सैनिक मञ्चमा नवौँ गणतन्त्र दिवस

सैनिक मञ्चमा नवौँ गणतन्त्र दिवस


गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा 2

२०६२-६३ को जनान्दोलनको सफलतापछि गठित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेकापछि हरेक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस, २०७३ का अवसरमा शनिबार सैनिक मञ्च (टुँडिखेल) मा मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कामु प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले गरेका सङ्घर्ष र जनआन्दोलनको जगमा स्थापित नवौँ गणतन्त्र दिवस मनाइरहँदा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानका क्रममा आफ्नो प्राण आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन तथा आन्दोलनका क्रममा अङ्गभङ्ग हुन पुगेका र घाइते हुनुभएका समस्त योद्धाप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताले लामो सङ्घर्षबाट सामन्ती प्रणाली र जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक सिद्धान्तमा आधारित राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मूलस्तम्भका रुपमा गणतन्त्र स्थापित गरेको आजको दिन एउटा ऐतिहासिक उपलब्धिको दिन भएको धारणा राख्नुभयो । आधुनिक नेपालको मजबुत जग निर्माण गर्ने जनमुखी एवम् लोकतान्त्रिक राज्य व्यवस्थाको सूत्रपात भएको युगान्तकारी क्षणका रूपमा आजको गणतन्त्र दिवसलाई लिनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संबिधानले सबै नेपालीलाई समान हक अधिकार प्रदान गरेको बताउँदै संविधानले राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको बताउनुभयो । संविधान कार्यान्वयनसँगै जारी लामो राजनीतिक सङ्क्रमण मूलतः अन्त्य भएको र मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यस प्रक्रियालाई जति छिटो गतिमा अघि बढाउन सकिन्छ, हामीले प्राप्त गरेका राजनीतिक उपलब्धि र लोकतान्त्रिक गणतन्त्रलाई त्यति नै समृद्ध र बलियो बनाउँदै अघि बढ्न सकिन्छ ।”

प्रधानमन्त्रीले कहीँकतै केही राजनीतिक वा अन्यभिन्न विचार वा असहमति भए वार्ता र संवाद कै माध्यमबाट समाधान गर्न सकिने बताउँदै संवादबाट समस्याको समाधान खोज्ने प्रयासमा संलग्न रहन सबैसँग पुनः आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– “वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवम् सुदृढीकरणका लागि प्रतिबद्ध छ ।”

प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरु र आम नेपाली जनतासँग मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सहकार्यको लागि आग्रहसमेत गर्नुभयो । संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिका दिशामा अघि बढ्नुपर्ने आजको मूल दायित्वलाई बिर्सेर कुनै पनि प्रकारका अन्योल, अस्थिरता वा अनिश्चितताको बाटोमा मुलुकलाई धकेल्ने दुर्भाग्यपूर्ण प्रयासले मुलुकलाई अघि बढाउने बाटोमा अवरोध पैदा गर्न सक्दछ भन्ने कुरामा सचेत र सजग रहन प्रधानमन्त्रीले आम देशवासीमा आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक विकास र सामाजिक समृद्धिबिनाको राजनीतिक अधिकार खोक्रो हुन्छ, राजनीतिक अधिकारले आर्थिक समुन्नतिको ढोका खोलेन भने हामीले चाहेको दिगो शान्ति सम्भव हुने छैन ।” जनताले संविधान निर्माणपछिको समुन्नत, स्वाभिमानयुक्त, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ भएको नेपाल देख्न चाहेको उहाँको भनाइ छ ।

समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७३ लेखिएको व्यानर प्रदर्शन गरेको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका जिविस, नगरपालिका, खेलकुद परिषद्का खेलाडी, स्थानीयले मार्चपास, नृत्य, कवाज व्याण्ड, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरेका थिए । समारोहमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिबाट शान्तिका प्रतीक परेवा उडाइएको राससले जनाएको छ ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा