गरे त हुने रहेछ :: बबिता बस्नेत

गरे त हुने रहेछ :: बबिता बस्नेत


babita basnet 15
विगत दुई वर्षअघि भए होली आउन लागेपछि लोला हान्नेहरूबाट कसरी जोगिने भन्ने हुन्थ्यो । होलीको एक हप्ताअघिदेखि घरबाहिर निस्कँदा मनमा त्रास बोकेर निस्कनुपथ्र्यो । फर्किएपछि दिनभरिका दुर्दशाहरू सुनाउन परिवारका सदस्यहरूलाई भ्याइनभ्याई हुन्थ्यो । होलीमा लोला हान्ने कुप्रथा हेर्दा यस्तो लाग्थ्यो कि यसलाई हटाउन सकिएला र ? किशोर–किशोरीको त नाम मात्रै थियो, अधबैंसेहरू पनि हातमा लोला बोकेर कौसीमा बसेका हुन्थे । बच्चाहरूले नसिक्ने कुरै भएन । बटुवाहरू बच्चाहरूबाट जोगिनका लागि ओर्तिर–पर्तिर हेर्दै हिँड्थे, तर जोगिन गाह्रै थियो । कति मानिस होलीको लोलाबाट बच्ने हुँदा दुर्घटनामा परे । युवतीहरूलाई बाहिर निस्कनु ठूलै जोखिम मोल्नुसरह थियो ।

विगतमा होलीअघिको काठमाडौं नव्यहोरेकाहरूका लागि कथाझैँ लाग्ने यो कुरा जम्मा दुई वर्षअघिसम्म काठमाडौंमा हुने होलीमा भोगिएको वास्तविकता हो । तर, गत वर्षदेखि नेपाल प्रहरीले होलीलाई लिएर कडा नियम जारी मात्रै गरेन, लोला हान्नेहरूलाई पक्रिएर धमाधम कारबाही पनि गर्न थाल्यो । कारबाही गर्न सुरु गरेपछि होलीको दिनभन्दा अगाडि न त कसैले कौसीबाट पानी छ्यापे न त बटुवालाई लक्षित गरेर लोला नै हानियो । कारबाही गरे या कानुनको पालना गराउन चाहे हुँदो रहेछ भन्ने कुराको दृष्टान्त होली बन्न पुग्यो । पहिला–पहिला १५ दिनअघिदेखि अनेक दु:खकष्ट सहनुपर्ने होली यस वर्ष अन्य पर्वझैँ चुपचाप सोही दिन मात्र आयो । कानुन बनाएर मात्र हुँदैन त्यसको कार्यान्वयन पनि गर्नुपर्छ र गर्न चाह्यो भने हुन्छ भन्ने कुरा होलीले प्रमाणित गरिदिएको छ ।

कानुनको पालना गर्नु र गराउनुपर्ने कुरा धेरै छन् । तीमध्ये केही सवारीसाधनसँग सम्बन्धित छन् भने केही अन्य आपराधिक गतिविधिसँग सम्बन्धित । जुन कुरा चाह्यो भने नेपाल प्रहरीले मात्रै पनि गर्न सक्छ । सवारीसाधनको कुरा गर्दा काठमाडौं अब सहरमा जाम हुने विश्वका थोरै मुलुकको सूचीमा पर्‍यो भने हामीले अनौठो मान्नुपर्दैन । यसको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती ठूलो छ, तर गर्नै नसकिने भने होइन । सडकमा जेब्रा क्रसिङ बाटो हिँड्नेका लागि हो, यो कुरा बाटो काट्नेले थाहा पाइसके । एका–दुई घटना होलान्, तर धेरैजसो मानिस हिजोआज बाटो काट्दा जेब्रा क्रसिङबाटै वारि–पारि गर्छन् । तर, बाटो काट्ने मानिस जेब्रा क्रसिङमा हिँड्दै गर्दा गाडी रोक्नुपर्छ भन्ने चेतना भने गाडी चलाउनेहरूमा छैन । चेतना नभएको भन्दा पनि तिनीहरूमा अटेरीपन छ । अन्य मुलुकहरूमा बाटो काट्नका लागि प्राय: हरियो बत्ती बल्नुपर्छ । जेब्राक्रसको अर्थ बत्ती पनि हो ।

तर, सबै स्थानमा बत्ती नहुन पनि सक्छ । बत्ती नभएका ठाउँमा कोही बाटो काट्नका लागि साइडमा उभिएको मात्रै छ भने पनि गाडीहरू रोकिन्छन् । तर, हामीकहाँ भने मानिसहरू जेब्राक्रसमा हिँड्दै गर्दा कति बेला के आएर ठक्कर दिने हो थाहै हुँदैन । के वृद्धवृद्धा के बच्चा कसैले ध्यान दिएको पाइँदैन । गाडी चलाउनेहरू आफूलाई यति स्वतन्त्र ठान्छन् कि मानौँ उनीहरूले यी सब कुराहरूको पालना नै गर्नुपर्दैन । जेब्राक्रसबाट बटुवाले बाटो काट्दै गर्दा जबर्जस्ती गाडी अघि बढाउने व्यक्तिलाई तत्काल कारबाहीको व्यवस्था नगरेसम्म यो अटेरीपन हट्ने छैन । बाटोभरि छरिएर रहेका ट्राफिक प्रहरीहरूले यस्ता कुरालाई देखेको नदेख्यै गर्ने गरिएको छ । यस्ता कुरामा कारबाही अघि बढाउन थालेपछि मानिसलाई बाटो काट्न सहज हुनेछ । यो देशका सडकहरू गाडी चलाउनेका जति हुन् पैदल हिँड्नेहरूका पनि त्यति नै हुन् ।

सवारीसाधनसँग सम्बन्धित कुराहरू गाडीका स्पिडदेखि जथाभावी रोक्ने प्रवृत्ति हँुदै कोचाकोच यात्रु खाँद्नेसम्म अनेक छन । प्राइभेट गाडी चलाउनेहरूले पनि लाखौँको गाडी त किन्न सकेका छन् तर एटिच्युड बजारमा किन्न नपाइने हुँदा पैसा र प्रवृत्तिबीचको दूरी कति लामो छ भन्ने कुरा सडकमा देखिन्छ । पैसा र एटिच्युडका बीचको दूरीले हामीलाई घर बनाउनेदेखि अन्य धेरै कुराहरूमा काम गरेको छ । प्राय: कर्मचारीको बस्ती भएको ठाउँमा बडेमानका घरहरू हुन्छन् जहाँ बाटाहरू भने यति साँघुरा छन् कि ती घर र बाटाहरूबीच कुनै तालमेल नै हँुदैन । आफूलाई कत्रो बाटो चाहिन्छ भन्दा पनि सकेसम्म कसरी मिच्न पाइन्छ भन्ने सोचले गर्दा राजधानी सहरका बस्तीहरू खुम्चिएका हुन् । फेरि पनि, गरे त हुँदो नै रहेछ । विगतमा खुम्चिएका राजधानीका बाटाहरू फैलिने क्रममा छन् । आशा गरौँ अब बन्ने नयाँ बस्तीमा मानिससँगै मानिस हिँड्ने र ती मानिसले चढ्ने गाडी गुड्ने फराकिला बाटाहरू बन्नेछन् ।

बलात्कारविरुद्धको कानुन हामीकहाँ छ, बलात्कार मात्र होइन वैवाहिक बलात्कारविरुद्धको कानुन पनि छ । तर, राम्ररी कार्यान्वयन हुन नसक्दा बलात्कारका घटनाहरूमा कमी आउन सकेको छैन । यदि अपराधीलाई पक्रिएर धमाधम कारबाही गर्ने हो भने बलात्कारका घटनामा कमी आउने निश्चित नै हुने थियो भन्न सकिन्छ । सानो उदाहरण भक्तपुरको लिउँm, आफ्नी दिदीलाई बलात्कार गर्ने भाइलाई भक्तपुर जिल्ला अदालतले १६ वर्ष कैद र तीन लाख क्षतिपूर्तिको फैसला गर्‍यो । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो फैसला गरेपछि अन्य बलात्कारपीडितहरूमा पनि अब न्याय पाइन्छ भन्ने आस पलाएको देखिन्छ । एकातिर बलात्कारपीडितहरूलाई न्यायको कुरा छ भने अर्कोतिर बलात्कार अपराध हो र यस्तो अपराध गरे जेल जानुपर्छ भन्ने कुरा स्थापित पनि भयो । बलात्कारका मुद्दामा परिवारका सदस्य र आफन्तहरूबाटै पीडित बनेकाहरूको सङ्ख्या ठूलो छ । प्रहरी र न्यायालय दुवै निस्वार्थ रूपले उभिने हो भने यो मुलुकमा आपराधिक क्रियाकलापमा स्वत: कमी आउनेछ । यता, घरेलु हिंसाको कुरामा पनि कानुनत: कारबाही हुन सके महिला या पुरुष कोही पनि पीडित बन्नुपर्दैन ।

यी केही उदाहरण मात्र हुन् । भ्रष्टाचारविरुद्धका कानुनी कारबाहीदेखि अन्य धेरै कुरामा हामी ससाना उदाहरणीय कुराहरूलाई दृष्टान्त मानेर अघि बढ्न सक्छौँ । यो संसारमा गरेर नहुने केही पनि छैन । नेपाल देश यही संसारभित्रको मानचित्रमा छ । हामी प्राय: हरेक कुरामा अन्य देशको उदाहरण दिन्छौँ जुन देशहरू त्यहीँका मानिसहरूले बनाएका हुन् । त्यहीँको कानुनले बाँधेर अनुशासित बनाएको हो । व्यक्तिगत जीवनमा होस् या मुलुकको बारेमा अनुशासनसँगै सभ्यताले पनि ठूलो महत्त्व राख्छ । सभ्यता र एटिच्युड किन्न त पाइँदैन, तर सिक्न सकिने कुरा हो । गरे नहुने केही छैन ।