इन्टाद्वारा तेक्वान्दो खेलाडी सम्मानित

इन्टाद्वारा तेक्वान्दो खेलाडी सम्मानित


teqndo

अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो सङ्घ (इन्टा)ले भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेको छ । १२औँ सागमा वीरबहादुर महरा, सक्षम कार्की, रेजिना कार्की, यानकुमारी चौलागाईं, नीमा गुरुङ, ज्ञानी चुनारा र आयशा शाक्यले रजत जितेका थिए । त्यस्तै सुनील पौडेल, निश्चलमान श्रेष्ठ र रामहरि महतले कांस्य हात पारेका थिए । प्रशिक्षकमा ध्रुवबहादुर गुरुङ, संगीना वैद्य, नवीनकुमार श्रेष्ठ, दीपक विष्ट तथा गणेशबहादुर जिम्बा सम्मानित भए । सम्मानित हुने व्यवस्थापकमा नेपाल तेक्वान्दो सङ्घका सदस्य सुमनकुमार घले रहेका छन् ।

रजत विजेतालाई २० हजार, कांस्यलाई १० हजार तथा प्रशिक्षकलाई ५ हजार नगदसहित ट्रयाकसुट र सम्मानपत्र प्रदान गरिएको थियो । सहभागी खेलाडी महमद वेश, चन्द्रबहादुर रानामगर तथा प्रेमबहादुर बुढाथोकी पनि सम्मानपत्रबाट सम्मानित भएका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, इन्टाका प्रतिनिधि एवम् खेलाडी सम्मान समितिका संयोजक कमल क्षेत्रीले उनीहरूलाई सम्मान गरेका थिए ।

सो अवसरमा इन्टाका प्रतिनिधि तथा सम्मान कार्यक्रमका संयोजक कमल क्षेत्रीले यो संस्था विदेशमा रहे पनि विगत लामो समयदेखि नेपाल तेक्वान्दो सङ्घसँग सहकार्य गर्दै आएको बताएका थिए । आफ्नो स्थापनाकालदेखि नै नेपाल तेक्वान्दो सङ्घसँग हातेमालो गर्दै नेपालमा तेक्वान्दो खेलाडीको प्रशिक्षण, प्राविधिक सहयोग र खेल सामग्रीको वितरण गर्दै आएको जानकारी गराएका थिए । त्यस्तै विगतमा नेपालमा सम्पन्न भएका प्रथम तथा दोस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सफल आयोजनमा इन्टाले विशेष भूमिका निभाएको बताएका थिए ।

तेक्वान्दो खेलाडीहरूले ओलम्पिक, एसियाड र दक्षिण एसियाली खेलकुदमा राष्ट्रलाई पदक दिलाएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा बढाएको कसैबाट छिपेको छैन भन्दै क्षेत्रीले हालै भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पनि तेक्वान्दो खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको थिए । सोही कुरालाई आत्मसात् गर्दै विगतको अभियानलाई निरन्तरता दिन यो सम्मान कार्यक्रमको आयोजना गरिएको क्षेत्रीले बताएका थिए । एन्टाको नियमित कार्यक्रमअन्तर्गत वैदेशिक प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, खेलकुद सामग्री वितरण र अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने रहेकोले यो पटक १२औँ सागमा पदक जित्ने तेक्वान्दो खेलाडी र प्रशिक्षक तथा अफिसियललाई आज संस्थाको तर्फबाट सम्मान गरिएको बताएका थिए ।