राष्ट्रले गुमायो एक सच्चा उद्यमी

राष्ट्रले गुमायो एक सच्चा उद्यमी


report.pmd
तीन वर्षअघि, उहाँको मैतीदेवीस्थित निवासस्थानमा हामी गफिँदै थियौँ, अचानक गफको विषय दीनदशातर्फ मोडियो । काममा अड्चन पैदा हुने गरेको, मित्रहरूको व्यवहार पनि परायाको जस्तै हुन थालेको र आम्दानीमा ह्रास आइरहेकोजस्ता व्यहोरा उहाँको मुखबाट सुनेपछि मैले भनेँ, ‘हजुरको र मेरो राशि एउटै हो, हामीलाई अहिले शनिको साढे सात चलिरहेको छ । हाम्रो कुनै काम यस अवधिमा बन्नेछैनन् । नयाँ योजना र कार्यक्रम नबनाऊँ, साढे सात वर्षको दशा सकिएपछि मात्रै हामीहरूको राम्रो होला, अहिलेचाहिँ जसरी भए पनि यो समय काट्ने सोच बनाऊँ, त्यसपछि हाम्रो राम्रो समय आउँछ ।’

मेरो कुरा सुनेर खुब हाँस्नुभयो र उहाँले आफ्नो मौलिक शैलीमा भन्नुभयो, ‘हो–हो काटौँ–काटौँ यो साढे सातको दशा नकाटेसम्म हम्रो काम होला जस्तो भएन, यो समय काट्नैपर्छ ।’ उहाँ अर्थात् ख्यातिप्राप्त उद्यमी एवम् हाम्रा हितैषी नूरप्रताप जंगबहादुर राणाले यसरी खराब समय जसरी भए पनि काट्नुपर्ने त बताउनुभएको थियो, तर निष्ठुरी समयले नै उहाँलाई काट्यो । यस धर्तीबाट एउटा कर्मवीर सदाका निम्ति चुँडिएका छन् । यो दु:खद् घटनाले राणालाई जान्ने–बुझ्ने सबैको मन कुँड्याएको छ ।

नूरप्रताप राणा, श्री ३ महाराज जङ्गबहादुर राणाका वंशज भएकोमा गौरव महसुस गर्नुहुन्थ्यो । जंगबहादुरको योगदानको निष्पक्ष मूल्याङ्कन गरी उहाँलाई उच्चकोटिको राष्ट्रिय विभूतिको दर्जा दिइनुपर्छ भन्ने मान्यता राख्ने म र वंशज भएकोमा स्वाभाविक गौरव महसुस गर्ने नूरप्रताप राणा, हामीबीच जंगबहादुरको विषयलाई लिएर कैयनपटक छलफल भएका छन् । जंगबहादुर राणामाथि नेपालको इतिहासले अन्याय गरेको निष्कर्ष हामी दुवैको थियो । त्यसैले जंगबहादुर राणालाई न्याय दिलाउन केही न केही गर्नुपर्छ भन्नेमा हामी एकमत थियौँ । त्यस्तै छलफल चल्दै गर्दा मेरा प्रिय मित्र पत्रकार एवम् सामाजिक जागरणका अभियन्ता मुक्ति भुसालजीले जंगबहादुर राणाको अर्घाखाँचीस्थित पुख्र्यौली घर उपेक्षित र जीर्ण हुँदै गएको विषयमा सामग्री यसै साप्ताहिक घटना र विचारमार्फत सार्वजनिक गर्नुभएको थियो ।
उक्त ‘रिपोर्ट’ पढेपछि नूरप्रताप राणाका आँखा यसरी चम्किएका थिए कि म बाँचिञ्जेल त्यो क्षण मेरो मानसपटलबाट ओझेलिने छैन । भुसालजीको आलेख पढेपछि उहाँले भन्नुभएको थियो, ‘मुक्तीजीलाई लिएर हामी जंगबहादुर राणाजीको पुख्र्यौली घर अवलोकन गर्न जाऊँ ।’ त्यसमा मेरो असहमतिको गुञ्जाइस थिएन । तर, कार्य व्यस्तताका कारण हामीले शुभमुहूर्त जुराउन सकेनौँ ।

यतिबेला श्रीलंकाका तात्कालिक राजा रावणले प्राण त्याग गर्नुअघि अयोध्याका राजा रामका भाइ लक्ष्मणसँग भनेका कुराको स्मरण भइरहेछ । रावणले उपदेशात्मक लयमा सुझाव दिँदै लक्ष्मणसँग भनेका थिए, ‘गर्नुपर्ने भनी अठोट गरिएको काम भोलि भनी नकुर्नु तत्कालै गरिहाल्नु । मैले मकैको बोट (फूल या चमर)मा धान पनि फलाउने सोच बनाएको थिएँ र म स्वर्ग पुग्ने सिँढी तयार गर्न चाहन्थेँ, पछि गर्छु भन्दाभन्दै अब मेरो अन्तिम क्षण आइपुग्यो । त्यसैले गर्न मन लागेको काम आजै गर्नु, भोलि भनेर कहिल्यै पर नसार्नु, त्यो भोलि कहिल्यै पनि नआउन सक्छ ।’ नूरप्रताप राणा र मेरो जीवनमा रावणको त्यो उक्ति लागू भएको छ, हामीले सँगै यात्रा गर्ने र जंगबहादुरको नाममा केही गर्ने अवसर गुमाएका छौँ । नूरप्रताप भन्ने गर्नुहुन्थ्यो, ‘मर्नुभन्दा केही क्षणअघिसम्म पनि हामी सक्रिय भइरहनुपर्छ, मलाई त कुनै पनि काम आफैँ अग्रसर भएर नगरेसम्म चित्त बुझ्दैन, त्यसैले हरेक काममा आफैँ सक्रिय सहभागिता जनाउने गर्छु ।’
Noor Pratap Rana
उहाँको भनाइअनुरूपकै जिन्दगी थियो, कुमारी बैंकको संस्थापक रहनुभएका रणालाई उक्त बैंकको व्यवस्थापन गर्नेदेखि भैरहवामा खोलिएको औषधि उद्योग, जुत्ता (गोल्डस्टार) उद्योग, ग्यास उद्योग, हाइड्रोपावर सञ्चालनसम्मका काममा उहाँ आफैँ संलग्न रहनुभएको थियो । राणा आफैँ कलाकार र साहित्यकार हुनुहुन्थेन, तर कला र साहित्यको विकासका निम्ति सक्दो योगदान दिनुपर्छ भन्ने उहाँको सोच थियो । नूर–गङ्गा प्रतिष्ठान राणाको सोही चाहनाको परिणाम हो । एक समयकी चर्चित गायिका गङ्गा राणाको असामयिक निधन हुँदा देशले एक कलाकार गुमाएको थियो, नूरप्रतापले भने आफ्नी धर्मपत्नी गुमाउनुभएको थियो । दिवङ्गत पत्नीसमेतको नाममा नूर–गंगा प्रतिष्ठान स्थापना गरेर उहाँले कला र साहित्य क्षेत्रमा बेग्लै ढङ्गले योगदान पुर्‍याउने इच्छा राख्नुभएको हो ।

थोपलखोला जलविद्युत् आयोजना निर्माण र सञ्चालनको कामले नूरप्रताप राणासँग मलाई जोडेको हो । कालान्तरमा हामी व्यावसायिक साझेदारभन्दा बढी एक–अर्काका हितैषी मित्र बन्यौँ । उमेरको अन्तरका कारण मलाई उहाँ योग्य अभिभावक महसुस हुन्थ्यो, तर उहाँको सहज र सरल व्यवहारले हामीलाई मित्रवत् सम्बन्धमा कसिलो बनाएको थियो ।
गत शुक्रबार अर्थात् २०७२ चैत १२ गते सुरेन्द्र नकर्मीले नूरप्रताप राणाको निधन भएको खबर सुनाउँदा म अत्यन्त मर्माहत भएँ । केही वर्षअघि नब्बे वर्षका मेरा हजुरबुबाको दुर्घटनामा परी निधन हुँदा मलाई जसरी दु:खाएको थियो त्योभन्दा बढी मन दु:खेको महसुस नूरप्रतापको निधनले गरायो । एक कर्मवीर, क्रियाशील, देशभक्त र अथक उद्यमी नूरप्रताप राणाबाट नयाँ पुस्ताले सिक्नुपर्ने धेरै कुरा छन् । यही एउटा लेखमा राणाको वर्णन असम्भव छ । सुपुत्र एवम् युवा उद्यमी अमीरप्रताप राणामा पिताको उचाइ थप गर्नसक्ने सामथ्र्य प्राप्त होस् भन्ने कामना गर्दै नूरप्रताप राणाकी धर्मपत्नी, पुत्र अमीरसहित शोकाकूल परिवारमा समवेदना प्रकट गर्दछु । मेरा आदरणीय मित्र एवम् सफलतम् राष्ट्रिय उद्यमी तथा समाजसेवी नूरप्रताप राणाको चीर आत्मिक शान्तिको कामना गर्दछु ।

– डीपी त्रिपाठी