‘खड्गप्रसादको बयान’

‘खड्गप्रसादको बयान’


दुई वर्षअघि काठमाडौंमा सम्पन्न महाधिवेशनमा मैले बाहिरी शक्तिबाट जे–जति सहयोग प्राप्त गरेको थिएँ, त्योभन्दा बढी माधव नेपालले पाएछन्, दुवैतिर सहयोग भएको रहेछ । यहीकारण मैले धेरै कम मतान्तरले मात्र माधवलाई जित्न सकेँ । यो कुराले मेरो चित्त फाटियो, त्यसैले अध्यक्ष भइसकेपछि म सरक्क उत्तरतर्फ ढल्किएँ । उत्तरतिर ढल्किँदा राष्ट्रवादीजस्तो पनि देखिने र दक्षिणलाई ‘देखाउन’ पनि पाइने भएकोले म उत्तरतर्फ ढल्किएको हुँ । नेपाली जनता भेडा–बाख्रा हुन् भन्ने ज्ञान मैले गणेशमान सिंहबाट पाएको हुँ, गणेशमानको भनाइलाई शिरोधार्य गर्दै मैले जनतालाई आकाशे सपना देखाएको छु र उनीहरूले पत्याएकै छन् । काम गरेर देखाउन त कसले सकेका थिए र मैले गर्नु ! सपना देखाउने कुरा हो देखाइरहेछु । माओवादीले कस्ता–कस्ता सपना बाँडेर नेपालीलाई बेवकुफ बनाए र सिंहदरबारसम्मको यात्रा पूरा गरे । उनीहरूले हजारौं नागरिकको हत्या पनि गरेका थिए, तर मैले जनतालाई सपना देखाइरहँदा एउटै मान्छे मारेको छैन । माओवादीको विरोध गर्दा ‘हिरो’ बन्न पाइने बेलामा तिनको उद्युम विरोध गरेँ, अहिले माओवादीसँग मिलेर ‘हिरो’ बन्ने समय आएपछि म माओवादीसँग लपक्कै मिलेको छु ।

oli2

म खड्गप्रसाद ओली, पुख्र्यौली घर तेह्रथुमको आठराईमा जन्मिएको हुँ । चेत पलाउनुअघि मलाई कसरी हुर्काइयो, त्यसको याद रहेन, तर ६ वर्षपछिका सबैजसो वस्तुस्थितिको सम्झना छ मलाई । वर्ष दिनलाई पुग्ने खानेकुरा हाम्रोमा हुने थिएन, चैत लागेपछिका केही महिना निकै कष्टसाथ काटिन्थ्यो । मेरा पिताजी गाउँमा पढे–लेखेकामध्ये पर्दथे र हामीलाई पनि पढाउनुपर्छ भन्ने शिक्षा दिन्थे । मैले धुलोमा लेखेर ‘क’, ‘ख’ सिकेको हुँ ।

खान–लगाउन नै दु:ख भएपछि मेरा पिताजीले गाउँका अन्य केहीको सिको गर्दै झापा झर्ने निर्णय गर्नुभयो, गाईको पुच्छर समाउँदै र बाख्राका पाठालाई घाँटीमा डोरीले बाँधेर तान्दै तीन दिन लगाएर झापाको जङ्गलछेउ पुगेको र त्यतै कतै बास बसेको अस्तिझैँ लाग्छ । त्यो जीवन र मेरो यो जीवनको अन्तर हेर्दा म सपनामा बाँचिरहेको छु कि जस्तो पनि लाग्छ ।

बाल्यकालमा खान पुगेन, ज्यान फस्टाउन पाएन, झापा पुगेपछि स्कुल पढ्दापढ्दै यसो धनीमानी काटकुट गरेर सबैलाई आफूजस्तै गरिब बनाउन पाए कस्तो हुँदो हो जस्तो लाग्थ्यो । पारिपट्टिको नक्सलवाडीमा माओको नाम लिँदै कम्युनिस्टले धनीमानी काट्ने अभियान चलाएको सुन्दा आफूलाई पनि गाउँका धनीमान्छे जति काट्दै हिँड्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यस्तैमा एक दिन सीपी मैनाली र राधाकृष्ण मैनालीहरूले वर्गशत्रु खत्तम अभियान सञ्चालन गरेको भन्ने सुनेँ । सुनेका दिन रातभरि मलाई निद्रा लागेन र तिनको सम्पर्कमा पुग्ने उपायको खोजी गर्दै रहेँ । पढाइमा ठ्याम्मै मन जाँदैनथ्यो, तैपनि साढे नौ कक्षा पढ्दै थिएँ, पढ्दापढ्दै एक दिन एकजना मान्छेले सीपीको सम्पर्कमा मलाई पुर्‍याए । सीपीलाई पहिलोपटक भेट्दा साक्षात् देवताको दर्शन पाएझैँ भएको थियो मलाई । बीस–बाइस वर्षको केटो, भावनाप्रधान थिएँ, दिमागले कम भावनाले बढी काम गर्दा मन उत्ताउलिएको थियो । सत्तरीको दशकमा उमेर हुँदा त म यस्तो उट्पट्याङ्पूर्ण छु भने अपरिपक्व त्यस उमेरमा म कस्तो हुँदो हुँ अनुमान गर्न सक्नुहुन्छ । आफैँले मान्छेको गर्धन ताकेर त मैले मार हानिनँ, तर मार हान्नेहरूलाई खुब उकासेँ मैले । तर, यसरी म धेरै लामो समय सक्रिय हुन पाइनँ, प्रहरीले पक्राउ गर्‍यो र जेल पठायो । झन्डै पन्ध्र वर्ष जेल बसेपछि मरिचमान सिंह प्रधानमन्त्री भएका बेला म साथीहरूसहित यसो एउटा कागजमा सही गरेर छुटेँ । जेलबाट छुटेपछि सोझै प्रधानमन्त्री मरिचमान सिंहसँग साक्षात्कार हुन पुगियो । मरिचमानले आफू पनि पहिले कम्युनिस्ट भएको बताउँदै आइन्दा गलत क्रियाकलापमा सहभागी नहुन सुझाव दिएका थिए । उनले पञ्चायती व्यवस्थालाई सहयोग गर्नुपर्‍यो भन्दा मैले टाउको मात्र हल्लाएँ । सधैँ छुराजस्तो जिब्रो चल्ने मेरो त्यस दिन पहिलोपटक जिब्रो नचलेर टाउको हल्लिएको थियो । हामी कारागारमुक्त भइसकेपछि पार्टीले दिएको खाँदै, अह्राएको काम गर्दै बसियो । तर, त्यसको केही समयपछि नै देशमा काङ्ग्ेरसको नेतृत्वमा जनान्दोलन शुरु भयो, हामी पनि पार्टीको निर्देशनानुसार सक्रिय भयौँ र २०४६ चैतमा राजा वीरेन्द्रबाट बहुदलीय प्रजातन्त्र स्थापना घोषणा भएपछि म निकै खुशी भएँ । मेरो खुशीको कारण बहुदलीय प्रजातन्त्र घोषणा भएकोमा भन्दा आफू जोगिएकोमा थियो । म जेलमुक्त भएको एक डेढ वर्षपछि नै बहुदलीय व्यवस्था घोषणा नभएको भए दुई–चार वर्षभित्रै पञ्चायतलाई समर्थन गर्ने मेरो मानसिकता बनेको थियो । आफू विधिवत् पञ्च बन्नुअगावै पञ्चायत ढल्दा आफू जोगिएको ठानेर खुशी भएको थिएँ ।

बहुदलीय व्यवस्थामा म आफ्नै पार्टीभित्र ‘हाइलाइट’ हुन सकिरहेको थिइनँ । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने मौका पाएपछि मेरो क्षमताको चौतर्फी कदर भएको महसुस मैले गरेँ । त्यसपछिका दिनमा माधवकुमार नेपालको सफलतालाई नै आफ्नो सफलता ठानेर म हिँडिरहेँ । त्यहीबीचमा म विदेशी शक्तिको पनि नजिक पुगेँ । गृहमन्त्री रहँदा विदेशीसँग जोडिएको नातालाई मैले कसिलो पार्दै लगेँ र आफ्नो हैसियत बढाउन मैले विदेशीको साथ–सहयोग प्राप्त गर्दै गरेँ । जसको सहयोगमा पञ्चायत ढालेर बहुदलीय व्यवस्था स्थापना गर्ने कार्य भएको थियो उसैसँग बलियो सम्बन्ध बनाइराख्दा आफ्नो उन्नति हुने ठानेर म विदेशी ताकतसँग टाँसिएर बसेको थिएँ । नेकपा एमालेको बुटवल महाधिवेशनसम्म म विदेशी शक्तिको विश्वासपूर्ण सम्बन्धमा थिएँ । बुटवल महाधिवेशनमा झलनाथ खनाल र मेराबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदा मैले माधव नेपालको पूरा सहयोगको आशा गरेको थिएँ, तर त्यसबेला विदेशीले दोहोरो भूमिका निर्वाह गरेजस्तो लाग्यो मलाई । माधव नेपालले मलाई खुलेर सहयोग नगर्नुको कारण बुझ्दै जाँदा मैले विदेशीको दोहोरो भूमिका भएको महसुस गरेको थिएँ । त्यसपछि मैले आफ्नो सोच बदलेँ, पार्टीका सबै भ्रातृ संस्थाहरूमा आफ्नो नियन्त्रण नभएसम्म अध्यक्ष बन्न सकिँदैन भन्ने लाग्यो र आफ्नोअनुकूलका मानिसलाई भ्रातृ संस्थाको प्रमुख बनाउन सबै किसिमका प्रयास गरेँ । विदेशबाट प्राप्त हुने रकमबाट बालकोटमा डेढ–दुई करोडको एउटा झोपडी बनाएँ र अरू रकम पार्टीमा आफ्नो स्थिति सुदृढ बनाउन खर्च गरेँ । दुई वर्षअघि काठमाडौंमा सम्पन्न महाधिवेशनमा मैले बाहिरी शक्तिबाट जे–जति सहयोग प्राप्त गरेको थिएँ, त्योभन्दा बढी माधव नेपालले पाएछन्, दुवैतिर सहयोग भएको रहेछ । यहीकारण मैले धेरै कम मतान्तरले मात्र माधवलाई जित्न सकेँ । यो कुराले मेरो चित्त फाटियो, त्यसैले अध्यक्ष भइसकेपछि म सरक्क उत्तरतर्फ ढल्किएँ । उत्तरतिर ढल्किँदा राष्ट्रवादीजस्तो पनि देखिने र दक्षिणलाई ‘देखाउन’ पनि पाइने भएकोले म उत्तरतर्फ ढल्किएको हुँ । नेपाली जनता भेडा–बाख्रा हुन् भन्ने ज्ञान मैले गणेशमान सिंहबाट पाएको हुँ, गणेशमानको भनाइलाई शिरोधार्य गर्दै मैले जनतालाई आकाशे सपना देखाएको छु र उनीहरूले पत्याएकै छन् । काम गरेर देखाउन त कसले सकेका थिए र मैले गर्नु ! सपना देखाउने कुरा हो देखाइरहेछु । माओवादीले कस्ता–कस्ता सपना बाँडेर नेपालीलाई बेवकुफ बनाए र सिंहदरबारसम्मको यात्रा पूरा गरे । उनीहरूले हजारौं नागरिकको हत्या पनि गरेका थिए, तर मैले जनतालाई सपना देखाइरहँदा एउटै मान्छे मारेको छैन । माओवादीको विरोध गर्दा ‘हिरो’ बन्न पाइने बेलामा तिनको उद्युम विरोध गरेँ, अहिले माओवादीसँग मिलेर ‘हिरो’ बन्ने समय आएपछि म माओवादीसँग लपक्कै मिलेको छु ।

प्रचण्ड धोखेबाज हुन् भन्ने मलाई थाहा छ, यी प्रचण्डलाई कसरी बल्छीमा पार्नुपर्छ भन्ने पनि मलाई थाहा छ र पारिरहेको छु । दुई महिना पनि चल्दैन भनिएको सरकार आठ महिना चलाएर देखाइदिएँ, अब स्थानीय निर्वाचन गराउने भन्दै मङ्सिरसम्म तन्काउँछु । त्यसपछि राम्रो बजेट ल्याउने, राम्रो काम गर्ने र स्थानीय निर्वाचन पनि गराउने सरकारलाई किन बिदा गर्ने भनेर मै प्रश्न उठाउँछु र कार्यकाल लम्ब्याउने कोसिस गरिरहन्छु । माधव र झलनाथ खनालहरूले दु:ख दिए भने एमालेको अध्यक्ष र देशको प्रधानमन्त्री प्रचण्डलाई नै बनाइदिने पासा फ्याँक्छु म । सबै कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने नाममा मैले अध्यक्ष पद प्रचण्डलाई छोड्ने कुरा गरेँ भने वामपन्थी संसारको नायक पनि मै बन्छु, माधव र झलनाथको सेखी झार्छु र प्रचण्डलाई पनि अल्झाइरहन्छु । अब मलाई यो एमाले पार्टीबाट केही लिनु छैन र यसलाई मैले दिनुपर्ने पनि केही छैन । मैले नझुन्ड्याऊ भने पनि सिंहदरबारमा एउटा फोटो झुन्डाइहाल्छन् । देश जेसुकै होस् भारतजस्तो विशाल मुलुकसँग नझुकेको भनी मेरो नाम इतिहासमा लेख्ने बाध्यता इतिहासकारहरूलाई अवश्य हुनेछ । विदेशीको इच्छा र इसारामा संविधान बनाएर पनि राष्ट्रवादी बन्न पाइने यही एउटा देश नेपाल हो, त्यसको मज्जा लिइरहेको छु । भीमसेन थापा र भीम मल्लहरू साँच्चैका राष्ट्रवादी थिए त्यसैले तिनले मर्नु–मारिनुपर्‍यो, तर म यस्तो राष्ट्रवादी हुँ कि असली राष्ट्रवादीहरूले देशबाट पलायन हुनुपर्ने या मर्नु–मारिनुपर्ने अवस्था सिर्जना गर्दै छु । हिंसाबाट सुरु भएको मेरो राजनीतिक जीवन हिंसालाई नै निमन्त्रणा गरेर मात्र विश्राम लिँदै छु, जय झापा, जय पर्शुरामहरू !

– यादव शर्मा