रामचन्द्रले अत्तो थाप्दा वाम मैदानमा प्रसन्नता

रामचन्द्रले अत्तो थाप्दा वाम मैदानमा प्रसन्नता


देउवालाई रोक्न कांग्रेसभित्रै खेल

Ramchandra & Sher bahadur

नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको मार्गमा ‘अवरोध पैदा गर्ने र भाग खोज्ने’ राजनीतिक अभ्यासको थालनी भएको छ । महाधिवेशन (तेह्रौँ) सम्म साठी र चालीस प्रतिशत भागबन्डा गर्ने परम्पराविरुद्ध बलियो आवाज उठाउँदै आउनुभएका नेता रामचन्द्र पौडेलले नै भागबन्डाको राजनीति पुनस्र्थापित गर्ने भूमिका निर्वाह गर्नुलाई पार्टीमा अस्वाभाविक र अशोभनीय मानिएको छ । सुशील कोइरालाको निधनपछि रिक्त हुन आएको संसदीय दलको नेता पद विगत डेढ महिनादेखि पूर्ति हुन नसक्दा राज्य सञ्चालन प्रक्रियामा पार्टीको भूमिका शून्यबराबर हुन पुगेको छ । संसद्को सबैभन्दा ठूलो दल जो प्रमुख प्रतिपक्षीको भूमिकामा छ, उसैले डेढ महिनादेखि दलको नेता चयन गर्न नसक्नुलाई आश्चर्यजनक मानिएको छ । यही कुरालाई दृष्टिगत गरी पार्टी सभापति शेरबहादुर देउवाले तत्काल दलको नेता चयन गर्ने तत्परता लिनुभएको हो ।

तर, रामचन्द्र पौडेल र उहाँका समर्थक केही सांसदले भने विधान संशोधन गरेर मात्र दलको नेता चयन हुनुपर्ने अत्तो थापेका छन् । स्वयम् पार्टी सभापति देउवा पनि विधान संशोधन तत्काल गर्ने पक्षमा हुनुहुन्छ र कार्यसमितिको निर्वाचन गराउनुअघि विधान संशोधन गर्नु उपयुक्त हुने भएकोले निर्वाचन समिति (रमेश रिजाल संयोजकत्वको) ले दलको नेताको चुनाव (चैत २६ गते)पछि मात्र कार्यसमितिको निर्वाचन गर्ने निर्णय लिएको छ । दलको नेताको चयन गर्न वैधानिक अड्चन नभएकोले पहिले नेताको चुनाव गराउने र त्यसपछि विधान संशोधन गरेर कार्यसमितिको निर्वाचन गराउने निर्णय निर्वाचन समितिले गरेको हो । तर, उक्त निर्णयमा समितिका एकजना सदस्यले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखे । सदस्य गुरुराज घिमिरेले त्यसरी ‘नोट अफ डिसेन्ट’ लेखेकै भोलिपल्ट नेता रामचन्द्र पौडेलले आफ्नो निवासस्थानमा केही समर्थक सांसद तथा केन्द्रीय सदस्यहरूको भेला राखी सभापति देउवामाथि दबाब सिर्जना गर्ने प्रयास गर्नुभएको छ ।

पौडेललगायत भिन्न परिचय बोकेका सबैलाई विश्वासमा लिएर अघि बढ्न देउवाले लिनुभएको तत्परतालाई पछिल्लो घटनाक्रमले प्रभावित गर्न सक्ने सम्भावना बढेको छ । देउवा तीन–तीनपटक पौडेलको घरमा गइरहन आवश्यक थिएन र विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता भए पनि पौडेललगायतका नेताहरूलाई हतारहतारमा केन्द्रीय सदस्य मनोनयन गर्नु उचित थिएन भन्नेहरूलाई पौडेलको पछिल्लो कदमले उत्साहित तुल्याएको छ । ज्ञातव्य छ, २०७० सालमा सम्पन्न आमनिर्वाचनपछि संसदीय दलका नेताको चुनाव भए पनि कार्यसमितिको चुनाव भएको थिएन । दलको नेताको निर्वाचन भई सुशील कोइराला विजयी बन्नुभएपछि कार्यसमिति चयन निम्ति सांसदहरू लामबद्ध रहेकै अवस्थामा तात्कालिक पार्टी सभापति कोइरालाले समितिको निर्वाचन स्थगित गराइदिनुभएको थियो । कोइराला दलको नेता रहँदासम्म नेता रामचन्द्र पौडेल र अन्यले न विधान संशोधनको मुद्दा उठाउनुभयो न स्थगित निर्वाचन सम्पन्न गराउन कुनै तत्परता नै लिनुभयो ।

सभापति देउवा दलको नेतासँगै कार्यसमितिको पनि तत्काल निर्वाचन गराउन चाहनुहुन्छ र त्यस निम्ति मितिसमेत तय भइसकेको छ, तर पौडेलसहित एकथरी नेताहरू दिलोज्यानले देउवाको बाटोमा अवरोध पैदा गर्न सक्रिय रहेको पाइएको छ । विश्लेषकहरूले पौडेलको यस्तो सक्रियतालाई रहस्यमयी मानेका छन् । स्मरणीय छ, कांग्रेस संसदीय दलको नेता चयन भएपछि सरकार परिवर्तनको प्रयासले गति लिनेछ । कांग्रेसले संसदीय दलको नेता चयन गर्न विलम्ब गर्दा सरकारको आयु लम्बिने र कांग्रेसभित्र चकिङ्गल पैदा हुँदा त्यसको राजनीतिक लाभ पनि वामपन्थी सरकार र एमाले तथा एमाओवादीलगायतलाई हुने भएकोले प्रचण्ड–ओलीको चलखेल सुरु भएको हो कि भन्ने आशङ्का पैदा भएको छ । वामपन्थी रुझानका नेता रामचन्द्रलाई राष्ट्रिय सहमतिको सरकारको प्रमुख बनाइदिने आवश्वासन सत्ता गठबन्धनका नेताहरूबाट पौडेलसम्म पुर्‍याइएको हुनसक्ने अनुमानसमेत गर्न थालिएको छ । कांग्रेसमा संसदीय दलको नेता बन्ने व्यक्ति नै प्रधानमन्त्री बन्ने वैधानिक प्रावधान तथा परम्परा भएकोले सभापति देउवा दलको नेता हुनुभएमा नेता पौडेललाई प्रधानमन्त्री बन्ने मौका प्राप्त हुन मुस्किल पर्ने हुन्छ ।

त्यसैले विभिन्न प्रकारका अत्तो थाप्दै दलको नेता चयनमा विलम्ब गराउने षड्यन्त्रमूलक योजनाअनुसार नै विधान संशोधनको बखेडा झिकिएको आशङ्का गरिएको छ । जे भए पनि चैत २४ गते नै संसदीय दलका नेताको निर्वाचन हुने र निर्वाचनमा सभापति देउवा नै दलको नेता पदका लागि उम्मेदवार बन्नुहुने निश्चित भएको छ । अड्चन पैदा गर्दागर्दै पनि चुनाव हुने सम्भावना देखिएपछि देउवासँग भिड्न रामचन्द्र पौडेल स्वयम् तयारी गर्दै हुनुहुन्छ । तथापि पौडेलमाथि हार्ने चुनावमा आफैँ सहभागी नहुन उहाँका शुभचिन्तकहरूले सुझाव दिइरहेका छन् । डा. रामशरण महतलाई देउवासँग भिडाउनुपर्छ भन्ने मत एउटा पक्षभित्र बलियो रहेको बताइन्छ । तर, नेता पौडेल अरू कुनै नेतालाई दलको नेताको निर्वाचन लडाउने पक्षमा यो समाचार तयार पारिन्जेल (मंगलबार, चैत १६) सम्म हुनुहुन्न । निर्वाचनमा सभापति देउवाले कम्तीमा ११० देखि १३० सम्म मत प्राप्त गर्नुहुने देखिएको छ । दलको नेतामा विजयी बन्न १०४ मत आवश्यक पर्ने हुन्छ ।

देउवानिकटको सूत्रबाट प्राप्त जानकारीअनुसार रामचन्द्र पौडेल भागबन्डाका लागि ‘बार्गेनिङ’ गर्न अग्रसर भएपछि सभापति देउवा गम्भीर र चिन्तित बन्नुभएको छ । सबैको विश्वास प्राप्त गर्न प्रयास गर्ने तर भागबन्डाको राजनीति पुनस्र्थापित हुन नदिने सोच देउवाले बनाउनुभएको बताइन्छ । ज्ञातव्य छ, पौडेल केही मनोनीत सदस्यको कोटा, संसदीय बोर्डमा केही सदस्य, उपसभापति, दलको उपनेता र आफ्ना मान्छेलाई मन्त्री बनाइदिने भएमा मात्र देउवालाई सहज वातावरण बनाइदिने पक्षमा रहनुभएको बुझिएको छ । तर, सभापति देउवा भने विश्वास र समझदारी बनाएर अघि बढ्न सहमत, आफ्नो हात–गोडा काटेर दिन भने असहमत हुनुहुन्छ । सभापतिलाई कमजोर बनाउन भएका या हुने कुनै पनि प्रयासप्रति देउवा कठोर बन्नुहुने सङ्केतहरू देखिएका छन् ।