विषम वर्षको बिदाइ

विषम वर्षको बिदाइ


New-Year-Greeting
वर्ष दिनको एक चक्र पूरा भई नयाँ वर्ष २०७३ प्रारम्भ भएको छ । हरेक नयाँ वर्ष मानिसका जीवनमा नयाँ आशा, अपेक्षा र उमङ्ग बोकेर आउँछ । किनकि, मानिस हरदम सुखद भविष्यकै कल्पनामा बाँचिरहेको हुन्छ । आगतलाई विगतभन्दा उन्नत वा उत्तम तुल्याउन निरन्तर प्रयत्नशील हुन्छ मानिस । यही अक्षुण्ण आकाङ्क्षायुक्त प्रयत्नका कारण हरेक नयाँ वर्षलाई आशापूर्ण तवरले स्वागत गर्ने परम्परा युगौँदेखि बसेको पाइन्छ ।
भर्खरै विगत बन्न पुगेको वर्ष २०७२ लाई पनि हामीले अत्यन्त आशा, भरोसासहित उल्लास–उमङ्गसाथ स्वागत गरेका थियौँ । त्यसअघिका वर्षहरूभन्दा ०७२ ले बढ्ता सुख र खुसी प्रदान गर्नेछ भन्ने कामना सबैको थियो । नयाँ संविधान जारी हुने अनि देशले विकास र समृद्धिको नयाँ फड्को मार्ने स्वैर–कल्पनामा सिङ्गो मुलुक व्यग्र बनिरहेको परिवेश थियो त्यो ।

तर, वर्ष ०७२ लाई नयाँ सालको रूपमा स्वागत गर्दाबखतका उल्लासको उष्णता राम्ररी सेलाउन पनि नपाउँदै सालको आरम्भमै युग–युगसम्म बिर्सन नसकिने महाभूकम्पको त्रासदी व्यहोर्नुपर्‍यो मुलुकले । ठूलो जन–धनको क्षति पुर्‍याएको उक्त भूकम्पले निम्त्याएको उद्विग्नताको ज्वरो उर्लिरहेकै परिवेशमा पनि संविधानसभाबाट संविधान जारी हुने दशकौँको प्रतीक्षा पूरा भयो । संविधानसभाबाट बन्ने नयाँ संविधानमा सङ्घीयता, राजनीतिक प्रणाली, न्याय र निर्वाचन प्रणालीबारे नितान्त फरक दिशामा उभिँदै चट्टानी अडानमा रहेका ठूला राजनीतिक दलहरू भूकम्पपछि एक ठाउँमा आइपुगे र संविधानसभाबाट नयाँ संविधान जारी हुन सक्यो । तर, नयाँ संविधानले कल्पनाअनुरूपको समाधान दिनेभन्दा पनि नेपालीजनले व्यहोरिरहेको भूकम्पको पीडामाथि नुनचुक दल्ने प्रयत्न गरेको आभास हुन पुग्यो । बिहानीले दिनको सङ्केत गर्छ भनेझैँ संविधान कार्यान्वयनको वर्तमान उपक्रम प्रकारान्तरले विनाशकारी भूकम्पजस्तै पीडादायी बनेर देखापरेको छ भन्दा अतिरञ्जना नठहरिएला । वास्तवमा, बितेको साललाई मूलभूत रूपमा सम्झाउने कारक बनेका विनाशकारी भूकम्प र संविधानसभाबाट जारी नयाँ संविधान शताब्दीकै स्मरणीय घटना बन्न पुगेका छन् ।
ghatana logo 1
यसका अलावा मुलुकको राजनीतिमा शीर्ष तहमा रहेका सूर्यबहादुर थापा, सुशील कोइरालाजस्ता नेताका देहावसान, नेपालको संविधान जारी भएलगत्तै मुलुकमा नेकपा (एमाले)को नेतृत्वमा सरकार गठन भई कांग्रेस प्रतिपक्षमा रहनु, राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता गरिमामय ओहोदामा देशले प्रथमपटक महिला पात्रलाई आसीन गराएको र मुलुककै ठूलो तथा पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा कोइराला वंशलाई किनारा पार्दै शेरबहादुर देउवा शक्तिकेन्द्रको रूपमा उदाएकालगायत सन्दर्भहरू बितेको वर्षका प्रमुख परिघटित परिवेश हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको छिमेकी मित्रराष्ट्र भारत र चीनको भ्रमण पनि गत साल चर्चा बटुल्न सफल सन्दर्भ बन्न पुग्यो । नेपालको राजनीतिमा दूरगामी महत्त्वको रहेको भनी व्याख्या–विश्लेषण गरिएका यी दुई भ्रमण कति उपलब्धिपूर्ण रहे या रहेनन्, प्रधानमन्त्रीले दाबी गरेजस्तै राष्ट्रिय स्वाभिमानको सवालमा कोसेढुङ्गा सावित भयो या भएन, आगामी दिनमा प्रस्टिँदै जाने नै छ ।

वर्तमान सरकारले जे–जसो दाबी गरे पनि दूरगामी रूपमै असर पर्ने ढङ्गले सबभन्दा नजिकको छिमेकी मुलुकसँग सम्बन्ध गिजोलिन पुगेको छ र अर्को निकट छिमेकी चीनसँगको सम्बन्धमा नयाँ आयाम आएको भनिए पनि व्यवहारत: यो सिद्ध हुने सहज कल्पना सचेत नागरिक तप्काले गर्न सकिरहेको छैन । तसर्थ, छिमेकीसँगको बिथोलिएको सम्बन्ध सुधार्ने र सन्तुलित सम्बन्ध कायम गरी समृद्ध छिमेकीहरूको प्रगतिको लाभ उठाउँदै मुलुकलाई समृद्धिको दिशामा कसरी डोर्‍याउने भन्ने सवाल यतिबेला गम्भीर रूपले खडा हुन पुगेको छ । भूकम्पपछिको पुनर्निर्माण, मधेसकेन्द्रित दलहरूलाई सहमतिमा ल्याएर सम्भावित आन्दोलन टार्दै संविधानको कार्यान्वयनजस्ता सवाल आगामी दिनका मूल चुनौती हुन् । ओली–सरकारले यी गम्भीर दायित्व निर्वाहमा कति सुझबुझ दर्शाउला, सन्देहकै घेरामा छ ।

सारमा भन्नुपर्दा थोरै उपलब्धि र ठूलो क्षतिका साथ मुलुकले ०७२ साललाई बिदा गरेको छ र पनि आरम्भमा भनिएझैँ सुखद आगतको कामनाका साथ नयाँ वर्ष २०७३ लाई स्वागत गर्दै छौँ हामी । मूलत: भूकम्पपीडित जनतालाई उचित बसोबास एवम् जीविकाको व्यवस्था गर्न, नाकाबन्दीबाट तहसनहस भएको देशको अर्थतन्त्र उकास्न र संविधानप्रतिका असन्तुष्टि मेटाउँदै सबै एक ठाउँ उभिएर संविधान क्रियान्वयन तथा मुलुक निर्माणमा अघि सर्न नयाँ वर्ष प्रेरणादायी बनोस् । नयाँ वर्ष प्रवेशको अवसरमा हाम्रो यही शुभकामना ।