काङ्ग्रेस सभापति यसरी अघि बढ्ने कि !

काङ्ग्रेस सभापति यसरी अघि बढ्ने कि !


Indra Baral

– इन्द्रबहादुर बराल

नेपालको लोकतान्त्रिकदेखि गणतान्त्रिक व्यवस्थाले स्थापनासम्म नि:सन्देह नेपाली काङ्ग्रेस र विशेष कोइराला परिवारको योगदानलाई कम आँक्न वा अवमूल्यन गर्न मिल्दैन । गणतन्त्रमा नेपालसम्म आइपुग्दा पनि कोइराला नै त्यसको अग्रणी स्थानमा भएको तथ्य जगजाहेर नै छ । यसर्थ नेपाली कांग्रेसमा मात्र नभई सिङ्गो राष्ट्रिय राजनीतिमा कोइराला परिवारको भूमिका निर्णायक नै रह्यो । तथापि, नेपाली काङ्ग्रेसमा भर्खरै सम्पन्न १३औँ महाधिवेशनले भने शीर्ष नेतृत्व कुनै पारिवारिक घराना या खास परिवारबाट नभई सर्वसाधारण नेपालीको छोराको हातमा राखिदिएको छ र त्यस शीर्ष नेतृत्वको प्रतिनिधि पात्र शेरबहादुर देउवा बन्नुभएको छ । लामो समयदेखि प्रतीक्षामा रहेको जनचाहना यसपटकको तेह्रौँ महाधिवेशनले पूरा गरेको छ । तर, आफ्नो चुनावी घोषणामार्फत कांग्रेस पार्टीभित्र न्याय, समानता र समावेशी समानुपातिकको प्रत्याभूति दिलाएर नेतृत्व लिन सफल पार्टी सभापति देउवासामु अबका दिन त्यति सहज र सुविधाजनक नहुन सक्छन् । यसतर्फ विशेष गम्भीर संवेदनशील हुन आवश्यक छ । आखिर चुनाव चुनाव नै हो कुनै न कुनै प्रकारको तालमेल र मिलोमतो गनैपर्ने रहेछ र भयो होला पनि । तर, चुनावी तालमेललाई अबका दिनमा व्यवस्थापन कसरी हुने हो बडो चासोका साथ हेरिएको छ । केन्द्रीय समितिलाई पूर्णता दिँदै पदाधिकारी चयनको विषय पनि त्यत्तिकै महत्त्वका साथ हेरिँदै छ ।

यो विषय पार्टीभित्र मात्र होइन आमचासोको विषय बनेको छ । हुन त नेपाली कांग्रेसका विगतका महाधिवेशनका परिणामहरूभन्दा भिन्दै प्रकारको मत परिणाम आएको छ र त्यो मत परिणामले पार्टीभित्र देखिएको दुई समूहलाई एकताबद्ध भएर जाने आदेश दिएको छ । यो १३औँ महाधिवेशनले पार्टी नेतृत्व (सभापति)लाई परिवारवादको घेराबाट बाहिर निकाल्दै कोइराला परिवारको योगदानलाई कदर गरी बीपीपुत्र डा. शशांक कोइरालालाई महामन्त्रीजस्तो महत्त्वपूर्ण पदमा निर्वाचित गराएर पार्टी एक ढिक्का बनाउने दिशा समाएको छ । सङ्गठन र प्रभावकारिताका दृष्टिले त अर्जुननरसिंह केसीलाई कम आँक्न सकिन्थ्यो, न त युवा नेता गगन थापा नै महामन्त्री बन्न नालायक थिए । पार्टीलाई सन्तुलित र सम्भावित दुर्घटनाका डरलाग्दा खतरालाई जोगाउन नै महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकारलाई त्यसरी प्रयोग गरे । उनीहरू धन्यवादका पात्र छन् । यदि महाधिवेशनको परिणामले अहिलेको स्थिति नल्याइदिएको भए पार्टीमा सम्भवत: ठूलै अनिष्ट पनि आउन सक्यो । यसर्थ नेपाली कांग्रेसको १३औँ महाधिवेशनको इतिहासमा विशेष र दीर्घकालीन महत्त्वको भएर रहनेछ ।
पुनश्च:, अबका समय कांग्रेस र पार्टी सभापति शेरबहदाुर देउवाका लागि अति जटिल र कठिनका देखिन्छन् । पहिलो कुरा पार्टी महाधिवेशका दौरान विभिन्न नेताहरूसँग गरिएका तालमेल र वचनबद्धतालाई सन्तोषजनक ढङ्गले व्यवस्थापन गर्नु रहेको छ । व्यवस्थापन भन्ने शब्द नै आफैँमा जटिल या कठिन प्रकृतिको हुन्छ । पार्टीभित्र धेरै नेता–कार्यकर्ता आत्मपरक चिन्तनबाट ग्रसित देखिन्छन् । आफ्नो हैसियत, क्षमता र प्रभावबारे सोचेर पार्टीका सबै अङ्गलाई पूर्णता दिन पार्टी सभापतिलाई बाटो खोलिदिनुका सट्टा स–साना झुण्ड बोकेर पार्टीका स्थापित हुने प्रकृति हाबी हुँदै गएको सन्दर्भमा सभापति देउवालाई अप्ठ्यारोमा पार्ने काम पनि भइराखेको देखिन्छ । यद्यपि सभापति देउवालाई दु:खमा साथ दिनेहरूले सुखमा आफ्ना आकाङ्क्षा राख्नु स्वाभाविक हुनसक्छ । तर, समय र परिस्थितिको सही र तथ्यफरक मूल्याङ्कन नगरी बढी महत्त्वकाङ्क्षी बन्ने प्रवृत्ति भने पार्टीलाई सुसङ्गठित र चुस्त–दुरुस्त बनाउने काममा बाधक बन्न सक्छ । एकातिर यो अवस्था छ भने अर्कोतिर पार्टीलाई एक ढिक्का बनाएर लाने काम यसै पनि त्यति सजिलो कुरा होइन ।

sher-bahadur-deuba

सभापति देउवासँग पराजित समूहको भूमिका अझै पूर्ण सकारात्मक भइसकेको छैन जस्तो देखिन्छ । पार्टीलाई पूर्णता दिने क्रममा तेरा र मेरा, यति र उति, यो वा त्यो मनोनयन हुनुपर्ने खालका धारणारूपी अड्चन सम्भवत: पाइलैपिच्छे तेर्सिराखेका होलान् । यस्ता प्रकारका बाधाअड्चनलाई फुकाउँदै अधिकतम लचकता साथ पार्टीका पदाधिकारी, सदस्य तथा विभागहरूलाई यथाशीघ्र पूर्णता प्रदान गर्नु पहिलो प्राथमिकता हो । यस कार्यमा अब सभापतिबाट ढिलासुस्ती हुनुहुँदैन । पद मात्र सबै कुरा ठान्नेहरूले पार्टी सङ्गठनको महत्त्व र लोकतन्त्रको भावना कि त बुझेका छैनन् वा बुझपचाएका मात्रै हुन्छन् । सभापति देउवालाई जसरी अधिवेशनमा चुनाव जित्न खुला रहियो त्यसरी नै अबका दिनमा पनि बाटो सहज गरिदिनुपर्छ भन्ने सोच सबैमा हुनु अपरिहार्य छ । अन्यथा चुनावी तालमेल र त्यसको व्यवस्थापनमा मात्र अलमल गरिराख्यो भने एकताबद्ध हुँदै गरेका वामपन्थीसँग वैचारिक, राजनीतिक र सैद्धान्तिक रूपमा लड्न सकिन्न र काङ्ग्रेस चुक्न सक्छ । त्यस्तो अवस्थामा विश्वमा आएको लोकतान्त्रिक लहरबाट नेपाली अलग्गिन सक्ने खतरा पनि त्यत्तिकै टड्कारो रूपमा देखिँदै छ । त्यसकारण लोकतन्त्रको सुदृढीकरण गर्दै सामाजिक आर्थिक न्यायको पक्षमा उभियौँ भने नि:सन्देह भोलिका पुस्ताले उज्यालो बिहानीको अनुभूति गर्न पाउनेछन् । राजनीतिको मूल उद्देश्य पनि त्यसदेखि बाहिर हुन सक्दैन ।

राजनीतिमा पद मात्रै सबैथोक ठान्ने र पदप्राप्ति गरेकाले सबै आफैँ मात्रै जान्नेसुन्ने हुँ भन्ने प्रवृत्तिका कारण पनि पदप्राप्तिका लागि धेरै नेता–कार्यकर्ता लालायित देखिएका छन् । यही प्रवृत्तिलाई रोक्न पनि पार्टीका सबै साथीहरूको भावनामा चोट नपुगोस् र उनीहरूका भावनालाई पनि धैर्यताका साथ सुन्ने र यथोचित कदर गर्ने परम्परा पार्टी नेताहरूले बसाउनुपर्छ । साथै आफ्नो वरिपरि घुमिरहने ‘गणेश भक्ति’लाई पनि आवश्यकता र औचित्यको आधारमा स्वीकार गर्ने वा दुत्कार्ने गर्न सक्नुपर्छ । हुन त कार्यकर्ता जिल्ला वा गाउँमा बसेर काम गर्नभन्दा केन्द्रमा धाउने र नेताहरूका घरघरमा चहार्ने प्रवृत्ति हाबी देखिन्छ । नेताहरूले पनि आफ्नो वरिपरि घुम्ने र हरदम ‘जय नेपाल’ बोल्नेलाई राम्रोसँग चिन्ने हुँदा जिल्ला–गाउँमा बसेर जनताको दु:खसुखको साथी बन्ने कार्यकर्ताको उत्साहमा कमी आउनु स्वाभाविकै हो । जनताको फुर्को समाएर नेता बन्न सकिन्छ भन्ने मान्यता बिर्सेर नेताको फुर्को नै बलवान हुने ठानेरै होला धेरै कार्यकर्ता दोस्रो बाटो रोज्न बाध्य छन् । त्यसैले अब पार्टीले कार्यकर्ताको मूल्याङ्कन गर्ने आधार सार्वजनिक गर्दै ती सार्वजनिक गरिएका आधारमा इमानदारीपूर्वक आफ्नो–अर्को नभनी न्यायोचित मूल्याङ्कन गर्ने परिपाटी बसाल्यौँ भने कुनै पनि तागतले कांग्रेस र लोकतन्त्रको सुनिश्चित भविष्यलाई धावा बोल्न सक्नेछैन । पार्टीमा पन्पिएको गुटबन्दी वा समूहका कारण सही मूल्याङ्कनको अभावमा इमानदार र सच्चा कार्यकर्तामा निराशा पैदा हुने हुँदा पार्टी र लोकतन्त्रले ठूलो क्षति व्यहोर्नुपर्ने स्थिति आउन सक्छ । त्यसकारण सबैभन्दा पहिले पार्टी केन्द्रीय नेतृत्वले सोच्नुपर्छ र ठोस नीति अपनाउँदै तल्लो निकायका कार्यकर्ताको मनोबल कसरी उच्च गर्न सकिन्छ भन्नेबारे व्यापक बहस र छलफल चलाउनुपर्छ ।

नेपाली काङ्ग्रेसको नीति र कार्यक्रम अनि आदर्शबारे अझै सघन रूपमा बहस र छलफलको आवश्यकता छ । जबसम्म राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपले कार्यकर्ता प्रशिक्षित हुँदैनन् तबसम्म पार्टी सङ्गठन सुखद बन्न सक्दैन । त्यसैले अब बन्ने पार्टीका विभागहरूरूमध्ये सङ्गठन, समन्वय र नीति तथा कार्यक्रमसम्बन्धी विभागमा सुयोग्य, क्रियाशील या जाँगिरला र इमानदार नेता तथा कार्यकर्तालाई समेट्नुपर्छ । केवल कर्मकाण्डी शैलीले सङ्गठनको विकास तथा विस्तार हुन सक्दैन । कार्यकर्तालाई केन्द्रमुखी होइन जिल्ला र गाउँमुखी बनाउनुपर्छ ।

पार्टीको नीति र कार्यक्रमका अतिरिक्त विगतमा पार्टीले गरेका कामहरूको पनि समीक्षा गर्नुपर्ने हुन्छ । प्रजातन्त्रको पुनस्र्थापनापश्चात् लामो समय सरकारमा बसेको पार्टीले जनताको पक्षमा भए–गरेको कामको जानकारी तल्लो तहसम्मका कार्यकर्तालाई गराउनुपर्छ । तर, कांग्रेस अहिलेसम्म त्यस्ता काममा चुकेजस्तो छ । त्यसैले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले कम्तीमा कांग्रेसको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादबारे गाउँ, वडासम्म बहस र छलफलको माध्यमबाट प्रशिक्षित गराउनुपर्छ । नेपालमा कम्युनिस्टहरूले राष्ट्रियताबारे कांग्रेसलाई कमजोर बनाउन खोजिरहेका छन् । अन्धाधुन्ध रूपमा भारतविरोधी राग अलापेर आफू मात्रै राष्ट्रवादी र राष्ट्रियताका पहरेदार ठान्दै तिनले भाँडभैलो मच्चाउन खोजेका छन् । यस्तोमा भारतको विरोध मात्र राष्ट्रवाद वा राष्ट्रियता होइन भन्ने सन्देश गाउँ, वडासम्म पुर्‍याउनुपर्ने दायित्व पनि काङ्ग्रेसको काँधमा छ ।

नेपालले दुवै छिमेकीलाई समान र सन्तुलित रूपमा हेर्नु या व्यवहार गर्नुपर्छ, अनि मात्र हाम्रो राष्ट्रवाद र राष्ट्रियता सबल, सुदृढ र मजबुत हुन्छ । नेपाली–नेपालीबीच, मधेसी र पहाडीबीच फाटो ल्याएर आन्तरिक राष्ट्रवाद मजबुत हुँदैन । पहिले त आन्तरिक राष्ट्रवादलाई सुदृढ गरौँ अनि मात्र हाम्रो राष्ट्रियतालाई कसैले हल्लाउन सक्दैन । वास्तवमा लोकतन्त्र र सामाजिक न्याय स्थापना गर्नु नै राष्ट्रियताको जग मजबुत गर्नु हो । यसर्थ राष्ट्रियताको मजबुतीका लागि लोकतान्त्रिक विधि र प्रक्रियाको माध्यमबाट समाजवादरूपी आर्थिक, सामाजिक न्याय दिन सकिन्छ भन्ने कांग्रेसको मान्यतामा आज सिङ्गो मुलुकको राजनीति घस्रिराखेको छ र त्यही दिशामा आफूलाई तीव्र गतिले अघि बढाउन काङ्ग्रेसको वर्तमान नेतृत्व सक्षम हुने विश्वास राखिएको छ । त्यसका लागि गत महाधिवेशनको चुनावी तालमेलको भावलाई उचित तवरले व्यवहारमा उतार्नु सभापतिका निम्ति पहिलो खुड्किलो हुने ठानिएको छ ।