रङ्गशालामा बाबुरामको ‘एकल शो’

रङ्गशालामा बाबुरामको ‘एकल शो’


Baburam-Bhattarai

करिब २५ हजार मानिसलाई दशरथ रङ्गशालामा भेला गरेर डा. बाबुराम भट्टराईले गत आइतबार (जेठ ३० गते) आफ्नो नेतृत्वमा ‘नेपाल’ नामक पार्टीको घोषणा गरे । विभिन्न मुलुकका राजदूतहरूलाई समेत आमन्त्रण गरिएको सो भेलामा मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गतका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस सहभागी भएका थिए । अत्यन्त भड्किलो र खर्चिलो सो समारोह आयोजना गरिएकै दिन राजधानीबाट प्रकाशित हुने सबै दैनिकमा दुई–दुई पृष्ठको विज्ञापन प्रकाशित गरिएको थियो भने केही टेलिभिजनहरूबाट भेलाको प्रत्यक्ष प्रसारण पनि भएको थियो । विज्ञापन र प्रचार–प्रसारमा मात्र बाबुराम भट्टराईले करोडौँ रुपैयाँ खर्च गरेको देखिएको छ । त्यस्तै, सहभागीहरूलाई जिल्लाजिल्लाबाट ल्याउन लाखौँ यातायात खर्च र कतिपय आगन्तुकलाई रु. ५००।– दरले भत्ताको समेत व्यवस्था गरेको हेर्दा नयाँ शक्तिले पार्टीको घोषणा समारोहकै नाममा झन्डै १२ करोडभन्दा बढी रुपैयाँ खर्च गरेको अनुमान आर्थिक विश्लेषकहरूले गरेका छन् । भट्टराईको ‘एकल शो’जस्तो देखिने उक्त कार्यक्रममा उनको नारा ‘अबको निकास आर्थिक विकास’ र कार्यक्रम सञ्चालिका करिश्मा मानन्धर बाबुरामपछिको आकर्षण बनेका थिए । समारोहमा हिसिलाकै ‘ताउर–माउर’ हेर्नुपर्ने हो कि भनी चिन्तित सहभागीहरू मञ्चमा करिश्माको रूप र उनको पहिरन देखेर मोहित भएका थिए । यद्यपि उद्घोषिकाको रूपमा उनको प्रस्तुति निकै फितलो र लज्जास्पद थियो । काङ्ग्रेस नेता प्रदीप गिरीलाई समाजवादी चिन्तक डा. प्रदीप भट्टराई भनेर बोलाएपछि मञ्चमा पुगेका गिरीले ‘को वक्ता बोलाउँदै छु भन्नेबारे उद्घोषिकाले नाम बोलाउनुपूर्व नै राम्ररी बुझ्न’ सुझाव दिएका थिए । गलत उच्चारण, अस्वाभाविक हाँसो र चिच्याहटका कारण करिश्माको सौन्दर्यलाई गिज्याएको महसुस कार्यक्रमका सहभागीले गरेका थिए ।

पार्टीको घोषणा समारोह पूरै बाबुराममय बनेको थियो । वक्ताहरू बाबुराम भट्टराईको प्रशंसा गर्थे, र उनैलाई शुभकामना दिन्थे । कार्यक्रम स्थलवरिपरि बाबुरामको एकल तस्बिर (तर चे ग्वे भाराजस्तै देखिने स्केच) सहितको पोष्टर टाँगिएका थिए । मञ्चबाट विशेष सम्बोधन गरी पार्टी घोषणा गर्ने पनि बाबुराम एक्लै भए । नयाँ शक्ति नेपालमा अरू को–को नेता छन् भन्ने ‘हाइलाइट’ गर्नै खोजिएन । त्यसैले गर्दा उक्त कार्यक्रम पार्टी घोषणा समारोह नभई बाबुरामको प्रशंसा सभाजस्तो हुन पुगेको थियो । चर्को कम्युनिष्ट पृष्ठभूमिबाट आएका बाबुरामको ‘चोला परिवर्तन समारोह’मा नयाँ शक्तिका अन्य कुनै नेताले ‘एक्स्पोजर’ पाएनन् जसले ‘एक्स्पोजर’ पाए तिनले मौकाको फाइदा उठाउन सकेनन् । हल्ला, चर्चा र खर्चअनुरूप कार्यक्रम आकर्षक र व्यवस्थित हुन नसकेको महसुस सहभागीले गरेका छन् । त्यस्तै कार्यक्रममा बाबुराम भट्टराई स्वयम्को प्रस्तुति पनि आकर्षक रहेन । तथापि उक्त समारोह भने पूरै बाबुराममा मात्र केन्द्रित थियो र केही नयाँ पन दिन उनले गरेको प्रयासलाई भने सकारात्मक रूपमा लिइएको छ ।

विज्ञापन मात्र करोडौँको

Naya ADVT

बाबुराम भट्टराई नेतृत्वमा जेठ ३० गते घोषित दल नयाँ शक्ति नेपालले प्रचार–प्रसारका निम्ति कति रकम खर्च गर्‍यो र उसलाई त्यस निम्ति कहाँबाट रकम प्राप्त भएको थियो भन्नेबारेमा अहिलेसम्म जानकारी गराइएको छैन । उक्त पार्टीले प्रचारका निम्ति निकै ठूलो रकम खर्च गरेको देखिएको छ र नयाँ शक्ति भएकोले उसले आम्दानीको स्रोत र खर्चको विवरण तत्काल सार्वजनिक गरी पारदर्शिताको उदाहरण पेस गर्ने विश्वास पनि गरिएको छ । भट्टराईले देशका दशवटा राष्ट्रिय दैनिकमा ज्याकेट विज्ञापन उपलब्ध गराएका थिए भने केही टेलिभिजनबाट विज्ञापन प्रसारण गराउनुका साथै प्रत्यक्ष प्रसारणसमेत गराइएको थियो । दशवटा दैनिक पत्रिकालाई मात्र एक करोड अठ्ठाईस लाख (१,२८,००,०००।–) रुपैयाँबराबरको विज्ञापन उपलब्ध गराइएको एक समाचार सूत्रले जनाएको छ । प्राप्त जानकारीअनुसार कान्तिपुर दैनिकलाई रु. बीस लाखको, नागरिकलाई रु. चौध लाखको, नयाँ पत्रिकालाई रु. दश लाखको, अन्नपूर्ण पोष्टलाई रु. बाह्र लाखको, काठमाण्डु पोष्टलाई रु. दश लाखको, दी हिमालयनलाई रु. सोह्र लाखको, नेपाल समाचारपत्रलाई रु. बाह्र लाखको, कारोबारलाई रु. बाह्र लाखको, राजधानीलाई रु. दश लाखको र आर्थिक अभियानलाई रु. बाह्र लाखको विज्ञापन उपलब्ध गराइएको थियो । तर, अहिलेसम्म यसको आधिकारिक पुष्टि हुन भने बाँकी नै छ ।