मधेसीलाई यस्तो छ बाबुरामको सुझाव

मधेसीलाई यस्तो छ बाबुरामको सुझाव


Baburam Bhattari Press Meet (1)
आफ्नो हकअधिकार प्राप्तिका लागि मधेसी नेताले सत्ता र भत्ताको राजनीति त्याग गर्नुपर्ने सुझाव नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले दिएका छन् । महोत्तरीको जलेश्वरमा नयाँ शक्ति नेपाल महोत्तरीले आयोजना गरेको मधेस स्वाभिमान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सत्ता र भत्ता नछाड्ने र आन्दोलन पनि गर्ने दोहोरो चरित्रका कारण मधेस आन्दोलन उपलब्धिविहीन भएको प्रष्टयाए ।

मधेसी नेताले मधेस र मधेसीलाई अधिकारसम्पन्न बनाउन चाहन्छन् भने निःस्वार्थ भएर सदन छाडी सडकमा आउन उनको सुझाव थियो । डा. भट्टराईले लामो बन्द र हडतालका कारण मधेस आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा निकै पछाडि परिसकेकाले अब मधेस र मधेसीले केवल राजनीतिक पहिचान र अधिकारका लागि नभएर आर्थिक विकास र समृद्धिका लागि पनि आन्दोलन गर्नुपर्ने बताए । सम्पूर्ण मधेसवादी राजनीतिक दल र आममधेसीलाई एक ढिक्का भएर आन्दोलन गर्न र नयाँ संविधानमा संशोधन तथा नयाँ नेपाल निर्माणका लागि नयाँ शक्तिसँग सहकार्य गरेर अगाडि बढ्न अपिल पनि उनले गरे ।