बक्सिङमा महाभारतको सङ्केत

बक्सिङमा महाभारतको सङ्केत


धमिलोपानीमा माछा मार्दै राखेप
Nepal_Sports_Council_Logo

श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद्ले नेपाल बक्सिङ सङ्घको निर्वाचनप्रति कुनै चासो नदेखाएपछि बक्सिङ सङ्घको निर्वाचन ६ महिना पछि धकेलिएको छ । वर्तमान नेपाल बक्सिङ सङ्घका पदाधिकारीको कार्यकाल गत चैत ६ गते सकिएको थियो । कार्यकाल सकिएलगत्तै निर्वाचनका लागि बक्सिङ सङ्घका पदाधिकारीले पहल गरे पनि राखेपले आलटाल गर्दा तीन महिनाभित्र हुनुपर्ने निर्वाचन ६ महिना पछि सरेको हो । कार्यकाल सकिएको तीन महिनाभित्र निर्वाचन गर्नुपर्ने बक्सिङ सङ्घको विधानमा उल्लेख छ । त्यसका लागि सङ्घलाई अझै जेठ ६ गतेसम्म समय छ । तर, राखेपले बक्सिङको निर्वाचनमा बखेडा झिक्दै निर्वाचन गर्ने वातावरण प्रदान नगरेपछि बक्सिङ सङ्घको निर्वाचन अनिश्चित बनेको हो । निर्वाचन गर्ने समय गुजारेर बक्सिङ सङ्घमा राजनीति गर्न राखेप उद्यत् देखिएपछि सङ्घका पदाधिकारीहरूले थप तीन महिनाको म्याद थपेका हुन् । कुनै कारणवश तीन महिनाभित्र निर्वाचन हुन नसके सङ्घको विधानमा थप तीन महिना थप्न सकिने व्यवस्था छ । विधानमा उल्लेख सोही कुरालाई आत्मसात् गर्दै गत साता निर्वाचनका लागि तीन महिना थप गरिएको हो । अब बक्सिङ सङ्घको निर्वाचन आउँदो भदौ ६ गतेभित्र जसरी पनि गर्नुपर्ने बाध्यता भएको छ ।

राष्ट्रियले बक्सिङ सङ्घको निर्वाचनप्रति किन बदनियत राख्यो त्यो बुझ्न नसकिएको छैन । प्राप्त जानकारीअनुसार बसिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले खेलाडीको पैसा खाएर भ्रष्टाचार गरेको आधार बनाएर राखेपले निर्वाचन रोकेको थाहा भएको छ । स्मरण रहोस्, अध्यक्ष राजीवविरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो । यसका लागि राखेपले एक छानबिन समितिसमेत गठन गरेको थियो । उक्त छानबिन समितिले राजीवलाई कुनै पनि कारबाहीको सिफारिस गरेको थिएन । अर्थात् उनलाई क्लिन चिट दिएको थियो । तर, राखेपले यसैलाई आधार मानेर बक्सिङ सङ्घको निर्वाचन रोकेको छ । भ्रष्टाचारको आरोपमा क्लिन चिट पाएर सरकारले अडिटसमेत गरिसकेको कुरालाई राखेपले कानुनी शाखामा बक्सिङको फाइल पठाएर बिल–भर्पाई माग्नुको पछाडि भने ठूलै रहस्य लुकेको छ । राखेपले यस्तो दुस्साहस किन गर्‍यो ? र उसको नियत के हो ? त्यो अहिले खोजीको विषय बनेको छ । प्राप्त जानकारीअनुसार अध्यक्ष श्रेष्ठले बक्सिङ सङ्घमा सहअध्यक्ष नराखेको भदै उजुरी परेपछि सङ्घको निर्वाचन राखेपले रोकेको थाहा भएको छ । विधानमै सहअध्यक्षको पद नभए पनि विशेष साधारणसभामार्फत सहअध्यक्ष पद राख्न खोजे पनि त्यसमा पनि राखेपले ठाडो हस्तक्षेप गरेर रोकेको बुझिन आएको छ । राखेपले विशेष साधारणसभासमेत गर्न दिएको थिएन ।
sport-1, boxing
बक्सिङ सङ्घको निर्वाचन कहिले हुन्छ त्यो आफ्नो ठाउँमा भए पनि यसपटक अध्यक्ष पदका लागि घमासान अर्थात् साँढे जुधाइ हुने पक्का भएको छ । यसपटक वर्तमान अध्यक्ष राजीव श्रेष्ठलाई पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) का रजत पदक विजेता राम अवालेको चुनौती खेप्नुपर्ने भएको छ । बक्सिङ सङ्घका पूर्वकोषाध्यक्षसमेत रहिसकेका अवालेले यसपटक अध्यक्षमा उठ्ने घोषणासमेत गरिसकेका छन् । यसका लागि उनले व्यापक तयारीसमेत गरिरहेका छन् । गतसाता गोदावरी रिसोर्टमा ललितपुर जिल्ला बक्सिङ सङ्घले आयोजना गरेको एक कार्यक्रममा बक्सिङका पूर्वपदाधिकारी, ओलम्पियन, प्रशिक्षक, खेलाडी र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीको उपस्थितिलाई हेर्दा राम अवाले बक्सिङमा शानका साथ भित्रन चाहन्छन् भन्ने भान हुन्थ्यो । यसका लागि उनलाई खेलाडी प्रशिक्षक, पूर्वपदाधिकारी र ओलम्पिक कमिटीको विशेष सहयोग रहेको अनुमान लगाउन पनि सकिन्थ्यो ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बक्सिङका आजीवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, एनओसीका महासचिव तथा राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, बक्सिङ सङ्घका पूर्वअध्यक्ष तथा ओलम्पियन रविराज थापा, उमेश मास्के, सङ्घका पूर्वउपाध्यक्ष दीपक रञ्जित, पूर्वाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष तथा ओलम्पियन नरेन्द्र पोमो, सङ्घका वर्तमान महासचिव दीपक गुरुङ, पूर्वकोषाध्यक्ष तथा गायक योगेश्वर अमात्य, आठौँ साफका स्वर्ण पदक विजेता प्रकाश थापामगर, रामचन्द्र थापामगर, १२औँ सागमा कास्य पदक विजेता दीपक श्रेष्ठ, मीनु गुरुङ सरस्वती रानामगरको उपस्थिति रहेको थियो । त्यस्तै बक्सिङका भीष्मपिताहको नामले चर्चित सुरेशसिंह आले, पूर्वप्रशिक्षक मथुरादास नेवा, अन्तर्राष्ट्रिय रेफ्री मञ्जुजंग थापा, स्वर्गीय लक्ष्मणशमशेर थापाकी धर्मपत्नी नयना थापा र स्वर्गीय नरबहादुर योञ्जनकी धर्मपत्नी पुष्पा योञ्जनको समेत उपस्थिति रहेको थियो ।

नेपाल बक्सिङ सङ्घको निर्वाचन राखेपले रोक्नु र राम अवालेले बक्सिङ सङ्घसँग साइनो गाँसेका व्यक्तिहरूसँग विशेष भेट गर्नुलाई कदापी संयोग मान्न सकिँदैन । यो अवालेको शक्ति प्रदर्शन मात्र नभई कुटिल चाल पनि हो । अवालेले आफूलाई बक्सिङको भावी अध्यक्षको रूपमा घोषणा गरेपछि आफ्नो पछाडि को–को छन् त्यसको प्रदर्शन गरेका हुन्भन्दा अतिसयोक्ति नहोला । अँझ एनओसीका पदाधिकारीको सहयोग समर्थन अवालेका लागि के खोज्छस् कानो आँखाजस्तै भएको छ । यसमा सुनमा सुगन्ध थप्ने कार्य बक्सिङ सङ्घको निर्वाचन रोकेर राखेपले गरेको छ । रहस्यमय बन्दै गएको बक्सिङको विवादमा एनओसीका पदाधिकारीको इसारामा राखेपले धमिलोपानीमा माछा मार्ने दुस्साहस गरेपछि बक्सिङको निर्वाचन महाभारतको लडाइँमा परिणत नहोला भन्न सकिँदैन । एनओसी र राखेप राजीवसँग असन्तुष्ट भए पनि बक्सिङ खेललाई किन बलिको बोका बनाउन अघि सरे त्यो बुझ्न सकिएको छैन । सङ्घको लोकतान्त्रिक पद्धतिअनुरूप निर्वाचन गराउन पाउने अधिकार खोस्नु कदापि मिल्दैन । त्यो नियम कानुनसम्मत् पनि हुँदैन । तर, राखेपले कसैको इसारामा नाचेर आफूलाई किन विवादमा पार्ने काम गरिरहेको छ त्यो गम्भीर विषय बनेको छ । आखिर चुनावमा हारजित एक सिक्काको दुई पाटा हुन् । निर्वाचनले नै समाधानको अर्को विकल्प पनि हो । तर, बक्सिङको निर्वाचनमा भने यस्तो देखिएन । त्यहाँ राजनीतिक गन्ध देखियो ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको इसारामा राखेपका सदस्यसचिव केशवकुमार विष्ट नाचेपछि अब बक्सिङमा महाभारत हुने प्राय: निश्चित भएको छ । राखेपले बक्सिङको निर्वाचनको स्वीकृतिका अध्यक्ष राजीव श्रेष्ठसँग बार्गेनिङ गरेको जानकारीमा आएको छ । ललितपुर जिल्ला बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले निर्वाचित भए पनि अहिलेसम्म नेपाल बक्सिङ सङ्घले अवालेको कमिटीलाई अनुमोदन गरको छैन । सङ्घले अनुमोदन नगर्दा अवाले बक्सिङ सङ्घको निर्वाचिनमा उठ्नबाट वञ्चित हुनेछन् । यस्तो अवस्थामा सर्वप्रथम अवालेको कमिटीलाई मान्यता प्राप्त गराउन अर्थात् अनुमोदन गराउन एनओसी र राखेपले यस्तो खेल खेलेका हुन् । यो खेलमा एनओसी र राखेप कति सफल हुन्छन् त्यो भविष्यकै गर्भमा भए पनि बक्सिङमा देखिएको यो विवाद र माउ संस्थाको हस्तक्षेपका कारण भोलि दोस्रो बक्सिङ सङ्घ जन्मियो भने अन्यथा मान्नुपर्ने छैन । यसर्थमा कि राजीवको सङ्घलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनुको साथै उनी नेपाल ओलम्पिक कमिटीका सहसचिव र एसियन बक्सिङ सङ्घका सदस्य पनि हुन् । यस्तो अवस्थमा भोलि श्रेष्ठले बक्सिङमा सरकारी र राजनीतिक हस्तक्षेप भयो भनेर अन्तर्राष्ट्रिय निकायमा पत्राचार गरे भने त्यसको परिणाम प्रत्युत्पादक नहोला भन्न सकिँदैन ।

बक्सिङको विवाद बढ्दै जाँदा र राखेपको भूमिका सकारात्मक देखिएपछि सदस्यसचिव केशव विष्टसँग सम्पर्क गर्दा उनले त्यस्तो केही राजनीति नभएको र राखेपले निर्वाचन नरोकेको प्रस्ट पारेका छन् । विगतमा सङ्घमा केही विवाद थियो, फेरि कसैले सङ्घको विरुद्धमा अर्को निवेदन दर्ता गराएको थियो । अहिले त्यसैको छानबिन गर्न र राय माग्ने काम राखेपले गरेको विष्टले बताए । ‘केही दिनमै यसको छिनोफानो हुन्छ, बक्सिङको निर्वाचन पनि समयमै हुन्छ । त्यस्तै राखेपमा उजुरी परेपछि त्यसको छानबिन गर्नुपर्छ, छानबिन गर्ने अधिकार राखेपलाई छ, अहिले बक्सिङ सङ्घको विरुद्धमा परेको उजुरीको छानबिन भइरहेको छ । छानबिनपश्चात् बक्सिङको निर्वाचन हुन्छ, यसमा शङ्का नगर्दा नै राम्रो होला,’ विष्टले भने । हामी अहिले हाम्रो कर्तव्य निर्वाह गरिरहेका छौँ, भोलि निर्वाचनमा सङ्घले निभाउने कुरामा विश्वस्त छौँ । राखेपका कारण चर्चित बनेको बक्सिङ सङ्घको निर्वाचनमा ५९ जना प्रतिनिधि रहेका छन् । जसमा २५ जना कार्यसमिति, २६ जिल्ला, चार क्षेत्र, महिला खेलाडी एक, पुरुष खेलाडी एक र टेक्निकलतर्फ दुई प्रतिनिधि रहेका छन् ।