संयमित मधेसी, जनजाति आक्रामक !

संयमित मधेसी, जनजाति आक्रामक !


janajati

मधेसी मोर्चा र जनजाति समुदायका केही व्यक्तिले राखेको सिंहदरबार घेराउ कार्यक्रम जनताले दुई दिन सास्ती पाएपछि बालुवाटार सरेको छ । संयुक्त मोर्चाका नाममा गरिएको यो कार्यक्रमले सम्बन्धित पक्षको माग पूरा होला–नहोला भन्न सकिन्न, तर राजधानीवासी सर्वसाधारणले भने पाउनुसम्मको दु:ख पाइरहेका छन् । दुई दिनको सिंहदरबार घेराउ कार्यक्रमका क्रममा भएको खतर्नाक ट्राफिक जामका कारण विमानस्थल जाने यात्रुुदेखि अस्पताल हिँडेका बिरामी हुँदै सर्वसाधारणसम्मले सास्ती पाएका थिए ।

विगतमा सीमा अवरुद्ध भएका बेला गरिएको ११बुँदे मागलाई नै अहिलेको मागका रूपमा अगाडि सारिएको छ । आन्दोलनकारीहरूले अहिलेको प्रदर्शनलाई विगतको आन्दोलनको निरन्तरता भनेका छन् । ११बुँदे मागमा सीमाङ्कन, नागरिकता, समावेशीकरण, न्यायालयको पुनर्संरचना, नेपाली सेनाको प्रजातान्त्रीकरणलगायत उल्लेख छन् । मधेसी मोर्चाले यिनै माग राखेर ६ महिनासम्म सीमा क्षेत्रमा आन्दोलन गर्दा तराईवासी तथा अन्य भागका जनताले ठूलो सास्ती पाएका थिए । अहिले पुन: तिनै माग राखेर राजधानीकेन्द्रित आन्दोलन गरिएको छ । मधेसी मोर्चाको आन्दोलनको पुरानो स्वरूपभन्दा फरकचाहिँ के छ भने यसपटकको आन्दोलनमा जनजातिसहितको सङ्घीय गठबन्धन पनि मिसिएको छ । राजधानीको आन्दोलनमा मधेसीहरू कम र जनजातिहरू बढी आक्रामक देखिएका छन् ।

सिंहदरबार घेराउका क्रममा गत आइतबार र सोमबार जनजातिहरूले प्रदर्शनका क्रममा विदेशीहरूको समेत प्रयोग गरे । कतिपय साथीहरूकोमा बसिरहेका पर्यटक युवायुवतीलाई आन्दोलनमा सहभागी बनाएर विभिन्न नारासहितको रातो कपडा टाउकोमा बेर्न लगाइएको थियो । आन्दोलनको संवेदनशीलता र विदेशीले नेपालको भूमिमा के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने नबुझेका केही पर्यटकहरूले आफू बिनाजानकारी नै आन्दोलनमा साथीहरूका लागि आएको बताएका छन भने कतिचाहिँ रणनीतिक रूपमै आन्दोलनमा सहभागी भएको बुझिएको छ । जनजातिका नाममा युरोपियनहरूको ठूलो लगानी रहेको परिप्रेक्ष्यमा यसरी खुला रूपमा प्रदर्शनमा विदेशी उतारिनुलाई निकै गम्भीर र संवेदनशील रूपमा हेरिएको छ । नेपालको अध्यागमन कानुनअनुसार कुनै पनि विदेशीलाई राजनीतिक गतिविधिमा सामेल हुने अधिकार छैन । जनजातिहरूले बोकेको प्लेकार्डमा ११बुँदे मागभन्दा पनि साम्प्रदायिक सद्भाव भड्काउने नाराहरू लेखिएको थियो । नेपालको संविधानले साम्प्रदायिक सद्भाव भड्काउने कार्यलाई अपराध मानेको छ । उनीहरूद्वारा प्रस्तुत कतिपय प्लेकार्डमा ‘क्षेत्री–बाहुन विदेशी हुन् यिनीहरूलाई यो देशमा बस्ने अधिकार छैन’ जस्ता नाराहरू पनि लेखिएका थिए । त्यस्ता नाराहरू प्राय: महिलालाई बोक्न लगाइएको थियो । कतिपयलाई आफूले बोकेको प्लेकार्डमा के लेखिएको छ भन्नेसम्म पनि थाहा थिएन । यसरी साम्प्रदायिक र जातीय द्वन्द्व भड्काउने नारासहितका प्लेकार्ड बोक्नेलाई तत्काल कारबाही गर्न नसक्नु सरकारको लाचारी मानिएको छ ।

Madesi

यता मधेसीहरूले लगाएका नारा र बोकेका प्लेकार्ड भने संयमित देखिएका छन् । उनीहरूले साम्प्रदायिकताको छनक पनि दिएका छैनन् । ६ महिने मधेस आन्दोलनमा पनि साम्प्रदायिक नारा लगाइएको थिएन । जनजातिको आन्दोलनलाई भने विगतमा झैँ पश्चिमाहरूसँग रकम लिएर गरिएको प्रायोजित आन्दोलनका रूपमा हेरिएको छ । विगतमा यस्तै आन्दोलनका क्रममा खाएको मिनिरल वाटर, खाजा, ब्यानर, प्लेकार्डलगायतको रकम युरोपियन अन्तर्राष्ट्रिय संस्थाले व्यवस्था गरेकोमा व्यापक विरोध हुँदा उक्त संस्थाले जनजाति महासङ्घलाई दिँदै आएको सहयोग बन्द गर्नुपरेको थियो ।

जनजातिको आन्दोलन गरिरहेका विवादास्पद व्यक्ति आङकाजी शेर्पा तथा सङ्घीय मोर्चासँग मधेसी मोर्चाबीचको गठबन्धन आफैँमा आश्चर्यजनक छ । ११ बुँदेमध्येको प्रमुख माग सीमाङ्कन छ । प्राय: पहाडी भागमै थातथलो भएका जनजातिसँग आन्दोलनका लागि ऐक्यबद्धता गरिएको छ, तर मधेसीलाई सीमाङ्कनमा पहाड मिसाउने कुरा स्वीकार्य छैन । अहिलेको यो गठबन्धनलाई लिएर डा. राजेश अहिराजको भनाइ छ, ‘अहिले मधेसी र जनजातिबीच भएको एकता बसभित्र केही समयका लागि यात्रा गर्ने यात्रीको जस्तो मात्रै हो । बसमा ड्राइभर अर्कै हुन्छ, खलाँसी अर्कै हुन्छ, यात्रीलाई तिनीहरूबारे थाहा पनि हुँदैन । यी अवसरको खोजी गर्दै हिँडेका बटुवा हुन्, सामूहिक हिँडाइ केही समय हुन्छ, तर एकता सम्भव छैन ।’