– रामकुमार एलन
भञ्ज्याङका सुनाखरी र सुनगाभाहरू
हिरोसिमा र चिबा सहरमा
साकुरा फूलमूनि बसेर
खिचिरहेछन् सेल्फी
लुकाइरहेछन् बिदेसिनुको पीडा
वसन्त ऋतुमा हजारौँ कोपिला
जब परराष्ट्र परिसरमा
एमआरपी लिन घिस्रिरहेका हुन्छन्
कसरी फुलोस् सुनगाभा र सुनाखरी
उराठ, निरस र विकल्परहित भविष्य
बोकेका सुनगाभा र सुनाखरी
साकुराको सहरमा
फक्रनै सक्दैनन्–फुल्नै सक्दैनन्
व्यापारिक शिक्षाको गमलामा
राजनीतिक घरानाको बार्दलीमा
अनि,
सुरक्षा निकायका सयलको रिकापीमा
जोडिएका–फक्रिएका–सजिएकाबाहेकलाई
निषेध छ यो सहरमा
फुल्न सुनगाभा,
डुल्न भवरा
कबुल्न स्वदेशमै बास
बटुल्न सपनाका राग
छिमल्न रहरका लालीगुराँस
भाँचिएको धरहरा
मक्किएको पशुपतिनाथको विश्वास
भत्किएको पुरातात्विक धरोहर
गन्हाउने बागमतीजस्तै जीवन
अनि फेसबुकमा राख्न मात्र मिल्ने
योग्यताका प्रमाणपत्र बोकेर
कति दिन सुनगाभाहरू
साँचून् सपना सहरमा
बाँचून् भोकभोकै पुनर्निर्माणको रहरमा
चिरेर कम्मरमाथि एक बित्ता
बेचेर एकथान किड्नी
लाखौँ सुनगाभा र सुनाखरीको
चन्द्रमा मुहार कल्पँदै
भासिएका छन् साकुरा सहरमा
नरोऊन् परिवार भनेर
हानेका छन् साकुराका बोटमुनि सेल्फी
सेल्फीमा लाली टल्केको अनि
मादकता झल्केको मात्र देखिन्छ
स्वदेशको याद बल्झेको
र परिवारको यादमा तड्पेको देखिन्न
रेमिट्यान्स फुलेर ढकमक्क
सुनगाभा र सुनाखरीको भान्सा छिर्दा
एकधर्को खुसी त देखिन्छ
तर, साकुराका सहरमा
हाम्रा सुनगाभा र सुनाखरी
कहिल्यै साकुरा हुँदैनन्
ती त साकुराका बोटमुनि ओत लागेका
बाटोमुनिका फूलका सिक्वेल मात्र हुन्
– अनामनगर, काठमाडौं
प्रतिक्रिया