सकिएकै हुन् त रामचन्द्र ?

सकिएकै हुन् त रामचन्द्र ?


ramchandra-paudel
रामचन्द्र पौडेल नेपाली कांग्रेसका परिपक्व, चिन्तनशील एवम् निष्ठावान् नेता हुनुहुन्छ भन्ने आमकांग्रेसजनको धारणा हो र अहिलेसम्मको कांग्रेसमा उहाँको अपरिहार्यता स्वीकार गरिएको छ । कांग्रेसमा पुरानो सत्ताको विकल्प खोज्ने चाहना प्रबल भएको र शेरबहादुर देउवाका पक्षमा वातावरण बन्दै गएको अवस्थामा पनि पौडेलले जुन मत (१२९६) प्राप्त गर्नुभयो, यसले कांग्रेसमा उहाँको माग निकै बलियो छ भन्ने सङ्केत गर्दछ । तर, भोलिको कांग्रेसमा रामचन्द्र पौडेलको माग र स्थान कस्तो रहला भन्ने प्रश्नमा चर्चा गर्नु यहाँ वाञ्छनीय ठानिएको छ ।

शेरबहादुर देउवाले प्राप्त गर्नुभएको मताधार गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले तयार पार्नुभएको हो । त्यस मताधारमा टेकेर देउवाले कोइरालाहरूसँग लड्ने हिम्मत जुटाउनुभयो र अन्तत: (तेस्रोपटकमा) विजय पनि प्राप्त गर्नुभयो । दुई दशकको अन्तरालमा देउवाले गणेशमान–भट्टराई पक्षधरहरूको मतमा आफ्नो एकलौटी स्वामित्व कायम गर्नुभयो र सबै कांग्रेसजनको विश्वास आर्जन गर्ने प्रयासमा पनि उहाँ धेरै हदसम्म सफल हुनुभयो । कांग्रेसमा कुनै समय गिरिजाप्रसादको झैँ अहिले शेरबहादुर देउवाको बलियो पकड कायम भएको छ । तर, रामचन्द्र पौडेलले प्राप्त गर्नुभएको १२९६ मतमध्ये कति उहाँको हो र कति अरूको भन्ने स्पष्ट हुन बाँकी नै छ ।

कोइरालाहरूले पौडेललाई प्राप्त सम्पूर्ण मतको स्वामित्व आफैँले लिन चाहेका छन्, उनीहरू पौडेलको बेग्लै मताधार भएको सुन्न, विश्वास गर्न र मान्न तयार छैनन् । स्वयम् रामचन्द्र पौडेलले पनि कम्तीमा दुई दशकदेखि सम्पूर्ण रूपले कोइरालालाई सहयोग पुयाउँदै आउनुभएको हो । त्यसरी कोइरालाहरूको सहयोगी रहँदै जाँदा कालान्तरमा उनीहरूको ‘पुँजी’को मालिक आफैँ बन्न पाउने आशा र विश्वास पौडेलमा अवश्य थियो । त्यसैले यस अवधिमा कोइरालाहरूको अपमान र उपेक्षालाई सहेर बस्न उहाँ बाध्य हुनुभयो ।

त्यसरी अपमानित भएर बस्नुको पछिल्तिर एउटै कारण थियो– कोइरालाले सङ्ग्रह गरेको मतको स्वामी बन्न पाइने विश्वास । सुशील कोइराला नै जीवित रहनुभएको भए उहाँ अर्को एक कार्यकालका लागि सभापति बन्न अग्रसर बन्नुहुने निश्चित थियो । सुशील कोइराला चुनाव लडेर पुन: सभापति बन्ने, डा. शशाङ्क कोइरालालाई कार्यवाहक सभापति बनाउने र चौधौँ महाधिवेशनमा शशाङ्क कोइराला आफैँ उम्मेदवार बनेर सभापतिको जिम्मेवारी लिने भन्ने कोइरालाहरूको योजना हो । सुशीलको निधनले योजना बिथोलियो र रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेदवार बनाउनुपर्ने बाध्यात्मक अवस्था बन्यो । तथापि यो बाध्यता स्थायी प्रकृतिको भने छैन, यो तेह्रौँ महाधिवेशनको मात्र बाध्यता हो, चौधौँमा डा. शशाङ्क कोइराला सभापतिको उम्मेदवार बन्ने निश्चितप्राय: छ, कोइरालाहरूले अर्को एक मौका पौडेललाई दिने विश्वास गर्न सकिँदैन ।

चौधौँ महाधिवेशनमा गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाएर डा. शशाङ्कले सभापति बन्ने अग्रसरता लिन सक्ने प्रबल सम्भावना छ । महामन्त्री पदमा डा. शशाङ्क कोइराला पराजित भएको अवस्थामा मात्र रामचन्द्र पौडेलले आफ्नो अस्तित्व रक्षाको अवसर पाउने हो, विजयी बनेको यस अवस्थामा एउटा शक्तिकेन्द्र बनेर डा. शशाङ्क कोइराला स्वयम् स्थापित हुनेमा शङ्का गर्नुपर्ने छैन । एउटा धु्रवको नेतृत्व डा. कोइरालाले लिँदै गर्नु हुँदा रामचन्द्र पौडेलचाहिँ कहाँनेर अटाउनुहुन्छ यो विचारणीय प्रश्न छ । डा. शशाङ्क कोइरालालाई अगाडि लगाएर हिँड्ने या शेरबहादुर देउवालाई भन्ने प्रश्नको वरिपरि रामचन्द्र पौडेल घुमिरहनुपर्ने सम्भावना देखिएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस पार्टीमा ठूलो लगानी गर्नुहुने नेता पौडेलले हाल प्राप्त गर्नुभएको मतको चालीस प्रतिशत मात्र स्वामित्व कायम गर्न सक्नुभयो भने उहाँले आफ्नो राजनीतिक भविष्य केही हदसम्म जोगाउन सक्नुहोला, होइन भने सम्मान पाउने, तर पदीय जिम्मेवारी पाउन नसक्ने नेता भएर उहाँले बाँकी जीवन गुजार्नुपर्ने अवस्था छ ।

शेरबहादुर देउवा कोइरालाहरूसँग लड्न मैदानमा उत्रँदा रामचन्द्र पौडेललाई शिखण्डी बनाइयो, तर पौडेलले आफूलाई नेता नै बनाइदिएको ठान्नुभयो र कोइराला परिवारको पुँजीलाई आफ्नै सम्पत्ति ठान्नुभयो, रामचन्द्र पौडेलले आफ्नो राजनीतिक जीवनमा पाल्नुभएको सबभन्दा ठूलो भ्रम पनि यही नै हो । कोइरालाहरू पौडेलको उच्चतम ‘उपयोग र उपभोग’ गर्न चाहन्थे, तर मुख्य नेताको रूपमा उहाँलाई स्थापित गर्न चाहँदैनथे । अब कांग्रेसभित्र एउटा धारको सम्पूर्ण नेतृत्व लिने अग्रसरता कोइराला परिवारबाट भइरहनेछ । पार्टीभित्रको सत्तापक्ष बन्नबाट वञ्चित पौडेललाई विपक्षी भूमिकाको अगुवाइ गर्नबाट समेत वञ्चित गरिने अवस्थामा उहाँको राजनीतिक भविष्य सुरक्षित रहने कल्पना गर्न सकिँदैन । परिस्थितिले रामचन्द्र पौडेललाई राजनीतिक जीवनकै सबभन्दा असहज अवस्थामा पुर्‍याइदिएको छ । त्यसैले विचार पुर्‍याएर कदम चाल्न सक्नुभएन भने विद्यमान प्रतिकूलता पौडेलका निम्ति अन्त्यको सुरुवात सिद्ध हुन सक्दछ ।