कसले गिरायो सेनाको शान ?

कसले गिरायो सेनाको शान ?


babita basnet 15

– बबिता बस्नेत

प्रजातन्त्र दिवस, गणतन्त्र दिवस र सेना दिवसका दिन मात्र प्रयोग गरिने सैनिक मञ्चमा गत शनिबार बलिउडका दुई हिरोइनसहित नाचगानको कार्यक्रम गरियो । गीतका नाममा विगतमा श्रीमान् गम्भीर नेपाली… र अहिले सयौँ फूलका थुङ्गा हामी एउटै माला नेपाली… या भनौँ राष्ट्रिय गान मात्रै गुञ्जिएको सैनिक मञ्चको इतिहासमा पारदर्शी पहिरनमा बलिउडका हिरोइनहरू नाचे र अरूलाई पनि नचाए । जिन्दगीमा नाच्नु, खुसी हुनु, उत्सव मनाउनु राम्रै कुरा हो, तर कहिलेकाहीँ राम्रै कामले पनि कहाँ ? कस्तो परिस्थितिमा ? कोसँग ? कहिले ? र किन ? जस्ता कुराले फरक पार्दोरहेछ । झट्ट हेर्दा सांस्कृतिक कार्यक्रम नै त हो के फरक पर्छ र ? जस्तो लागे पनि यो नाचगानले मनोरञ्जनभन्दा बढी तरङ्ग पैदा गरेको छ । राम्रै उद्देश्यले गरिएको कार्यक्रम भए पनि विभिन्न प्रकारका टिप्पणीहरू भइरहेका छन् । बलिउडका हिरोइन आउँदा कति नै ठूलो अन्तर्राष्ट्रियस्तरको राजनेतालाई झैँ गरी एयरपोर्टमा स्वागत गर्न पठाएर सेनाको जर्नेल पदको अपमान किन गरियो ? हाम्रा हिरोइन त के उच्चपदस्थ अधिकारी जाँदा पनि सरकारीस्तरबाट त्यस्तो स्वागत पाउँदैनन् । त्यसमा पनि सेनाले ? असम्भव ।

सैनिक इतिहासमा विश्वमा कहीँ पनि यस्तो अभ्यास छैन कि कुनै देशका हिरोइन अर्को कुनै मुलुक जाउन् र सैनिकस्तरबाट तिनको स्वागतसत्कार होस् । हो, आफूले बोलाएपछि पाहुनाको स्वागत गर्नुपर्छ, हाम्रो संस्कार पनि त्यही नै हो । सैनिक श्रीमती सङ्घको आयोजनामा भएको कार्यक्रम हुनाले सैनिक श्रीमती सङ्घकी महासचिव, अध्यक्ष जसले स्वागत गरेको भए पनि हुन्थ्यो । कहिलेकाहीँ बाहिर देखिने कुरा र वास्तविकता फरक हुन सक्छ । सेनाले आधिकारिक रूपमा नबोलुन्जेल यस्तै हो भन्न सकिन्न, तर यदि खटाइएको हो भने सेनाका जर्नेललाई त्यसरी खटाउनु लज्जास्पद कुरा हो । नेपाली सेना जसले विभिन्न कठिन राजनीतिक परिस्थितिहरूमा पनि आफ्नो साख जोगाएर राख्यो । अहिले पनि यो मुलुकमा ध्वस्त हुनबाट बाँकी कुनै निकाय छ भने त्यो नेपाली सेना नै हो । यो मुलुकमा ध्वस्त हुन बाँकी अरू त खासै त्यस्तो कुनै संस्था छैन । त्यस्तो गौरवशाली निकायका उच्चपदस्थ व्यक्तित्वहरूले नाच्न आएका हिरोइनलाई स्कर्टिङ गरेकोजस्तो जुन दृश्य देखियो त्यो सुहाएन मात्र होइन हेर्दा आँखामा बिझाउनेखालकै थियो । नेपाली सेनाकी परमाधिपति राष्ट्रपतिका सुरक्षाप्रमुख फुल कर्णेल, प्रधानमन्त्रीका सुरक्षा प्रमुख कर्णेल अनि खै के–के नाम गरेका हिरोइनका लागि जर्नेल ? मानिसका मनमा स्वाभाविक रूपले यो प्रश्न खडा गरिदियो ।

गत वर्ष मुलुकमा भएको विनाशकारी भूकम्पबाट पीडितहरूको सहयोगार्थ भनी छिमेकी मुलुकबाट सोनाक्षी र मल्लिका नाम गरेका दुई हिरोइन आए । उनीहरू त्यसै आएका होइनन्, बोलाएर निम्तामा आएका हुन् । कतिले अहिले ती हिरोइनप्रति पनि आक्रोश पोखेको देखिएको छ, तर तिनलाई दोष दिनु मूर्खताबाहेक केही पनि होइन । नबोलाईकन कुनै पनि विदेशी कलाकार ‘नेपालमा गएर एक दिन नाचेर आऊँ न त’ भनेर हिँड्दैन । उनीहरूका साथमा केही नेपाली कलाकारलाई समेत राखेर सैनिक मञ्चमा सांस्कृतिक कार्यक्रम गरियो । सैनिक श्रीमती सङ्घको अयोजनामा गरिएको उक्त कार्यक्रममा नेपाली सेनाको ‘स्पेसल फोर्स’ खटाउनु कति उचित हो त्यो सेना स्वयम्ले समीक्षा गर्नुपर्ने विषय हो । नेपाली सेनामा रहेको सांस्कृतिक टोलीका सदस्यहरू तथा सामान्य सुरक्षाफौजलाई परिचालन गरे पुग्ने ठाउँमा ‘स्पेसल फोर्स’को परिचालन गरिनुलाई सामान्य रूपमा लिन सकिँदैन ।

सैनिक श्रीमती सङ्घले भूकम्पपीडितका लागि सहयोग गर्ने सोच बनाउनु प्रशंसायोग्य कार्य हो । नाचगानवाला कार्यक्रमहरूमा सिठ्ठी बजाउनेदेखि फूल, ढुङ्गा, अण्डालगायतका कुराहरूसमेत वर्षाउने सम्भावना हुने हुनाले सुरक्षा–व्यवस्थाको पनि आवश्यकता हुन्छ, तर सुरक्षा–व्यवस्था चाहिनेभन्दा बढी देखियो । राष्ट्रिय दिवसहरूका अलावा सैनिक मञ्चमा हिजो रामदेवले पनि आएर योगा गरेका र गराएका थिए । खासै विवाद भएको थिएन । खासमा नेपाली सेनाजस्तो राष्ट्रिय गौरवको निकायले नाचगानको टिकट बेचेर कार्यक्रम गर्नुलाई पनि त्यति शोभनीय मानिएको छैन । नेपाली सेनाका पदाधिकारीका श्रीमतीहरूको संस्था श्रीमती सैनिक सङ्घ नेपाली सेनाको मातहतको संस्था हो । नेपाली सेनाले भूकम्पका बेला गरेको दु:ख, मिहिनेत र गरेको उद्धारको प्रसंशा जति गरे पनि कम हुन्छ ।

sonkchhi-in-nepal-

श्रीमान्हरूका योगदान आफ्नै ठाउँमा छन्, हामी पनि केही गरौँ न त भनेर गर्नै मन लागेको भए श्रीमती सङ्घले भूकम्पपीडितहरूलाई गर्न सक्ने सहयोगका अनेक पाटाहरू छन् । अहिले जे गरियो त्यो शायद सैनिक संहिताभन्दा बाहिरको कुरा हो । विश्वका धेरै मुलुकमा सेनाले उद्धार गर्छ, बाटो खन्छ, हेल्थ पोष्ट बनाउँछ, जे गर्छ सबै आफ्नो कर्तव्य ठानेर स्वयम्सेवी रूपमा गर्छ । श्रीमती सङ्घका नाममा महँगो टिकट बेचेर व्यापार गर्न सेनालाई सुहाउँदैन । सेनाको कल्याणकारी फण्डकै राम्रो सदुपयोग हुन नसकेको अवस्थामा यस प्रकारको व्यापार जेसुकैका नाममा भए पनि शोभनीय हो जस्तो लाग्दैन ।
कतिले हिरोइन लिन जर्नेल आफैँ दौडिएर गए भन्ने आशयका प्रतिक्रियाहरू पनि दिएका छन् । तर, मिडियामा आएका फोटोहरू हेर्दा हिरोइनलाई देखेर जर्साब त्यति उत्साहित भएर फुरुङ्ग परेजस्तो देखिँदैन । फोटोमा देखिएका जर्साब ‘डिमोरोलाइज्ड’झैँ देखिएका छन् । कठिन मिहिनेतको यात्रामा कुनै दिन आफू त्यो ओहोदामा पुगेपछि त्यसप्रकारको ड्युटी गर्नुपर्ला भन्ने शायदै उनले सोचेका थिए । त्यसै पनि कतिपय अवस्थामा महिलाले गरेका कामलाई हाम्रो मुलुकमा ‘कच्चा काम’को संज्ञा दिइन्छ । यसपटकको बलिउड हिरोइन प्रकरणलाई सैनिक श्रीमती सङ्घले गरेको अपरिपक्व र असंवेदनशील कार्यका रूपमा लिनुपर्ने हुन्छ । त्यसो त कलाकारहरूलाई विभिन्न मुलुकमा सम्बन्ध सुधारका सेतुको रूपमा पनि नलिइने होइन ।

भारत–पाकिस्तानबीच पनि यस्ता कामहरू भइनै रहन्छन् । प्राय: गैरसैनिक सङ्घ संस्थाहरूले आयोजना गर्ने हुँदा यसप्रकारका चर्चा, परिचर्चा र टिप्पणीहरू हुने गर्दैनन् । सैनिक श्रीमती सङ्घले गर्ने कार्यक्रमहरू मनोरञ्जनात्मकभन्दा चेतनामूलक र महिलाको आत्मसम्मान जगाउने प्रकारका भए राम्रो हुन्थ्यो । भूकम्पमा पीडित महिलाको सङ्ख्या ठूलो छ, यदि सहयोग गर्ने नै हो भने कस्तो सहयोग गर्ने ? भनेर पहिल्यै योजनासहित अगाडि बढ्नु राम्रो हुन्छ । सैनिक अधिकारीका श्रीमतीहरूको पनि मुलुकमा सङ्गठित योगदान रहोस् भन्ने उद्देश्यले निर्माण गरिएको संस्था भएकाले सैनिक श्रीमती सङ्घले सेनाको शान नगिरोस् भन्नाका लागि कार्यक्रम गर्दा धेरै सचेततापूर्वक तयारी गर्नुपर्ने देखिन्छ । सेनाले पनि आफ्नो संहिताको ख्याल नगरी बहकिनु उचित हुँदैन ।