अख्तियार र अदालतबीच ‘नाता–विवाद’

अख्तियार र अदालतबीच ‘नाता–विवाद’


प्रधानन्यायाधीशको आदेशलाई लिएर चौतर्फी चर्चा

Karki-Karki

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलगायत विरुद्ध परेको एक मुद्दा प्रधानन्यायाधीश सुशीला कार्कीले हेर्न मिल्ने हो या होइन भन्ने विवाद पैदा भएको छ । का.मु. प्रधानन्यायाधीश कार्कीले ‘मुद्दा हेर्न मिल्ने’ आदेश दिइसक्नुभएको भए पनि न्यायिक एवम् कानुनी वृत्तमा यो बहसको विषय बनिरहेको छ । प्रमुख आयुक्त कार्की, आयोगमा कार्यरत योगेश्वर रोमखानी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतलाई विपक्षी बनाएर अदालतको मानहानि गरेको दाबीसहित सर्वोच्च अदालतमा शान्ता दीक्षितले दिएको मुद्दा प्रधानन्यायाधीश कार्कीले हेर्न मिल्ने या नमिल्ने भनी बहस हुँदा उहाँले गत जेठ ३० गते ‘हेर्न मिल्ने’ आदेश दिनुभएको छ । मुलुकी ऐनको अदालती बन्दोबस्त तथा अपुतालीसम्बन्धी महलमा सात पुस्ताभित्रका व्यक्तिलाई हाडनाताभित्रको मानेको छ र नाताभित्रको व्यक्तिका बारेमा कुनै मुद्दा परे नाता पर्ने न्यायाधीशले त्यस्तो मुद्दा नहेर्ने कानुनी व्यवस्था रहेको छ । अदालतले आदेश दिइसकेपछि पनि आफ्ना पति कनकमणि दीक्षितलाई थुनामुक्त नगराएर अदालतको अवहेलना गरेको भन्ने दाबीसहित केहीअघि शान्ता दीक्षितले सर्वोच्च अदालतमा प्रमुख आयुक्त कार्कीसहित अख्तियारविरुद्ध मुद्दा दर्ता गराउनुभएको थियो । कामु प्रधानन्यायाधीश कार्कीसँग शान्ता दीक्षितको सात पुस्ताभित्रको नाता पर्ने र लोकमानसिंह कार्कीसँग पनि सात पुस्ताभित्रकै नाता पर्ने भएकोले प्रधानन्यायाधीश कार्की स्वयम्ले यो मुद्दा हेर्न नमिल्ने भनी अख्तियार पक्षका वकिलहरूले लिखित पत्रमार्फत प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएका थिए । प्रधानन्यायाधीश कार्कीले आफूले हेर्न मिल्ने आदेश गरेका कारण यो प्रकरण यतिबेला गम्भीर छलफलको विषय बन्न पुगेको हो ।

प्राप्त जानकारीअनुसार शान्ता दीक्षित र सुशीला कार्की नातामा फुपू–भदै हुन् । अर्जुनदेव बस्नेतका तीन छोरामध्ये नरवीर बस्नेतका छोरा खड्ग बस्नेत, खड्गका छोरा दलवीर र दलवीरका छोरा रामवीर बस्नेत हुन् । रामवीरकी छोरी शान्ता बस्नेतको कनकमणि दीक्षितसँग प्ेरमविवाह भएको हो । अर्कोतिर नरवीर बस्नेतको आफ्नै कान्छा भाइ तिलविक्रम बस्नेतका चार छोरामध्ये कान्छो हेमविक्रम बस्नेतकी छोरी लीलाकुमारी बस्नेतको विवाह कार्की परिवारमा डिल्लीबहादुर कार्कीसँग भएको थियो । डिल्ली र लीलाकुमारीका पाँच सन्तानमध्ये एक सुशीला कार्की हुन् । जनरल भूपालमानसिंह कार्की र सुशीला कार्कीका पिता डिल्लीबहादुर कार्की नातामा दाजुभाइ हुन् । भूपालमानसिंह कार्कीका छोरा लोकमानसिंह कार्की र डिल्लीबहादुर कार्कीकी छोरी सुशीला कार्की नातामा दिदी–भाइ पर्दछन् । सात पुस्ताभित्रको नाता पर्ने देखिएपछि अख्तियारका वकिलहरूले नाता प्रमाण खोल्दै कानुनअनुसार प्रधानन्यायाधीश कार्कीले शान्ता दीक्षित र लोकमानसिंह कार्कीको मुद्दा हेर्न नमिल्ने भनी लिखित निवेदन दिएका थिए । वकिलहरूको प्रामाणिक आधारलाई समेत पन्छाएर प्रधानन्यायाधीश कार्कीले शान्ता दीक्षित र लोकमानसिंह कार्कीबारेको मुद्दा ‘हेर्न मिल्ने’ आदेश गर्नुभएपछि न्यायिक क्षेत्र आश्चर्यचकित भएको छ । सम्मानित सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले दिनुभएको आदेशमा भनिएको छ, ‘… तथ्य, कानुनी व्यवस्था एवम् विवेचनासमेतको आधारमा अनुरोधकर्ता लोकमानसिंह कार्की अ.ब. (अदालति बन्दोबस्त) ३० ले मुद्दा हेर्न रोक लगाएको नाताभित्र परेको नदेखिएकोले निज संलग्न रहेको मुद्दा मसहितको इजलासबाट हेर्न मिल्ने नै देखिन आयो ।’

यससम्बन्धी मुलुकी ऐन, अदालती बन्दोबस्तको ३० नं. मा ‘आफ्नो हाडमा अपुताली परे खान पाउने नाता मामा, माइजू, सानी ठूली आमा, सानु ठूलो बाबु, सासू, ससुरा, फुपू, फुपाज्यू, जेठु, साला, मीत, आफ्ना दिदी, बहिनी, छोरी र यिनै दिएका ज्वाइँ, भानिज, भाञ्जी, भाञ्जीबुहारी, आमाका बाबु वा आमा, मन्त्र सुनाउने गुरुबा, गुरुमा, मन्त्र सुनाएका शिष्य, शिष्यनी, आफूले लेनदेन कारोबार गरेका र नोकर–चाकर र लेखिएका मानिसको एकाघरसँग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुँदैन’ भनी स्पष्ट रूपमा लेखिएको छ ।

कार्की युरोपतर्फ
यता नातासम्बन्धी विषयलाई लिएर बहस तथा चर्चा चलिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की गत शनिबार युरोप प्रस्थान गर्नुभएको छ । फ्रान्सको मिनिस्टर अफ जस्टिस, सेन्ट्रल सर्भिस अफ प्रिभेन्स अफ करप्सनका प्रमुखको निमन्त्रणमा कार्की त्यसतर्फ प्रस्थान गर्नुभएको हो । आइतबार फ्रान्स पुग्नुभएका प्रमुख आयुक्त कार्कीको फिनल्यान्डका प्रधानमन्त्रीसमेत रहिसकेका ओईसीडीका डेपुटी जनरल सेक्रेटरीसँग भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर छलफल भएको छ । पेरिसमा आयोजना भएको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्यक्रममा सहभागी भएर कार्की इटाली जानुहुने भएको छ । बुधबार र बिहीबार इटालीमा रहनुहुँदा उहाँले त्यहाँका न्यायउपमन्त्रीसँग भेटवार्ता गर्नुहुने भएको छ भने हेड अफ न्यासनल एन्टी करप्सन अथोरिटीसँग पनि उहाँले छलफल गर्नुहुने बताइएको छ । प्रमुख आयुक्त कार्की शुक्रबार मोनाको पुग्नुहुने र उहाँले त्यहाँ भ्रष्टाचार नियन्त्रण र सुशासन तथा न्यायसँग सम्बन्धित मन्त्रालयका राज्यमन्त्रीसँग विशेष भेटवार्ता गर्नुहुने भएको छ । मोनाकोबाट पोर्चुगल जानुहुने प्रमुख आयुक्त कार्कीले त्यहाँ एटर्नी जनरल तथा काउन्सिल अफ प्रिभेन्सन अफ करप्सनसँग महत्त्वपूर्ण छलफल गर्नुहुने बुझिएको छ । कार्की आगामी ११ गते (असार) स्वदेश फर्कनुहुनेछ ।