सभापति देउवा कठोर मानसिकतामा

सभापति देउवा कठोर मानसिकतामा


sher

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाकको शल्यक्रिया गरिएको छ । लामो समयदेखि नाकभित्र दुखाइ हुने समस्याबाट पीडित देउवाको नाकको शल्यक्रिया नयाँदिल्लीस्थित फोर्टिज अस्पतालमै भएको हो, जहाँ देउवापत्नी एवम् सांसद डा. आरजुको हिप ज्वाइन्टको पनि शल्यक्रिया भएको थियो । शल्यक्रियापछि दुवै नेताहरूको स्वास्थ्यस्थिति सामान्य रहेको छ । बुधबार (वैशाख १५ गते) स्वदेश फर्कनुअघि सभापति शेरबहादुर देउवाले नयाँदिल्लीमा सत्तारुढ र अन्य विभिन्न दलका नेताहरूसँग महत्त्वपूर्ण भेटवार्ता गर्नुभएको थियो । विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, राष्ट्रिय स्वयम्सेवक सङ्घका प्रभावी नेता राममाधव सिंह, भाजपाका अध्यक्ष अमित शाह, भाजपा नेता भगतसिंह कोसियारी र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल तथा अन्य विभिन्न उच्चाधिकारीहरूसँग देउवाको भेटवार्ता भएको बुझिएको छ ।

अनौपचारिक तवरमा भएका ती भेटवार्ताका क्रममा दुई देशबीच असहज बनेको सम्बन्धलाई कसरी पूर्ववत् सुमधुर बनाउने भन्नेमा केन्द्रित रहेको सम्बद्ध सूत्रहरूले जनाएका छन् । द्विपक्षीय सम्बन्ध सुमधुर बनाउन नेपालकै सबभन्दा ठूलो दलको प्रमुख नेताका हैसियतमा देउवाले मुख्य भूमिका निर्वाह गर्नसक्ने विश्वास भारतीय पक्षले प्रकट गरेको पनि बताइएको छ ।

नयाँदिल्लीबाट फर्किएलगत्तै सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई पूर्णता दिँदै पदाधिकारी चयन गर्न गृहकार्य सुरु गर्ने र प्रमुख विपक्षी नेताको हैसियतले राज्यको कामकारबाहीमा समेत सक्रियता दर्शाउनुहुने भएको छ । न्यायाधीशहरूको नियुक्तिमा मनपरी गर्ने वामपन्थी सरकारले राजदूतहरूको नियुक्तिमा समेत जथाभावी गरेपछि नेपाली कांग्रेसले सरकारप्रति कठोर प्रतिक्रिया जनाउने स्थिति बनेको छ । वाम सरकारको अधिनायकवादी शैलीका विरुद्ध जस्तोसुकै कदम चाल्न पनि सभापति देउवा मानसिक रूपमा तयार हुनुभएको बुझिएको छ ।