दोस्रो गुर्खा अन्तर्राष्ट्रिय तेक्वाण्दो प्रतियोगिता

दोस्रो गुर्खा अन्तर्राष्ट्रिय तेक्वाण्दो प्रतियोगिता


लण्डन । एनजे तेक्वाण्दो एकादमी, लण्डनका ग्राण्ड मास्टर एन.जे. गुरुङको पहलमा दोस्रो गुर्खा अन्तर्राष्ट्रिय तेक्वाण्दो खुला प्रतियोगिता १७ अप्रिल २०११को दिनमा हृयारो लेइजर सेन्टर, ख्रिष्ट चर्च एभेन्यू, लण्डनमा सम्पन्न भएको थियो । मास्टर एन.जे.काअनुसार यो प्रतियोगिता अत्यन्त सफलताको साथ सम्पन्न गरिएको थियो ।
प्रतियोगिता सम्पन्न भएको दिनमा लण्डनका पाँचवटा बोरोका क्रमशः ब्रेण्ट, बार्नेट, हृयारो, इलिङ र साउथहलका मेयरहरुलाई भीआईपी अतिथिका रुपमा निमन्त्रणा गरिएको थियोभने अन्य अतिथिहरुमा एनआरएन अध्यक्ष सूर्य गुरुङ, डम्मर घले, एन्ड्रियु पासर, चित्र बहादुर गुरुङ, बिष्णु गुरुङ (अध्यक्ष, हाउन्स्लो नेपाली समाज), लक्ष्य गुरुङ (ओक नेपाली समाज), नन्दजंग गुरुङ (सिक्लेस पार्चे समाज), तथा मिन गुरुङ (तमु धि, युके)लाई निमन्त्रणा गरिएको थियो । यस प्रतियोगितामा ५ वटा नेपाली क्लबहरु क्रमशः लण्डन गुर्खा तेक्वाण्दो, गुर्खा तेक्वाण्दो, हिमालयन टाइगर, सुनवार तेक्वाण्दो र एनजे तेक्वाण्दो एकादमीले भाग लिएका थिए । ४८जना नेपाली प्रतियोगीहरुले सो प्रतियोगितामा भाग लिएका थिए भने प्रतियोगितामा कुल ३०३ स्प्यारिंग प्रतियोगीहरु थिए र पुम्सेतर्फ जम्मा ६६ जना प्रतियोगीहरु थिए । यस प्रतियोगितामा एनजे तेक्वाण्दो एकादमीले ठूलो सफलता हासिल गरेको थियो ।
प्रतियोगितामा यस एकादमीले १२ जनाले स्वर्ण, १० जनाले रजत पदक र पाँच जनाले काँस्य पदक जितेको थियो । स्वर्ण पदक प्राप्त गर्नेहरुमा क्रमशः अमृत महतो, अमिश राजभण्डारी, प्रबीन राई, सीमा तामांग, राउल ओप्रियन, देशमिता लिम्बू, मिरुना मगर, प्रबीन गुरुङ, किशोर नेपाल, आरोन हिल्स, बिपिन लामागुरुङ र परिक्षित पाञ्चाल थिए । त्यसैगरी रजत पदक जित्नेहरुमा बिपिन गुरुङ, ड्यानियल गुरुङ, परिक्षित पाञ्चाल, आदर्श गुरुङ, विक्टोर ट्रोफिमियक, मुश्ताफा हागी, पदमा गुरुङ, किशोर नेपाल, सजिता रावत र किरण पुन थिए । काँस्य पदक जित्नेहरुमा अमृत महतो, सीमा तामांग, विक्टोर ट्रोफीमियक, साल्ल्ार हमदम र सनम थापा थिए । यस प्रतियोगिताका लागि एनजे तेक्वाण्दो एकादमीका रेफरी तथा अफिसियल सहयोगीहरुमा क्रमशः शिशिर आचार्य, सजिता रावात, इसाक, हर्क गुरुङ, हरपाल सिंह र प्रमोद गुरुङ थिए ।
मास्टर एनजेले …”म एकजना वरिष्ठ तेक्वाण्दो मास्टरको हैसियतले नेपाली क्लबहरुका प्रशिक्षकहरुलाई र प्रशिक्षार्थीहरुलाई चाहिएको अवस्थामा राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय तहमा कुनै पनि खाले मद्दत गर्न तयार छु… तेक्वाण्दोलाई मैले पूर्णकालीन कामको रुपमा लिएको छु र यसलाई एउटा प्लेटफर्म बनाएर नेपाली खिलाडीहरुलाई विश्वमा चिनाउन चहान्छु…. यो प्रतियोगिता सम्पन्न गर्ने हाम्रो मूल उद्धेश्य सबै नेपाली तेक्वाण्दो प्रशिक्षकहरु र खिलाडीहरुलाई ऐक्यबद्धता गरी एउटै छातामुनि ल्याउनु रहेको छ र एकताबिना हामीले प्रगति गर्न सक्दैनौं भन्ने मेरो मान्यता रहेको छ” … भनेका थिए । -सुमल, मेस ।