नेपाल–भारत प्रबुद्ध समूहको संयुक्त बैठक असारमा

नेपाल–भारत प्रबुद्ध समूहको संयुक्त बैठक असारमा


Nepal-and-Indian

विगतमा छिमेकी भारत र नेपालबीच भएका विभिन्न सन्धि–सम्झौताको पुनरावलोकनका लागि सुझाव दिन गठन गरिएको प्रबुद्ध व्यक्ति समूहको संयुक्त बैठक आगामी असार १६ र १७ गते काठमाडौंमा बस्ने भएको छ । सन् १९५० को नेपाल–भारतमैत्री सन्धिसहित कैयन सन्धि–सम्झौता असमान रहेको भन्दै नेपालका तर्फबाट पुनरावलोकन र खारेजीको माग कतिपय दल या नेताविशेषले गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि दुवै देशबाट उक्त समूह गठन गरिएको थियो । असारमा हुने बैठक समूहको पहिलो बैठक हुनेछ ।

प्रबुद्ध समूहमा नेपालतर्फबाट भारतका लागि पूर्वनेपाली राजदूत डा. भेषबहादुर थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र राजन भट्टराई सदस्य छन् भने भारतका तर्फबाट भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीको संयोजकत्वमा महेन्द्र पी. लामा, बीसी उप्रेती र नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद सदस्य छन् ।

बैठकको मितिको विषयमा पनि दुवै पक्षबीच मतभेद रहँदै आएकोमा उल्लेखित तिथि तय भएको हो । राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण स्थगन, दिल्लीबाट राजदूत दीपकुमार उपाध्यायलाई अकस्मात् फिर्ता बोलाउने निर्णयपछि दुई देशको सम्बन्धलाई लिएर नकारात्मक टिप्पणी भइरहेको बेला बस्न लागेको बैठकले सकारात्मक सन्देश दिएको विश्लेषण गरिएको छ । समूहको बैठक बस्न नसक्दा यसको औचित्यमाथि नै प्रश्न उठिरहेको बेला उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय समकक्षी सुष्मा स्वराजलाई पत्र लेखेर काठमाडौंमा पहिलो बैठक गर्न सहयोग गर्न आग्रह गरेपछि बैठकको वातावरण बनेको बताइएको छ ।
नेपाल–भारत प्रबुद्ध समूह

धाराचौर स्कुललाई भारतीय सहयोग

नेपाल–भारत आर्थिक सहयोग कार्यक्रममार्फत नेपालका शिक्षा, स्वास्थ्यलगायत विविध क्षेत्रमा महत्त्वपूर्ण सहयोग उपलब्ध गराउँदै आएको छिमेकी मित्रराष्ट्र भारतले गुल्मी जिल्लाको पुर्कोटस्थित धाराचौर निम्नमाध्यमिक विद्यालयको भवन निर्माण कार्यका लागि एक करोड ६८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत साता भएको सो विद्यालय भवन निर्माण–सहयोगसम्बन्धी सम्झौतामा भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, गुल्मीका स्थानीय विकास अधिकारी डिलाराम पन्थी र सम्बन्धित विद्यालयका प्रधानाध्यपक खिमबहादुर केसीले हस्ताक्षर गरेका छन् । गुल्मीको विकट गाउँमा सन् १९५२ मा स्थापित उक्त विद्यालयको नयाँ भवन निर्माणपश्चात् अध्ययन–अध्यापन कार्यमा ठूलो सहजता आउने स्थानीयवासीको विश्वास छ ।

नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गतको साना विकास कार्यक्रममार्फत भारत सरकारले गुल्मीमा मात्रै दुई करोड ७२ लाख भारतीय सहयोगमा अन्य दुई परियोजना सम्पन्न गरिसकेको छ भने यस अतिरिक्त १२ करोड ९९ लाख लगानीका चार परियोजनाहरू निर्माणाधीन चरणमा छन् । गुल्मीमा भारतीय सरकारले १२ वटा एम्बुलेन्स पनि विभिन्न सङ्गठनलाई सहयोगस्वरूप प्रदान गरेको छ । साथै, आ.व. २०१५/१६ मा भारतले मर्मत सुधार र जीर्णोद्धार कार्यक्रमअन्तर्गत गुल्मीमा ५० करोड १५ लाख ३० हजारबराबरको सहयोग धार्मिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा गरेको जनाइएको छ ।