फोस्लाङे युग

फोस्लाङे युग


rameshwor raut
:: रामेश्वर राउत मातृदास ::

यो फोस्लाङे युग
डुकुलण्ठक छन् उर्वर जिन्दगीहरू
न आँखामा हाँसो छ
न जीवनमा गतिशीलता गाँस्न सक्छन् नदीहरू

०००

यी तुहिएका सपनाहरूले
तगारो लगाइरहेका छन् उर्वर बिहानीलाई
रातमा जुन आउन लाज मान्छे,
घाम पग्लेर हिमालहरू विध्वङ्श चुहिरहेका छन्
जिन्दगी बाँदरको पुच्छरजस्तै
न लौरो न हतियार भयौँ एऽ पराक्रमी परमवीर
समयले आफ्नै गौरवलाई निर्ममतापूर्वक सिस्नो लगाइरहेको छ
कुन कुकर्मको फल हो वीर हो !
समुद्रहरू अन्याय र अपराधको भारी बोकेर उर्लिरहेका छन् निरन्तर

०००

प्रयोजनहीन घामट घोचाहरूलाई सधैँ सलाम ठोक्ने
यी लाटाबुङ्गा बुख्याँचाहरूले आँखा खोलिदिए
झल्मलाइरहन सक्थे घाम/जुनहरू,
सबैको सैहार्द सर्वोदयका लागि
र, सौभाग्यशाली हुन्थे अग्ला हिमालयहरू !

०००

कहिल्यै जागरण धून ब्युँझेनन्
बुढीभैँसीका बासी म:म ओल्सिरहेका यी बस्तीहरू
ग्वारग्वार्ती हुँडारका बथानहरू पसेर
स्वालस्वाल्ती आफ्नै भाग्य र भविष्य निलेको हेरिरहन्छन्
र, परचक्रीको ज्वाला नाचिरहेका छन् यी खैँजडीहरू

०००

आखिर यी खैँजडीहरू
न झोमोलुङ्मा बुझ्न सक्छन्
न बुद्ध, जनक, पृथ्वीनारायण, बलभद्र र अमरसिंह
वा गजवीरको आदम्य साहसलाई नै बुझ्न सक्छन्
खैँजडीहरू कहिले त्रिपिटक, मुन्धुम च्यात्छन्
र कहिले वेद र गीतालाई सत्तोश्राप गरेर
तीन त्रिलोक चौधैभुवन जितेको ध्वाँस छाड्छन् घामट वृत्तासुरहरू !
एऽ अदम्य अमोघ !
पूरै आकाश/सिङ्गै धर्ती महानताको पौरख हो
हरेक रात/प्रत्येक दिन कहिल्यै आत्तिन हुन्न भन्छन् घाम/जुन