मधेशको माग पूरा गर्न पूर्वराष्ट्रपतिको आग्रह

मधेशको माग पूरा गर्न पूर्वराष्ट्रपतिको आग्रह


डा. रामवरण यादव 2
पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेश आन्दोलनका माग पूरा गर्नुपर्ने धारणा राखेका छन् । उनले प्रमुख राजनीतिक दलहरुले वार्ता र सम्वादबाट समस्याको समाधान गर्नुपर्ने सुझाव समेत दिएका छन् । मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पपुलेशन मिडिया सेन्टर र एन्टेना फाउण्डेशन नेपालले संयुक्त रुपमा सुरु गर्न लागेको धारावाहिक रेडियो नाटक ‘हिलकोर’ मैथिली र ‘मै सरी सुनाखरी’ नेपालीको उद्घाटन पूर्वराष्ट्रपति डा.यादवले गरेका हुन् । सो कार्यक्रममै उनले मधेशको समस्या तत्काल समाधान गर्नु पर्ने धारणा राखे । मधेशका दाईजो प्रथा, बालविवाह तथा अन्य समाजिक विभेदमा आधारित रहेर मैथिली धारावाहिक रेडियो नाटक हिलकोर बैशाख पाँच गतेदेखि रेडियो कान्तिपुर र स्थानीय एफएमहरुबाट प्रशारण हुन लागेको हो । मैथिली नाटक क्षेत्रका चर्चित रविन्द्र झाले सम्पादन गर्ने हिलकोरको कथाबस्तु स्नेहा झा, कञ्चना झा, प्रियंका झा र अनिता चौधरीले लेखेकी छन् ।

यसैबीच नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले तराई–मधेशमा उठेको आन्दोलनको माग सम्बोधन नगरेसम्म संविधान कार्यान्वयनमा ठूलो चुनौती रहेको बताएका छन् । उनले जायज मागहरु सम्बोधन गर्दै सबै एकजुट हुन नसके संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेका धारणा राखेका छन् । संविधान कार्यान्वयन गर्न सबै दल मिल्नु अवश्यक रहेको उनले बताए । गणेशमान सिंह वहुमुखि क्याम्पस कलंकीको आठौं वार्षिक उत्सव समारोहमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका निधिले वर्तामान समस्यालाई समाधान गर्न र संविधान कार्यान्वयन गर्न काग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार वनाएर अघि वढ्नु पर्ने समेत बताए । लौहपुरुष गणेशमानसिंह जस्ता राष्ट्रका लागि महत्वपूर्ण भूमिका खेल्न नेताहरुको सम्मानका लागी पनि उहाँहरुको नाममा स्थापना भएका कलेज, विद्यालय तथा संघ सस्थालाई राज्यले सहयोग गर्नुपर्ने बताए । सामुदायिक स्तरमा संचालित गणेशमान सिंह कलेजलाई सहयोग गर्न आफूले सरकार र पार्टीको ध्यानाकर्षण गराउने निधिले बताए ।