आत्मानुभूति नै ईश्वरानुभूति

आत्मानुभूति नै ईश्वरानुभूति


Kishor Silwal-
– किशोर सिलवाल

आध्यात्मिक र मस्तिष्क भौतिक दुवै पक्षलाई सन्तुलन गरे मानव–जीवन सार्थक, सफल र समृद्ध हुन्छ, अन्यथा भौतिक सुख–सुविधा या साधनले जति विकास गरे पनि मानिस झन्झन् दु:खी, अशान्त र अतृप्त हुन पुग्छ । आज यस्तै हुनुको पछाडि आस्तिक ज्ञानको अभाव अर्थात् आफू (आत्मा)लाई नचिन्नु या श्रद्धा नगर्नु नै कारक हो ।

आत्मा भन्नु नै परमात्मा हो भनी स्पष्ट पार्नका लागि परमात्मालाई अग्निपुञ्ज र जीवात्मालाई अग्निको झिल्कोको रूपमा लिन सकिन्छ । समुद्र भन्नु नै एक थोपा पानी हो र एक थोपा पानी समुद्र हो, जसबाट एक थोपा पानी झिकिदियो भने समुद्रको अस्तित्व नै रहँदैन भने तापनि पानीको गुुणको अस्तित्वचाहिँ मेटिँदैन । भन्नुको तात्पर्य आत्मा भन्नु नै परमात्मा हो र आत्मालाई हटाइदिने हो भने परमात्माको अस्तित्व नै रहँदैन । त्यसैले वेदमा अहम् ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हुँ भनी आत्मदर्शन गराउन खोजिएको कारणले आफनो सच्चा स्वरूपको पहिचान गरेमा मात्र आत्मानुभूति वा ईश्वरानुभूति हुनेरहेछ ।

आत्माको बोध हुनु नै परमात्माको बोध हुनु हो भन्ने कुरा हामीले राम्ररी बुझेर परमात्मालाई खोज्नेतिर, जान्नेतिर नलागेर आफैँलाई खोज्ने, बुझ्ने र जान्नेतिर लाग्नुपर्ने रहेछ । आफूलाई स्वीकार्नु, श्रद्धा गर्नु नै परमात्मालाई स्वीकार्नु र श्रद्धा गर्नु रहेछ । यसै कुराको ज्ञान हुनुलाई नै आत्मानुभूतिको ज्ञान भएको मानिन्छ र यो भनेकै चारित्रिक चेतनाको ज्ञान हुनु पनि हो । भौतिक सम्पत्ति आर्जन गर्नु क्रिया हो भने क्रियापश्चात् प्रतिक्रिया हुनु स्वाभाविक सिद्धान्त हो । यी दुवैको सन्तुलन मिल्नुपर्दछ, अर्थात् सन्तुलन मिलेन भने सर्वनाश हुन्छ, सन्तुलन मिल्यो भने सर्वगुणसम्पन्न हुन पुग्दछ । यो सन्तुलन मिलाउने प्रक्रियालाई आत्मानुभूतिको माध्यमले गराउँछ, जसलाई सन्तुलन–शक्ति तथा नियमनशक्तिको रूपमा पनि लिन सकिन्छ ।

मानिसको जीवनलाई दुर्लभ र महान् मान्नुको कारण उसमा भएको असीम बुद्धि र विवेकशक्ति नै हो । यसलाई प्रयोग गरी जति हामी आफूउपर श्रद्धा, प्रेम, आदर, सत्कार, आस्था, निष्ठा र विश्वास बढ्छ भने हामी आत्मदर्शनतिर उन्मुख भएछ भन्ने बोध गराउँछ । यही आत्मदर्शन, आत्मसम्मान र आत्मज्ञान हुनु भनेकै आत्मानुभूति वा ईश्वरदर्शन हुनु हो र यसैलाई चरित्रसँग पनि जोडेको छ ।

ब्रह्मबाट उत्पत्ति भएको यो विश्व ब्रह्माण्डलाई पनि क्रमश: समेट्दै आफैँमा (आत्मामा) लीन गराउने अर्थात् ब्रह्मको विस्तारलाई समेट्दै ब्रह्ममै लीन गराउने प्रक्रिया जान्नु नै आत्मानुभूति वा ईश्वरानुभूति हो अर्थात् चरित्र निर्माण भनेको पनि यही आत्मानुभूति हो ।
आत्मा भनेको निराकार ब्रह्म अर्थात् चेतनशक्ति हो । यही चेतनशक्तिबाट स्वत: प्राकृतिक शक्तिको उत्पत्ति हुन्छ, अर्थात् यो प्राकृतिक शक्ति नै ब्रह्म वा आत्माको शक्ति हो । यही प्रकृतिभित्र महत्त्व वा बुद्धितत्त्व समष्टि रूपमा रहेको हुन्छ र यसैबाट अहंकार पैदा हुन्छ । यो समष्टि रूपको अहंकार भनेको सत्व, रज र तम गुणहरूको सन्तुलित अवस्था हो ।

मानवको स्थूल शरीर (ज्ञानेन्द्रिय, कर्मेन्द्रीय र अन्त:स्करणमा मन, बुद्धि, चित्त र अहंकार), सूक्ष्म शरीर र कारण शरीरहरूले निर्मित भएको भौतिक शरीर ब्रह्मको विस्तार र मूलस्वरूप नै ‘ब्रह्म’ हो । यसरी व्यष्टि–समष्टि, सूक्ष्म–स्थूल, अंशी–अंश, अङ्गी–अङ्ग, परमात्मा–जीवात्मा र अखण्ड–खण्ड जेसुकै नाम राखिए तापनि यो सृष्टिकालको विस्तार शक्ति र करुणाको योगशक्तिवाट प्रतिपल सञ्चालित भइरहेको छ । तसर्थ ब्रह्मको अंशको रूपमा रहेको व्यक्तिले आफ्नो अस्तित्वलाई चिनेर, बुझेर र जानेर अनुभूति गर्नु र्न आत्मानुभूति वा ईश्वरानुभूति हुनु हो ।

अन्त्यमा, यसरी भौतिक र आध्यात्मिक ज्ञानको सन्तुलन भएमा, आत्मदर्शन भएमा, आत्माको बोध भएमा, मानवको बुद्धि र विवेकशक्तिलाई सदुपयोग गर्नाले, मानवको सृष्टि–विज्ञानको विस्तार गरी आफैँमा लीन गराउने आदि कुराहरू विभिन्न दृष्टिकोणबाट ज्ञान होस् भनी बुझाउन खोजिएको, यो जीवात्माको आत्मा नै परमात्मा हो र यो नै ब्रह्मको अंश रहेछ भन्ने कुरासमेत सिद्ध हुनु र मानवको आफ्नो (आत्मा)को स्वरूप जान्नु, बुझ्नु र चिन्न थाली सोहीअनुरूप व्यवहारमा पनि परिणत हुँदै जानु भनेकै आत्मदर्शनको ज्ञान हुनु हो । र, यो नै ईश्वारानुभूतिको ज्ञान हुनु हो, यसलाई चरित्र निर्माण हुनु पनि भनिएको छ । मानवमा भएको अहंकाररूपी गुण सत्व, रज र तमको सन्तुलनमा भएको घटीबढीले मानवको उत्पत्तिमा उसको बुद्धि र विवेकमा फरक देखिनुको साथसाथै विश्वका हरेक मुलुकहरूले आ–आफ्नै किसिमले विकास गर्दै गएको कुराको पुष्टि सत्यसावित हुन जान्छ । यसमा कसैको केही लाग्दैन, कारण– यो ब्रह्मको सृष्टि–विज्ञान वा कलाको सिद्धान्त यसैलाई भनिन्छ ।

[email protected]