दौरा–सुरुवालमा शक्ति :: बबिता बस्नेत ::

दौरा–सुरुवालमा शक्ति :: बबिता बस्नेत ::


babita basnet 15

‘दौरा–सुरुवालमा शक्ति भएको हो कि शक्तिलाई दौरा–सुरुवालले सुहाएको हो ?’ गृहमन्त्री शक्तिबहादुर बस्नेतले औपचारिक कार्यक्रममा सधैँ लाउने गरेको पोशाक दौरा–सुरुवाललाई लिएर मानिसहरू चर्चा गर्न थालेका छन् । माओवादी नेताहरू मन्त्री त के प्रधानमन्त्री हुँदा पनि राष्ट्रिय पोशाक दौरा–सुरुवाल नलगाएको पृष्ठभूमिमा अहिले एनेकपा माओवादी नेता शक्ति बस्नेतले गृहमन्त्री भएदेखि नै गाउँ, सहर, पहाड, तराई जहाँ जाँदा पनि औपचारिक कार्यक्रममा दौरा–सुरुवाल लगाएको कुराले निकै महत्त्वका साथ चर्चा पाउने गरेको छ । त्यसो त, अहिलेका मन्त्रीहरू धेरैले दौरा–सुरुवाल लाउने गरेका छन् । नेकपा एमाले सरकारमा गएपछि आफ्नो दलसम्बद्ध मन्त्रीहरूका लागि राष्ट्रिय पोशाक अनिवार्य गरेको कुरा सार्वजनिक रूपमै बाहिर आएको हो । अन्य मन्त्रीहरूको भन्दा गृहमन्त्रीको पोशाक अनपेक्षित भएका कारणले पनि चर्चामा आएको हुन सक्छ । माओवादीहरूले त्यसरी आफ्नो ‘स्टेटस मेन्टेन’ गर्लान् भन्ने शायदै सोचिएको थियो । सार्वजनिक जीवन र त्यसमा पनि उच्च पदमा पुगेका मानिसका लागि उनीहरूले गरेको कामसँगै बोलीचाली, व्यवहार र पहिरनले पनि त्यत्तिकै माने राख्छ । लोकतन्त्र आएपछि गायव भएको दौरा–सुरुवालको पुनरागमनलाई अहिले सम्मानित नजरले हेर्ने गरिएको छ । यद्यपि नेपालको नयाँ संविधानमुताबिक दौरा–सुरुवाल र सारी–चोलो तोकिएका राष्ट्रिय पोशाक भने होइनन् । तर, नेपाल हिन्दूराज्य नभए पनि हरेक शुभकार्यमा घडा या पानसमा बत्ती बालिएझैँ दौरा–सुरुवाल र सारी–चोलोले पनि राष्ट्रिय पोशाककै रूपमा निरन्तरता पाएका छन्, पाइरहने सम्भावना पनि त्यत्तिकै देखिएको छ ।

राष्ट्रिय पोशाक कुनै पनि राष्ट्रको पहिचान र गौरव हो, राष्ट्रलाई माया गर्नेहरू राष्ट्रिय पोशाक, गान, झण्डा, भाषालगायतका राष्ट्रियतासँग जोडिएका कुराहरूलाई सम्मान गर्छन् । विभिन्न मुलुकमा प्राय: महिला र पुरुषका लागि आफ्नै प्रकारको राष्ट्रिय पोशाक तोकिएको हुन्छ जसले उक्त देशको राष्ट्रिय पहिचानलाई इङ्गित गर्छ । महासभा चलिरहेको बेला संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्क पुगियो भने विभिन्न रङ र अनेक ढङ्गका पोशाक लगाएका मानिस भेटिन्छन्, देखिन्छन् । सबैलाई उस्तै अनुभूति दिने मौसममा कसैले पातला पिलपिल परेका लुगा लगाइरहेका हुन्छन् त कसैले बाक्ला न बाक्ला हेर्दै उकुसमुकुस हुने प्रकारका, कतिले टाउकोमा अनेक आकारप्रकारका फेटाजस्ता तर अरू नै केही गुथिरहेका देखिन्छन् त कतिचाहिँ पुरुषहरूले पनि टाउको छोपेका (महिलाले टाउको छोप्ने चलन धेरै ठाउँमा छ) र पाइतालासम्म पुग्ने लामा गाउनजस्तै पोशाक लगाएका । विभिन्न देशका मानिस र तिनले लगाएका राष्ट्रिय पोशाकहरूको रमिता नै हुन्छ त्यहाँ । कतिले दौरा–सुरुवाल र सारी–चोली या भनौँ हाम्रो राष्ट्रिय पोशाकलाई राजतन्त्रसँग जोडेर पनि हेर्ने गरेका छन्, तर नेपालको राष्ट्रिय पोशाक, झण्डाजस्ता कुराहरू राजाहरूको पालामा परिकल्पना गरिए पनि ती राजतन्त्रका होइनन् नेपाल देशका पहिचान हुन् । औपचारिक कार्यक्रमका लागि देशको राष्ट्रिय पोशाक लगाउनु गौरवको कुरा हो । तर, हामीकहाँ माओवादी राजनीतिको मूल प्रवाहमा आएपछि यसप्रकारका गौरवहरूलाई मेटाउँदै हरेक कुरालाई ‘राष्ट्रिय’का ठाउँमा ‘जातीय’ बनाउने कोसिस गरियो । राष्ट्रिय पहिचानका ठाउँमा जातीय पहिचानलाई महत्त्व दिँदै गर्दा माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन नेता बाबुरामहरूको आफ्नै पहिचान भने न हाँसको चाल न बकुल्लाको हुने अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरूको मात्र होइन, सार्वजनिक जीवनमा भएकाहरू प्राय: सबैले ठाउँअनुसारको आफ्नो पहिरनमा ध्यान दिने गर्छन् । ध्यान नदिनेहरूले अनेक आलोचना पनि खप्नुपरेका दृष्टान्तहरू हामीसामु छन् । सुरुमा माओवादीहरू सार्वजनिक हुँदा नेता प्रचण्डको आसिकी कपाल, आकर्षक जुँगा र खैरो सर्टको खुब चर्चा भयो । तर, आफ्ना बाबुको मृत्युमा कोट–पाइन्ट र छालाको जुत्तामा सजिएर उहाँले गर्नुभएको लालसलामको निकै आलोचना भयो । कारण, ठाउँअनुसार पहिरनको व्यवस्थापन गर्न नसक्नु नै हो भन्न सकिन्छ । सहजताकै कुरा गर्ने हो भने बच्चैदेखि लगाएकाले सोनिया गान्धीलाई स्कर्ट या सर्ट पाइन्ट नै सजिलो लाग्दो हो, तर उनले सारीबाहेक अरू पोशाक लगाएको देखिँदैन । सार्वजनिक जीवन, त्यसमा पनि नेता या नेतृका लागि काम, व्यवहार, नीतिहरूको कार्यान्वयनसँगै आफ्नो ‘आउट लुक’मा पनि त्यत्तिकै ध्यान दिनुपर्ने रहेछ, ध्यान दिएको पाइन्छ पनि ।

पहिरनले मानिसको व्यक्तित्व मात्र होइन, आत्मविश्वास पनि बढाउँछ भनिन्छ । विश्वको राजनीतिक वृत्तमा कैयौँ पुरुष–महिला आफ्नो पालामा फेसनको मामिलामा पनि त्यत्तिकै चर्चामा आएका थिए । अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगन यति ‘टिपटप’ भएर हिँड्थे रे कि कामभन्दा बढी मानिस उनको पहिरनको चर्चा गर्थे रे । इन्दिरा गान्धीको सिउँदोनेर फुलेको कपाल, सारी र जुत्ताको नक्कल अहिले पनि भारतमा हुने गर्छ । मार्गरेट थ्याचरले लगाउने लुगा, गहना, बोक्ने ब्याग र जुत्ताको चर्चा पनि एकपल्ट खुब हुने गथ्र्यो । लेडी डायनाको त झन् कुरै भएन । कन्डोलिजा राइसको फेसनबारे लेखेर अमेरिकी फेसन स्तम्भकार तथा फोटो पत्रकार रोविन जिभानले सन् २००६ मा पुलित्जर अवार्ड नै प्राप्त गरे । राजनीतिक वृत्तका व्यक्तिहरू तथा अन्य सार्वजनिक व्यक्तित्वका फेसनबारे लेख्ने रोविनले त्यतिबेला भनेका थिए, ‘स्यालुट खानुपर्ने व्यक्तित्वहरूको ड्रेस अप पनि स्यालुट गर्नुपर्ने खालको हुन आवश्यक छ । मिलाएर कपडा लगाउने, जुत्ता वा गहनाहरूको प्रयोग गर्नेहरूलाई हेर्ने मानिसको दृष्टिकोण नै फरक हुन्छ । कन्डोलिजा राइसलाई देख्नासाथ सुरक्षाकर्मीहरू मात्र होइन अन्य मानिसहरू पनि जर्‍याकजुरुक उठ्नुमा ‘पावर’सँगै उनको ड्रेसअप पनि हो ।’

हाम्रो मुलुकमा लोकतन्त्रपछि मनपरीतन्त्र खुब हावी भयो । कुनै बेला राष्ट्रिय पोशाकको मर्यादा प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले मात्रै धानेको पनि देखिएको थियो । उहाँको मन्त्रिमण्डलका मन्त्रीहरू ‘इच्छा पोशाक’ लगाएर हिँड्थे । जसका कारण कतिपय मन्त्रीज्यूहरूलाई मन्त्रालयका पाले र कर्मचारीले मन्त्रीको गाडीबाट ओर्लिएको आधारमा चिन्नुपर्ने अवस्था थियो । अहिलेका धेरै मन्त्रीहरूले राष्ट्रिय पोशाक लगाएर आफ्नो पद र हैसियतको गरिमा राखेको देखिएको छ । यस्ता कुराले पदको मर्यादासँगै शक्ति र आत्मविश्वास पनि बढाउँछ । त्यसैले भन्न सकिन्छ, गृहमन्त्री शक्ति बस्नेतलाई राष्ट्रिय पोशाकले सुहाएको मात्र होइन, राष्ट्रिय पोशाकमा शक्ति पनि छ ।
शक्ति बस्नेत