खोटाङमा वीभत्स दुर्घटना

खोटाङमा वीभत्स दुर्घटना


खोटाङ बस दुर्घटनामा चौबिसको मृत्यु

Khotang bus accident
खोटाङको बर्खेटारमा मंगलबार बिहान भएको बस दुर्घटनामा परी चौबिस यात्रुले जीवन गुमाएका छन् । मृत्यु हुनेमा १७ पुरुष र सात महिला छन् । मृतकमध्ये १७ जनाको सनाखत भएको छ । उद्धारमा खटिएका सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी निरीक्षक फुर्गेली शेर्पाका अनुसार दुर्घटनामा परी बस चालक काठमाडौँका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई र उनका छोरा ओमश्री, उदिम राई, हेम सुनुवार, भविन राई तथा बजुनारायण श्रेष्ठको मृत्यु भएको छ । यस्तै खोटाङका विमला राई, सन्तोष कटुवाल, सुरेन्द्र राई, मेजर राई, भैरव राई, नेत्रकुमारी राई, गोविन्द तिमिल्सेना र खम्बबहादुर राई तथा सोलुखुम्बुका सुस्मा राई र सोम सुन्दासको समेत मृत्यु भएको छ ।

दिक्तेलबाट काठमाडौँका लागि बिहान ५ बजे छुटेको बा२ख ६३७६ नंको यात्रुबाहक बस करिब ८ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनाबाट सख्त घाइते २३ जनालाई नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य घाइते सात यात्रुको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइतेको हलेसी स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । घटनास्थल दिक्तेलबाट दश कोस टाढा पर्छ । साँघुरो सडकबाट करिब १५० मि तल खसेको बस भीरमा बाँसको घारीमा अड्किएको छ ।