नर्भिकमा नेपालकै पहिलो इन्डोस्कोपिक अल्ट्रासाउन्ड कार्यशाला

नर्भिकमा नेपालकै पहिलो इन्डोस्कोपिक अल्ट्रासाउन्ड कार्यशाला


Norvic pic

नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालमा रहेको पाचन प्रणाली उपचार केन्द्रमा इण्डोस्कोपिक अल्ट्रासाउण्ड विधिको प्रत्यक्ष प्रदर्शनसहित नेपालकै पहिलो कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । ‘इण्डोस्कोपिक अल्ट्रासाउण्ड इमेजिङबाट उत्कृष्ट नतिजा, पेटको इण्डोस्कोपी विधि भन्दा एक चरण अघि’ शीर्षक दिइएको उक्त कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न हस्पिटलहरूमा कार्यरत २० पेटरोग विशेषज्ञहरू सहभागी रहेका थिए । त्रि.वि. शिक्षण अस्पताल, बीर अस्पताल, नेपाल क्यान्सर अस्पताल, केही निजी अस्पताल र नर्भिकका सम्पूर्ण पेटरोग विशेषज्ञहरू (ग्यास्ट्रोइन्टेरोलोजिष्ट) उक्त कार्यशालामा सहभागी रहेका थिए ।

पेटरोगसम्बन्धी तमाम समस्याहरू सजिलै र समयमै निदान नहुँदा वा पत्ता नलाग्दा सम्बन्धित बिरामीहरू मात्रै नभएर चिकित्सकहरू समेत हैरान हुनुपर्ने बाध्यता विद्यमान रहेको परिवेशमा इण्डोस्कोपिक अल्ट्रासाउण्ड प्रविधिका कारण पाचन प्रणालीभित्र र बाहिरका अङ्गहरूमा हुने असामान्य घाउ, खटिरा (रोग)हरू पत्ता लगाउने चमत्कारिक तरिका चिकित्सकहरूले प्राप्त गरेका दाबी गरिएको छ । यसले पेटरोग विशेषज्ञहरू (ग्यास्ट्रोइन्टेरोलोजिष्ट)लाई बिरामीको पाचन संयन्त्रभित्रका गाँठागुठी (लिम्फ नोड्स), फोक्सो, अग्नाशय (प्यान्क्रियाज) र कलेजो जस्ता अङ्गङ्ग–प्रत्यङ्गहरूको अवस्था, तिनमा भएका असामान्य गडबडी आदि पत्ता लगाउने एउटा नयाँ सम्भाव्यताको उजागर गरेको बताइन्छ ।

नेपाली चिकित्सा इतिहासमै सर्वप्रथम करिवव अठार महिनापूर्व नर्भिक इन्टरनेशनल हस्पिटलमा सुरु गरिएको यो प्रविधिको सफलतम् प्रयोगबाट पेटसम्बन्धी जटिल निदानात्मक र इन्टरभेन्सनल गरी सयभन्दा बढी बिरामीहरू लाभान्वित भइसकेका अस्पतालको भनाई छ । यस प्रयोजनका निमित्त नर्भिकको पेटरोग विशेषज्ञहरूको टोलीले पेन्टाक्स इजी–३८७० युटीके लिनियर अल्ट्रासाउण्ड ग्यास्ट्रोस्कोप औजारको प्रयोग गरिरहेको छ । छिमेकी राष्ट्र भारतका धेरैजसो प्रमुख हस्पिटलहरूमा इण्डोस्कोपिक अल्ट्रासाउण्ड प्रविधिको व्यापक प्रयोग भइरहेको भएता पनि हामीकहाँ भने हालसम्म पनि यो प्रविधि उपलब्ध थिएन ।

इण्डोस्कोपिक अल्ट्रासाउण्ड के हो ?

सर्वसाधारणको जानकारीका लागि सामान्य भाषामा भन्नुपर्दा इण्डोस्कोपिक अल्ट्रासाउण्ड भन्नाले एउटा पाइप (नली) आकारको इण्डोस्कोपसँग जोडिएर रहेको भिडियो एक्स–रेलाई बुझ्नुपर्ने नर्भिक अस्पतालले जनाएको छ । भिडियो एक्स–रे भन्नाले उच्च आवृत्ति (हाई फ्रिक्वेन्सी) भएका ध्वनिका तरङ्गसहितको तस्बिर लिने प्रविधि हो, जसले पेटभित्रका विभिन्न अङ्ग–प्रत्यङ्गहरूको बनावट र अवस्थाबारे स्पष्ट रूपमा हेर्न चिकित्सकलाई मद्दत गर्दछ । इण्डोस्कोपी भन्नाले चाहिँ एउटा त्यस्तो प्रविधि, जसमा पाइपको टुप्पोमा बत्ती जडान गरिएको अन्दाजी १ मिटर लामो नरम ट्युब (पाइप) बिरामीको मुखबाटभित्र पठाई खाद्यनली, आमाशय (पेट) र डयुडेनम (सानो आन्द्रा)सम्म पुर्‍याएर तत्सम्बन्धित आन्तरिक अङ्गहरूको घाउ/रोग आदि हेर्ने काम गरिन्छ ।

इण्डोस्कोपिक अल्ट्रासाउण्डमा इण्डोस्कोप नामक पाइपसागै जोडिएको भिडियो एक्स–रे खिच्ने मेसिन (अल्ट्रासाउण्ड)ले पेटरोग विशेषज्ञलाई पाचन प्रणालीभित्र रहेका अङ्गहरू, तिनका वरिपरिका वनावट वा (विकृति) आदि स्पष्ट र सुक्ष्मरुपमा हेर्न सकिने हुादा देखिने ती चित्रहरूलाई सी.टी. स्क्यान वा एम.आर.आई. स्क्यानसँग दाँज्न र धेरै अवस्थाहरूमा ती भन्दा पनि राम्रो गुणस्तरमा पाउन सकिने हुन्छ ।

बिरामीले कसरी लाभ पाउँछन् त ?
यो प्रविधि पेटरोगसम्बन्धी कैयन समस्याहरू खुट्याउन, पेटका अङ्ग–प्रत्यङ्गहरूको अर्दुबरोग र त्यसको श्रेणी विभाजन गर्न, सुरु–सुरुको अवस्थाको अग्न्याशय सुजन (प्यान्क्रियाटाइटिस) पत्ता लगाउन तथा आन्द्राका भित्ताहरूमा फैलिने असामान्य मांशपेशीहरूको अध्ययन गर्न वरदान सावित हुँदै गएको छ । यसको असाधारण चित्रको स्पष्टताले गर्दा जटिल रोगहरू पनि पत्ता लगाउन सजिलो बन्दै गएको छ । इण्डोस्कोपिक अल्ट्रासाउण्डको सहायताबाट गरिने बायोप्सी परीक्षणले त यो प्रविधिलाई रोग निदानको एउटा औजारबाट पूर्णतया इन्टरभेन्सनल थेराप्युटिक टेक्निकमा परिणत गरिसकेको छ । यसले निश्चय नै बिरामीहरूले अत्यधिक मात्रामा लाभ लिन सक्ने अस्पतालको दाबी छ ।

उक्त कार्यशाला नर्भिकका वरिष्ठ चिकित्सक एवम् पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको निर्देशनमा आयोजित थियो भने कार्यशालामा दिल्लीस्थित वि.एल.के. सुपर स्पेशियालिटी हस्पिटलका पेट तथा कलेजो रोग विशेषज्ञ तथा निर्देशक डा. योगेश वात्रा आमन्त्रित अतिथिका रुपमा सहभागी थिए ।
प्रत्यक्ष प्रसारणसहितको उक्त कार्यशालामा इण्डोस्कोपिक अल्ट्रासाउण्ड विधिबाट उपचार प्राप्त गर्ने ७ जना जटिल बिरामीहरूको निदानात्मक एवम् उपचारात्मक इण्डोस्कोपिक अल्ट्रासाउण्ड गरिएको थियो । ७ बिरामीहरू मध्ये अधिकांशको पेटको रोग निदान हुन नसकेको, प्यान्क्रियाटोविलियरी प्रणालीमा अर्बुद रोग भएको अनुमान गरिएका बिरामीहरू थिए । ७ मध्ये १ जनाको शल्यक्रियात्मक उपचार समेत सम्भव नहुने अवस्था, २ जनाको शल्यक्रियात्मक विधिबाट उपचार सम्भव हुने अवस्था पाइएको थियो भने बााकी औषधोपचारबाटै ठीक पार्न सकिने अवस्थामा पाइएका थिए । ती सबै बिरामीहरू लामो समयसम्म रोग पत्ता लाग्न नसकी अन्यौलको अवस्थामा रोगबाट पीडित रहँदै आएका थिए । इण्डोस्कोपिक अल्ट्रासाउण्ड पश्चात् तिनको रोगको यकिन निदान भई उपचारका विधि अपनाउन सजिलो भएको बताइएको छ ।

सबै बिरामीहरूको बायोप्सी परीक्षण गर्न नमूना लिइएको र बायोप्सीपछि रोगबारे यकिन गर्न झनै सजिलो पर्ने सो अवसरमा बताइयो । बिरामीको रोगको प्रकृति हेर्दा, तिनको एफ.एन.ए.सी. परीक्षण गराउन अधिकांशमा एक भन्दा बढी निडिल (सुई) को प्रयोग हुादा उनीहरूलाई झण्डै १ लाख बराबरको खर्च लाग्ने हुन्थ्यो भने ती सबैमा उक्त प्रक्रिया नि:शुल्क गरिएको थियो । साथै कार्यशालामा सहभागी चिकित्सकको नाम दर्ता र सहभागिता शुल्क नलिइएको अस्पतालका संस्थागत सञ्चारका आरपी मैनालीले जानकारी दिए ।