पत्रकारितामा महिलाका अवसर

पत्रकारितामा महिलाका अवसर


babita basnet 15

:: बबिता बस्नेत ::

विगत केही वर्षयता नेपालको पत्रकारिता क्षेत्रमा महिलाको आकर्षण बढिरहेको छ । विभिन्न जिल्लामा खुलेका एफएम स्टेसनदेखि लिएर टेलिभिजन, पत्रपत्रिका हुँदै अनलाइन मिडियामा समेत महिला पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । एकातिर प्रवेश बढ्दो छ भने अर्कोतिर पत्रकारिता क्षेत्रमा महिलाका समस्या तथा चुनौतीबारे पनि त्यत्तिकै चर्चा–परिचर्चा हुने गर्छ । चुनौती नभएको पेसा त कुन होला र ? बाहिरको संसारमा रहेर काम गर्नेहरूको त कुरै छोडौँ, घरभित्रै बसेर काम गर्ने गृह व्यवस्थापकहरू पनि चुनौती र समस्याबाट टाढा छैनन् । घरको सीमित दायरामा रहेर पारिवारिक भूमिका निर्वाह गर्दै आएको पृष्ठभूमि बोकेका नेपाली महिलाले बाहिरी संसारमा उभिएर व्यावसायिक बन्न खोज्नु आफँैमा चुनौतीपूर्ण कार्य हो । हरेक पेसा–व्यवसाय अपनाउने महिला हुन् या पुरुष या तेस्रोलिङ्गी सबै नै कुनै न कुनै समस्या र चुनौतीबाट गुज्रिरहेका हुन्छन् ।

०४६ को प्रजातन्त्रपछि पत्रकारिता क्षेत्र फराकिलो बन्दै जाँदा महिलाको प्रवेश पनि बाक्लिँदै गएको हो । अहिले विभिन्न कलेजहरूमा हुने पढाइका कारण महिलालाई यो क्षेत्रमा आउन झनै सहज भएको छ । पहिला–पहिलाजस्तो पत्रकारिता विषय नपढी अभ्यासबाट मात्रै आउनेहरूभन्दा पढेर आउनेहरूमा सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान हुने हुँदा झनै सजिलो भएको छ । उनीहरूमा आत्मविश्वास पनि बढी देखिन्छ । त्यसमा पनि अङ्ग्रेजी माध्यमबाट शिक्षा पाएकाहरूका लागि नेपालमै भएका अंग्रेजी मिडिया र अन्तर्राष्ट्रिय दुवै मिडियामा काम गर्ने अवसरहरू छन् । राष्ट्रिय र स्थानीय मिडियामा रेडियो र टेलिभिजनमा महिलाको सङ्ख्या बढी छ । रेडियोमा महिला स्वरका कारण प्रवेश दिइए पनि त्यहाँभित्र गएर प्राविधिक तथा लेखनमा आफ्नो दक्षता बढाउने अवसर प्रसस्त छ । आखिर जसले पनि मान्छेलाई होइन उसको कामलाई मन पराउने हो । मिहिनेत गरेर लगनशीलतापूर्वक काम गर्ने जो–कोही मानिस मिडियामा चाँडै स्थापित भइहाल्छ । त्यसैले सुरुमा स्वर या अनुहारका लागि मिडियामा स्थान दिइएका धेरै केटीहरू काम गर्दै जाँदा अहिले सम्बन्धित मिडियाका लागि नभइनहुने पत्रकार या सञ्चारकर्मी बन्न पुगेका छन् । राजधानी र विभिन्न जिल्लामा यस्ता महिला पत्रकारहरूको सङ्ख्या बढ्दै गएको छ ।

नेपालको मिडियामा महिला हुन् या पुरुष तालिम र प्रशिक्षणको भने कमी छ । अन्य विभिन्न मुलुकमा जस्तो पत्रकारहरूका लागि प्रशिक्षण प्रतिष्ठानहरू नहुँदा त्यसको सीधा असर व्यावसायिकतामा परिरहेको छ । रेडियो या अन्य कुनै पनि मिडियामा काम गर्न थालेपछि समाचार मात्रै भने पनि सार्वजनिक रूपमा नाम हुन्छ । स्थापित हुने क्रममै भए पनि नाम भइसक्यो, पत्रकार भनेर मान्छेले चिनिसके, तर पत्रकारितामा आवश्यक आधारभूत कुरा पनि सम्बन्धित व्यक्तिलाई थाहा छैन । यो समस्या सबैतिर देखिँदै आएको छ । महिला पत्रकारको व्यावसायिकताका लागि यो ठूलो चुनौती हो । चुनौती त पुरुष पत्रकारलाई पनि हो, तर महिलाको सवालमा दक्षताको कुरा बढी उठ्ने हुँदा उनीहरूलाई अझ बढी चुनौती छ । आफूलाई पटकपटक प्रमाणित गर्नुपर्ने पेसा भएकाले पत्रकारिता पेसामा लाग्नेहरूका लागि जग बलियो हुनु आवश्यक छ । जग बलियो भए घर बलियो हुन्छ भन्ने भनाइ पत्रकारितामा बढी लागू हुने हुँदा तालिम–प्रशिक्षणहरू लिएर मिडियामा प्रवेश गर्ने वातावरण बनाउन सकेमा त्यसले सम्बन्धित व्यक्तिको ‘करियर’का साथै मिडिया हाउसलाई पनि बलियो बनाउँछ ।

महिलाका लागि के छ त अवसर ?
पत्रकारिता चुनौतीसँगै अवसरले भरिएको पेसा हो । महिलाले पत्रकारितालाई पेसाका रूपमा अपनाउनुपर्ने केही सुखद कारण छन् । हाम्रोजस्तो समाजमा महिलाको आफ्नै नाम, पहिचान हुनु आफैँमा ठूलो कुरा हो । अरूको नाम र नाताबाट आफ्नो परिचय पाउने आमनेपाली महिलाको अवस्था भएको हाम्रो समाजमा पत्रकारिता क्षेत्रमा स्थापित भएका महिलाले कसैकी छोरी, श्रीमती या बुहारी भनेर चिनिनु, चिनाउनुपर्दैन । बढीमा आफू कार्यरत सञ्चार संस्थाको नाम भन्नुपर्ला नत्र परिचयका निम्ति आफ्नो नाम नै काफी हुन्छ । आफूले गरेको काम सबैले थाहा पाउने र मूल्याङ्कन गर्न सक्ने हुँदा विभिन्न क्षेत्रका मानिसले गर्ने ‘रेस्पोन्स’ र त्यसबाट मिल्ने सन्तुष्टि छुट्टै प्रकारको हुन्छ । अन्य क्षेत्रमा काम गर्नेहरूले आफ्नो नाम कमाउन जिन्दगीका धेरै वसन्त पार गर्नुपर्छ, अनुभवले खारिँदै कपाल फुलाउनुपर्छ, तर मिडियामा कहिलेकाहीँ अत्यन्तै राम्रो भयो भने एउटै सामग्रीले पनि जनमानसमा राम्रो प्रभाव जमाउन सक्छ, नाम कमाउन सकिन्छ ।

त्यस्तै, सधैँ नयाँ सूचनाहरूसँग खेल्न पाउनु पनि कम रोमाञ्चकारी कुरा होइन । घरपरिवार र नातेदारहरूका आराम–बिमार र अनेक टीका–टिप्पणीबाट माथि उठेर देशको राजनीति, अर्थ, व्यवसाय, सुरक्षालगायत महत्त्वपूर्ण प्राय: सबै विषयमा जानकारी लिने मौका, आफ्नो ‘बिट’अनुरूप कतिपय विषयमा जान्नैपर्ने अवस्था, देशको मात्रै नभएर विश्वमै भएका अनेक घटनाबारे ‘अपडेट’ हुने अवसर अरू क्षेत्रमा पाइँदैन । लगनशील भएर मिहिनेतका साथ काम गर्नेहरूलाई अवसर पनि त्यत्तिकै छ । मिडियाको बढ्दो प्रतिस्पर्धामा रोजाइहरू धेरै छन्, अझ अङ्ग्रेजी पृष्ठभूमिबाट आएकाहरूलाई त नेपालमा बसेर विदेशी सञ्चार संस्थाहरूमा काम गर्न पाउने सम्भावना पनि त्यत्तिकै छ । केही वर्षदेखि हाम्रो मुलुक विदेशी मिडियाका निम्ति समाचारको उर्वरभूमि रहँदै आएको छ, महिलालाई प्राथमिकता दिने विश्वव्यापी मान्यताअनुरूप खटेर व्यावसायिक रूपमा काम गर्ने महिलाले पुरुष पत्रकारले भन्दा चाँडो काम पाउन सक्छन् । विभिन्न क्षेत्र, तह र तप्काका मानिसले दिने सम्मान पनि यो क्षेत्रमा जस्तो अन्त कमै हुन्छ । एउटा व्यावसायिक पत्रकारलाई सबै राजनीतिक पार्टीहरू, व्यावसायिक सङ्घ/सङ्गठनहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलगायतले उत्तिकै दूरीको महत्त्व दिइरहेका हुन्छन् ।

राजधानी या जिल्ला जहाँ काम गरे पनि कुनै कार्यक्रमहरूमा सहभागिताका लागि सकेसम्म महिलालाई नै प्राथमिकता दिने गरिएको छ । जसका कारण नेतृत्व विकासको अवसर पनि पुरुषलाई भन्दा महिला पत्रकारलाई बढी छ । अन्तर्राष्ट्रियस्तरमा मिडियामा कार्यरत युनेस्को, आईएफजेलगायतका संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सकेसम्म महिला पत्रकारको सहभागितालाई नै महत्त्व दिइरहेका हुन्छन् । मुलुकमै पनि महिला र सञ्चारसँग सम्बन्धित सङ्घसंस्थाहरू छन् जसले महिलाको सशक्तीकरणमा काम रहेका छन् । सञ्चारिका समूह र डब्लूडब्लूजेजस्ता संस्थाबाट महिला पत्रकारका लागि काम त भइरहेको छ नै, स्वयम् यी संस्थाहरूको विभिन्न तहमा रहेर महिला पत्रकार स्वयम्ले काम गर्ने अवसर पनि पाएका छन् । निर्वाचनमार्फत यी संस्थाहरूको कार्यसमितिमा पुग्दा उनीहरूको नेतृत्व विकास भइरहेको छ । नेपाल पत्रकार महासङ्घमा पनि महिला पत्रकारका लागि उपाध्यक्षलगायतका केही पदहरूमा महिला नै राख्ने व्यवस्था गरेको छ । जसका कारण महासङ्घमा बसेर मुलुकभरिका पत्रकारका लागि काम गर्ने अवसर महिलालाई प्राप्त छ । महासङ्घमा रहँदा गरेको काम र भएको नेतृत्व विकासका कारण अध्यक्ष तथा त्यसपछि अन्य विभिन्न महत्त्वपूर्ण निकायहरूको नेतृत्व लिन सहज हुनेछ ।

यसैगरी अन्य पेसामा प्रतिष्ठा हासिल गरिसकेका मानिसहरूलाई भोलि राजनीतिक तथा अन्य उच्च पदमा पुगेर आफ्नो कार्यकाल सकिएपछि फेरि आफ्नो पुरानै पेसामा फर्किन गाह्रो हुन्छ, तर पत्रकारितामा हुनेहरूलाई आफ्नो पेसामा फर्कन चाहे खासै अप्ठ्यारो पर्दैन । साथै उमेरको हदबन्दी नहुने हुँदा सक्रिय रहन सके जीवनबाटै अवकाश प्राप्त नभएसम्म यो पेसाबाट बाहिरिनुपर्दैन । विशेषगरी छापा र अनलाइन माध्यममा काम गर्नेहरूका लागि ‘रिपोर्टर’ हुँदाको ‘मोबिलिटी’को अनुभवलाई ‘ओपिनियन मेकर’का रूपमा जीवनको उत्तराद्र्धसम्ममा उपयोग गर्न पाउनु पत्रकारिता क्षेत्रको सुन्दर र सबल पक्ष हो ।

[email protected]