपनि हरेकपल्ट असफल नै भए । पहिलो पुस्तामा अन्तिम नेतृत्व गर्ने सुशील कोइरालाको योग्यताबारे आउने दिनहरूमा विवेचन हुँदै गर्ला । तर, उनको सबैभन्दा ठूलो उपलब्धि भनेर देखाइने गरेको संविधानको घोषणा नै पनि सुखदभन्दा दु:खद् थियो । यो कुरा त्यही संविधानअनुसार पद छोड्नुपर्ने बेलामा पनि उनैको नेतृत्वको सरकारले संशोधनको प्रस्ताव राखेर जानुले प्रमाणित गर्छ ।

भन्नलाई पहिलो पुस्ता भने पनि गिरिजाप्रसादको हातमा नेतृत्व परेपछि नेपाली कांग्रेस एक समूहको नियन्त्रणमा रह्यो । साधारणतया आफूलाई संस्थापन पक्ष भन्न रुचाउने यो समूहले अरू कामभन्दा कांग्रेसमा आस्था राख्ने जनताको विधाता हुने कोसिसमा नै समय बितायो । गणेशमानजी र किशुनजी संस्थापक नेता थिए । गिरिजाप्रसाद कोइराला संस्थापक नेता होइनन् यस्तो अवस्थामा संस्थापकहरूलाई हटाएर बनेको यो समूह संस्थापन पक्ष कसरी हुन सक्थ्यो ? यो कुरा भने कसैले सोच्न आवश्यक ठानेन ।

गिरिजाप्रसादलाई लौहपुरुष मानिएका गणेशमानजीलाई पाखा लगाउन कुनै परिश्रम नै परेन । बीपीकोसहयोगी किशुनजी पनि आफ्नो योग्यता र क्षमता भए पनि सहजै भनेजस्तो पाखा लागे । नेपाली कांग्रेसबाट निष्काशित भएपछि शेरबहादुर देउवाले खोलेको दललाई किशुनजीको साथ होला कि भन्ने सोचिएको थियो । तर, उनले किशुनजीको सहानुभूति त पाए साथ भने पाएनन् । देउवाले पार्टी फुटाएका थिएनन्, निष्कासनपछि अर्को गठन गरेका थिए । त्यसैले पछि साठी–चालीसको सूत्र बनाएर पार्टी एकीकरण गर्न न गिरिजाबाबुलाई आपत्ति रह्यो न देउवालाई नै ।

निष्कासित देउवा चालीस प्रतिशतको हिस्सेदारी लिएर माउ पार्टीमा विलय भएका थिए । नेपाली कांग्रेसभित्र जो काम लौहपुरुषले गर्न सकेनन्, सन्तनेताले गर्न सकेनन् त्यो देउवाले गरेर देखाइदिए । त्यसैले यो गुटबाजी संस्थापन र संस्थापकहरूको भएन शुद्ध हिस्सेदारीको भयो । यसको अर्थ गणेशमानजी र किशुनजीमा यसो गर्न सक्ने क्षमता थिएन भन्ने अर्थ लगाइनुहुँदैन । चाहेका भए उनीहरूले पार्टी फुटाएर आपैँm मूलधार हुन सक्ने थिए । उनीहरू आफ्नो उपेक्षाको तीतो पिउन तयार भए, तर आफूहरूले नै जन्माएको पार्टी चोइटिएको हेर्न तयार भएनन् । यो थियो संस्थापकको माया र वात्सल्य ।

गिरिजा र संस्थापन पक्ष भनिएको गिरिजापथ लामो समयसम्म आफूले बीपी विचार अपनाएको भ्रम दिन सफल भयो । विचार र सिद्धान्तको निमित्त आफूलाई नेपाली कांग्रेसमा समर्पित गरेका कैयौँ व्यक्तित्व त्यहाँ निसास्सिन पुगे । सिद्धान्तको निमित्त भनेर सातसाले क्रान्तिका कमाण्डर मातृकाबाबुलाई कांग्रेसबाट हटाउन बीपीलाई भ्रातृमोह भएन । तर, गिरिजाबाबुले सम्पूर्ण पार्टी नै आफ्नाहरू निमित्त प्रयोग गरे । आफ्नो र उनले मानेका आफ्नाको हितको निमित्त पार्टीको प्रतिष्ठाको चिन्ता गरेन । नेपाली राजनीतिमा अहिलेको दुर्दशाको बिउ भनेको नै उनैको कारणले पैदा भएको छत्तीसे र चौहत्तरे विवाद हो ।

तेस्रोपटकमा देउवालाई संस्थापन पक्षको भ्रम तोड्न सफलता मिलेको छ । यो संयोग नै मान्नुपर्छ कि यसपटक उनले करिब साठी प्रतिशत मत पाएका छन् पौडेलले पाएको मतलाई करिब चालीस प्रतिशतमा सीमित गर्दै । साठी चालीसको स्थान उल्टेका छ । अब हेर्न लायक कुरा यो छ कि बीपी विचारको भाँडोबाट त्यो फ्याँकेर हालिएको जीपी पथ कायम राख्छन् कि उपाचार गर्छन् ? जीपी पथको राप र तापले कांग्रेस छोड्न बाध्य भएकाहरूलाई ससम्मान फिर्ता ल्याउन देउवा सफल भए त्यो कांग्रेसको पुनरउत्थान हुनेछ ।

आफ्नाको घेरामा राख्दा गिरिजाबाबुले के–के उपद्रो गरे ? त्यसले कस–कसलाई कति–कति पोल्यो भन्ने कुरा देउवालाई कसैले बताउन पर्दैन । देउवा आपैँm यो रापले झण्डै समाप्त भएका नेता हुन् । यसपटक कांग्रेसजनले आफूलाई बीपी विचारको नाममा त्यसको विपरीत जीपी विचारले शोषण गरिएको महसुस गरेका हुन् । महाधिवेशन प्रतिनिधिहरूले पाएको मौकामा सार्वजनिक गरेको भावनामा पनि नेपाली कांग्रेसको शुद्धीकरण आफूहरूको सपना भएको कुरा व्यक्त गरेका छन् । देउवाको यो जितको कुनै अर्थ हुँदैन यदि उनले पनि नेपाली कांग्रेसलाई गिरिजाबाबुकै ढर्रामा चलाए भने ।

नेपाली कांग्रेसले यो शुद्धीकरणको मौका पाएको छ । ‘छत्तीसे र चौहत्तरे’ प्रकरणदेखि सुरु भएको नेपाली कांग्रेसको क्षयीकरण रोकेर पुनरउत्थान अब पनि हुन नसके इतिहासको पानामा मात्र समेटिन सक्छ । अझै नेपाली कांग्रेस यति असरदार छ भनेर चित्त बुझाउनु आत्मघाती हो । कुरो केवल यो हो कि के कांग्रेसको जुन प्रतिष्ठा प्रतिबन्धित कालमा थियो त्योभन्दा बढेको छ कि घटेको छ ? यो कुरा सत्ता र शक्तिको बेला खोलसरह प्राप्त भएका कुराहरू खोलेर मूल्याङ्कन गर्नुपर्छ । के देउवा यसमा सफल होलान् ?