हामी किन निष्पक्ष भएनौँ ?

हामी किन निष्पक्ष भएनौँ ?


घटना र विचार २२औँ वर्ष प्रवेशको अवसरमा विशेष

Dev Prakash Tripathi 12

– देवप्रकाश त्रिपाठी

पत्रकारिता निष्पक्ष हुनुपर्छ भन्ने हामीले बुझेका छौँ, तर यो निष्पक्षता देश र मानवताको सवालमा लागू हुन सक्दैन । मानवता र देशको पक्ष लिँदा निष्पक्ष पत्रकारितामा धक्का पुग्छ भने हामी त्यस्तो पत्रकारितालाई धक्का पुर्‍याउन चाहन्छौँ ।

मेघालयबाट नेपालीलाई निष्कासन गरिएको विरोधमा एक सभाको आयोजना हुँदै थियो । वि.सं. २०४४ सालको कुरा हो, त्रिचन्द्र कलेजमा मेरो सभापतित्वमा हुन लागेको विरोध सभा शुरु नहुँदै सभास्थलबाट म पक्राउ परेँ, सत्र दिन हनुमानढोकास्थित प्रहरी हिरासतमा राखिएपछि भद्रगोल जेलमा पुर्‍याइयो । त्यसबेला चर्चित एवम् प्रतिष्ठित पत्रकार हरिहर विरही योगी नरहरिनाथको अन्तर्वार्ता प्रकाशित गरेबापत राजकाज मुद्दा लागेर जेलमै हुनुहुन्थ्यो, त्यहीँ विरहीजीसँग भएको भेट पछि मित्रतामा रूपान्तरित हुन पुग्यो । केही महिनापछि हामी फरक–फरक समयमा जेलमुक्त भयौँ । जेलमा एउटा प्रचलित भनाइ छ– ‘रेलको साथी स्टेसनसम्म, जेलको साथी गेटसम्म ।’ आफ्नो कोही मित्र जेलमुक्त हुँदा मूलगेटसम्म पुर्‍याउने चलन जेलमा हुन्छ, गेटबाट बाहिरिएपछि फेरि भेट होला–नहोला, भेट भए पनि मित्रता कायम रहला या नरहला त्यसको निश्चितता हुँदैन, त्यसैले जेलभित्र शुरु भएको मित्रवत् सम्बन्ध जेलको गेटसम्म मात्र सीमित हुन्छ भन्ने धारणा कैदी–बन्दीहरूमा हुन्छ । तर, हरिहर विरहीजीसँग जेलमा आरम्भ भएको मित्रताले बाहिरी संसारमा पनि निरन्तरता पायो र पाइरहेछ । उहाँजस्ता शालीनता र सङ्घर्षशीलताको सङ्गम व्यक्तित्वसँग मित्रताले निरन्तरता पाएकोमा म गौरव महसुस गर्दछु ।

जेलमुक्त भइसकेपछि पनि निरन्तर सम्पर्कमा हामी रहन्थ्यौँ । ०४६ सालको असोज १३ गते कुनै कामविशेषले हामी सुन्धारास्थित दूरसञ्चार कार्यालयमा थियौँ । उहाँ कार्यरत त्यसबेलाको चर्चित पत्रिका विमर्शबाट उहाँलाई बिदा गरिएको सूचना हामीले त्यहीँ पढ्यौँ । विमर्श पत्रिकाभित्र भइरहेका षड्यन्त्रको सिकार विरहीलाई बनाइएको बुझ्न सजिलै सकिन्थ्यो । त्यसपछि मैले उहाँलाई भने, ‘तपाईं अर्को पत्रिकाको प्रकाशन शुरु गर्नुहोस्, पैसा अपुग भए मेरो कोपुण्डोलमा भएको घडेरी धितो राखेर ऋण लिनुहोस् र म तपाईंको पत्रिकामा ६ महिनासम्म स्वयम्सेवीका रूपमा सहयोग गर्नेछु ।‘ त्यसबेलासम्म पत्रकारिताप्रति मेरो कुनै रुचि थिएन, पत्रकारिता गर्ने या पत्रकार बन्ने मेरो सोच पनि थिएन । पञ्चायतविरुद्धको सङ्घर्षमा सामेल भएर दुईपटक जेल यातना (पहिले २०४२ मा नख्खु कारागार, सत्याग्रहलाई समर्थन गर्दै गिरफ्तारी दिएपछि) भोगेको र अठारपटक पक्राउ परी प्रहरी यातना व्यहोरिसकेको मेरा निम्ति राजनीति प्रिय बनेको थियो । मभित्र देशका निम्ति राजनीतिका माध्यमबाट केही गर्ने अठोट थियो त्यसताक । राजनीतिमा सक्रिय हुन सकिएनछ भने कलाकार (चित्रकार) बनेर देश सेवा गर्छु र कुनै कारणवश त्यो पनि बन्न नसके उद्यमी/व्यवसायी बन्ने मेरो सोच थियो । तर, पत्रकारचाहिँ बन्नेछैन भन्नेमा म स्पष्ट थिएँ । त्यसैले हरिहर विरहीजीलाई केवल ६ महिना मात्र सहयोग गर्ने मनसाय राखेको थिएँ । केही सातापछि विरहीजी साप्ताहिक विमर्शबाट जनार्दन आचार्यलगायतलाई हटाएर आफू सो पत्रिकाको सम्पादक बन्नुभयो, ०४६ को कात्तिक १ गतेदेखि म पनि उहाँसँगै जोडिएँ र मेरो पत्रकारिता–जीवन यहीँबाट शुरु भयो ।

मैले पत्रकारिता शुरु गरेको केही महिनापछि नै देशमा कांग्रेस र वाममोर्चा (पाँच समूह)को नेतृत्वमा जनआन्दोलन शुरु भयो । पत्रकारितासँग जोडिएको भए पनि पत्रकार बनिसकेको थिइनँ, मेरो परिचय पञ्चायतविरोधी विद्यार्थी नेताकै रूपमा भएकोले ‘वारेन्टेड’ थिएँ । कुनै न कुनै रूपले आन्दोलनसँग जोडिइराखेको थिएँ, मैले अनुमान गरेभन्दा धेरै चाँडो पञ्चायत ढल्यो । वामपन्थी पृष्ठभूमिको म संवैधानिक राजतन्त्रसहित बहुलवादमा आधारित संसदीय प्रजातन्त्रप्रति केही अघिदेखि नै आकर्षित भइसकेको थिएँ । ब्रह्माण्ड सृष्टिको आधार पदार्थ मात्र हो भन्ने माक्र्सवादी मान्यताबाट टाढिएर म कपिलमुनि प्रतिपादित सांख्य दर्शनसँग नजिकिएका कारण ०४७ सालमा बाबुराम भट्टराईजीले निर्माण गर्नुभएको संयुक्त जनमोर्चामा पनि सामेल हुन सकिएन । कांग्रेसले मलाई स्पेस दिनेछैन र सजिलैसँग सडाइदिन सक्छ भन्ने मेरो अनुमान थियो । मदन भण्डारी त्यसबेला नेकपा मालेको प्रवक्ताका रूपमा सार्वजनिक हुनुभएको थियो, उहाँसँग भेटेर नेकपा माले भविष्यमा माक्र्सवादभन्दा टाढाको प्रजातन्त्रवादी पार्टी बन्ने सम्भावना भए–नभएकोबारेमा छलफल गरेँ । उहाँबाट सकारात्मक जवाफ नपाएपछि एक्लै लुसुक्क कांग्रेसको केन्द्रीय कार्यालय (बागबजार) पुगेँ र कृष्णप्रसाद भट्टराईसँग सदस्यताका लागि आग्रह गरेँ । सँगै वासु रिसालजी हुनुहुन्थ्यो, उहाँले सत्याग्रहमा सँगै जेल बसेको भनी मेराबारेमा बताएपछि भट्टराईले सदस्यता दिनुभएको थियो । पत्रकारितालाई निरन्तरता नदिई राजनीतिमा सक्रिय रहने उद्देश्यले मैले त्यसरी पार्टीको सदस्यता लिएको थिएँ । तर, त्यसपछि मलाई लाग्यो, केही वर्ष निजी जीवन नै बताउँछु । राजधानीमा घडेरी भए पनि घर र एउटा सवारीसाधनसम्म थिएन ।

राजनीतिमा पूर्णकाल दिएपछि कमाइ गर्न सकिँदैन र सच्चा राजनीतिकर्मी कमाउ धन्दामा लाग्न पनि मिल्दैन भन्ने ठानियो । आफ्नो न्यूनतम आवश्यकता पूरा भइसकेपछि मात्र राजनीतिमा सक्रिय बन्नु उचितजस्तो लाग्यो । आफूले लगानी गरेको दल छोडेर नयाँ दलसँग जोडिएकोले त्यहाँ ‘एडजस्ट’ हुन केही समय लाग्ने पनि ठानेँ । त्यसैबीच एउटा घटना भयो र प्रिय मित्र बद्री पौडेलजीको प्ेररणाले मलाई पत्रकारितामा थप केही समय रहन उत्साहित गर्‍यो । बिस्तारै मानिसले मलाई राजनीतिक कार्यकर्ताभन्दा पत्रकारका रूपमा चिन्न थाले, मलाई पनि पत्रकार नै भइएछ कि जस्तो लाग्यो । राजनीतिकर्मी, कलाकार या उद्यमी बन्ने सपना बोकेको मान्छे म, देख्न नचाहेको सपना पूरा गर्दै पत्रकार बनेको हुँ । मैले पत्रकारिताको कुनै तालिम लिइनँ, औपचारिक शिक्षा पनि दर्शनशास्त्र हो, ‘मास कम्युनिकेसन’ होइन, तर सत्ताइस वर्षको यस अवधिमा रेडियो, टेलिभिजन, राष्ट्रिय समाचार समिति र दैनिक पत्रिकासँग जोडिएर कार्यानुभव गर्ने अवसर भने मलाई प्राप्त भयो । रेडियो नेपालको घटना र विचार नामक समसामयिक कार्यक्रमको सञ्चालक, रेडियो नेपाल सञ्चालक समितिको सदस्य, राससको कार्यकारी प्रमुख र च्यानल नेपाल टेलिभिजनको निर्देशकका रूपमा पत्रकारिता गर्दाका अनुभव बेग्लै सन्दर्भमा चर्चा गरिन्छ । यहाँ घटना र विचार साप्ताहिक पत्रिकासँगको आबद्धता र उतारचढावका बारेमा सङ्क्षिप्त चर्चा गर्नु उपयुक्त ठानेको छु ।

०५१ को मङ्सिरमा मनमोहन अधिकारी प्रधानमन्त्री नियुक्त भएकै साँझ रेडियो नेपालको घटना र विचार कार्यक्रम सञ्चालकबाट मलाई अवकाश दिइएको थियो । उक्त कार्यक्रमको सञ्चालक हुनुअघि म जनमञ्च नामक एक साप्ताहिक म्यागेजिनको कार्यकारी सम्पादक थिएँ । मैले रेडियो नेपालबाट बिदा पाउँदा उक्त म्यागेजिनको प्रकाशन बन्द भइसकेको थियो । रेडियोबाट हटाइएपछि मैले साप्ताहिक पत्रिका प्रकाशन गर्ने विचार गरेँ, तर उपयुक्त नाम पाउन सकिरहेको थिइनँ । करिब दुई महिना बित्यो नाम खोज्दाखोज्दै । त्यस्तैमा एक दिन दिउँसो जीवनसिंह भण्डारीज्यूले घरमा टेलिफोन गरी मेरो हालचाल र भावी योजनाबारे जिज्ञाशा राख्नुभयो । मैले पत्रिका दर्ता गर्न नाम खोजेको दुई महिना भएको तर नपाएको बताएपछि उहाँ हाँस्नुभयो र भन्नुभयो, ‘तपाईंले नामको चिन्ता गर्ने ? त्यही घटना र विचार राख्दा भइहाल्छ नि †’ उहाँले त्यसरी नाम सुझाएकै दिन ललितपुर जिल्ला प्रशासन कार्यालयमा मैले ‘घटना र विचार’ नाममा पत्रिका दर्ता गराएँ । धेरै मानिसलाई मैले रेडियो नेपालको घटना र विचारबाट हटेपछि त्यही नामबाट प्रभावित भएर पत्रिकासमेत दर्ता गराएको भन्ने परेको छ, तर वास्तविकता त्यस्तो होइन । जीवनसिंह भण्डारीज्यूले यो नाम सुझाउनुभएको हो । उहाँ अहिले काठमाडौं उपत्यकाभित्र एउटा बेग्लै व्यवस्थित सहर बनाउन प्रयासरत हुनुहुन्छ ।

पत्रिका दर्ता भएको केही दिनपछि गिरिजाप्रसाद कोइरालालाई भेट गर्नका निम्ति महाराजगञ्जस्थित निवास पुगेका बेला ‘अब के गर्नुहुन्छ’ भनेर उहाँले सोध्नुभयो । मैले पार्टी काम नदिने भए पत्रिका चलाउँछु, भर्खरै मात्र नयाँ दर्ता गरेको छु भनेँ । उहाँले सात–आठ लाख रुपैयाँ म व्यवस्था गरिदिन्छु भन्नुभयो, मैले आफैँ व्यवस्था गर्छु तपाईंलाई यस्ता सानातिना कुरामा दु:ख दिन चाहन्न भनेँ । केही दिनपछि हृदयेश त्रिपाठीज्यूमार्फत राजुबाबु श्रेष्ठसँग कुराकानी भयो । राजुबाबु श्रेष्ठ र राजुप्रसाद श्रेष्ठको शुरुवाती लगानीबाट यो अखबारको प्रकाशन ०५२ को असार ७ गतेबाट भएको हो । एक्काइस वर्षअघि शुरु भएको घटना र विचार यसै सातादेखि बाइसौँ वर्षमा प्रवेश गरेको छ । कतिपयले कांग्रेस नेता खुमबहादुर खड्काको समेत यसमा लगानी रहेको अनुमान गरेको सुन्छु म । तर, आजका मितिसम्म राजुबाबु र राजुप्रसादबाहेक अन्य कसैको लगानी नरहेको बताउन पाउँदा म खुसी छु । कतिपय हितैषी मित्रहरूले विज्ञापन उपलब्ध गराएर अवश्य सहयोग गर्नुभएको छ । नेपाली कांग्रेसका कुनै नेताले घटना र विचारलाई कुनै पनि प्रकारले सहयोग गरेका छैनन्, रमेशनाथ पाण्डे सञ्चारमन्त्री भएका बेला उहाँ आफैँले टेलिफोन गरी दूरसञ्चारको विज्ञापन उपलब्ध गराएको म सदा स्मरण गरिरहन्छु । कुनै राजनीतिकर्मीबाट पत्रिकालाई एक्काइस वर्षको अवधिमा भएको सहयोग पनि यही एउटै मात्र हो । तर, विभिन्न सूचना उपलब्ध गराएर धेरैले सहयोग पुर्‍याउनुभएको छ, यस अवसरमा म उहाँहरू सबैलाई हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु ।

देशभन्दा ठूलो कुनै वाद या विचार हुन्छ भन्ने घटना र विचार ठान्दैन । सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय स्वाभिमानलाई यसले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ । जनताको जीवनमा सुखद एवम् सकारात्मक परिवर्तन ल्याउन सक्ने प्रजातन्त्रको पक्षमा घटना र विचार उभिएको छ । पत्रकारिता एउटा व्यवसाय अवश्य हो, तर घटना र विचारले धनार्जनलाई मुख्य उद्देश्य बनाएको छैन र बनाउने पनि छैन । भन्नेले भनिरहने, सुन्नेले सुनिरहने तर अवस्था परिणामशून्य रहने प्रजातन्त्र र स्वतन्त्रताभन्दा देश र जनताप्रति जिम्मेवार एवम् जवाफदेही शासन उपयुक्त हुनसक्छ भन्ने धारणा मजबुत बन्दै गरेको यस समयमा हामी सन्तुलनकारी अवधारणाको पक्षमा उभिएका छौँ । लोकतन्त्रका नाममा सर्वत्र राजनीतीकरण, राज्य संयन्त्रको पार्टीकरण र भागबन्डाको राजनीतिप्रति घटना र विचारले असहमति जनाउँदै आएको छ । भ्रष्टाचार र अनियमितताविरुद्ध निडरतापूर्वक उभिन हामी कहिल्यै हिचकिचाएका छैनौँ । माओवादीले गरेको हिंसात्मक युद्ध नेपाली राष्ट्रियताविरुद्धको एउटा घातक कदम थियो भन्नेमा घटना र विचार विश्वस्त छ । केन्द्रीकृत प्रणालीको विकल्प विकेन्द्रीकरणलाई बनाउनुपर्नेमा सार्वभौमिकता विखण्डन गरी सङ्घीय प्रणालीमा जानु सर्वथा गलत हो, यसलाई राज्यले पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो दृढ धारणा छ । पत्रकारिता निष्पक्ष हुनुपर्छ भन्ने हामीले बुझेका छौँ, तर यो निष्पक्षता देश र मानवताको सवालमा लागू हुन सक्दैन । मानवता र देशको पक्ष लिँदा निष्पक्ष पत्रकारितामा धक्का पुग्छ भने हामी त्यस्तो पत्रकारितालाई धक्का पुर्‍याउन चाहन्छौँ ।
घटना र विचारको एक्काइस वर्ष लामो यात्रामा हामीले अनेक उचार–चढाव व्यहोरेका छौँ, अनेकौँ चुनौतीको सामना गरेका छौँ ।

कुनै बेला प्रहरी प्रमुख रहेका अच्युतकृष्ण खरेलले आफू शक्तिशाली रहेका बेला यस अखबारले आलोचना गरेकै कारण उनले सादा पोसाकका प्रहरी र गुण्डा पठाएर हामीमाथि भौतिक आक्रमण गराएका थिए । गोविन्दराज जोशीले पावरमा रहँदा हाम्राविरुद्ध गरेका षड्यन्त्र पनि स्मरणीय छन् । एलसी काण्डमा फरार अभियुक्त प्रकाश टिबडेवालाको अन्तर्वार्ता प्रकाशित गरेपछि तात्कालिक सरकार र गृह प्रशासनले हामीलाई दिएको प्रलोभन र तनाव भुल्न सकिने प्रकारको छैन । घटना र विचारलाई ध्वस्त गर्न गिरिजाप्रसाद कोइराला तथा उनका निकटवर्तीहरूले चलेको चाल हामी अझै पनि स्मरण गर्दै छौँ । राजा ज्ञानेन्द्रको कार्यकालमा हामी कसरी सताइएका थियौँ र पाँच सातासम्म हाम्रो कार्यालयमा उपस्थित भएर सेनाका अधिकृतहरूले समाचार सम्पादन गर्दा आफूहरू कसरी लाचार बन्नुपरेको थियो ती क्षणहरू भुल्न सकिँदैन । कुनै विवेक शाह र तात्कालिक मन्त्री नारायणसिंह पुन आदिको बारेमा समाचार सम्प्ेरषण गरेबापत सम्पादक बबिता बस्नेतलाई सेनाका तात्कालिक उच्चाधिकारीले दिएको दु:ख सदैव स्मरणीय छ । हाम्रो पत्रकारिता सही सूचना र देशहितका निम्ति हो । तथ्य प्रस्फुटीकरण र देशहितसँग जोडिएका कुनै पनि विषयमा यस अखबारले कहिल्यै कसैसँग सम्झौता गरेको छैन र गर्दैन पनि । जता हावा चल्छ त्यतै बग्ने पत्रकारिताबाट हामी टाढा छौँ । राजाका पालामा हामी राजाकै पनि आलोचक भूमिकामा थियौँ, अहिले झुल्किएका अनेक आकार–प्रकारका ‘राजा’हरूको नकारात्मक पाटोलाई उजागर गर्न पनि हामी कञ्जुस्याइँ गर्नेछैनौँ ।

घटना र विचारलाई यहाँसम्म ल्याइपुर्‍याउन विभिन्न समयमा विभिन्न प्रकारले सहयोग पुर्‍याउनुहुने राजुबाबु श्रेष्ठ, राजुप्रसाद श्रेष्ठ र हृदयेश त्रिपाठीलगायत सबैमा आभार प्रकट गर्दछु । पत्रिकाको सम्पादन समूहमा आबद्ध भई योगदान पुर्‍याउनुभएका सुवासचन्द्र पोखरेल, परशु घिमिरे, विश्वप्रकाश शर्मा, युवराज लुइँटेल, श्रीविक्रम राणा, सुशलि भट्टराई, युगनाथ शर्मा, प्रदीप घिमिरे, विपुल पोखरेल, पोषण केसी, विमल चालिसे, विपिन निरौला, हरि लम्साल, गंगाधर पराजुली, विकास लोहनी, राजेश ढुङ्गाना, दिनेशचन्द्र थपलिया, सोमनाथ सुसेली, शिव पुरी, सन्तोष सुवेदी, भूषण राजलवट, महेन्द्र पाण्डे, रामहरि पाण्डे, राजन घिमिरे, राजेन्द्रप्रताप शाह, भरत कोइराला, सुचित्रा श्रेष्ठ, अतुल मिश्र र तनुजा पोखरेललाई हामी सदा स्मरण गरिरहने छौँ । बबिता बस्नेत, जयप्रकाश त्रिपाठी, श्रीविक्रम भण्डारी, नवीन उप्ेरती, कृष्णप्रसाद पौडेल, बच्चु राई, मुक्तिनाथ भुसाल र दामोदर नेमकुल, प्रवासबाट लन्डननिवासी प्रकाश केसीसहितको हाम्रो समूह पत्रकारिताको मूल्य–मान्यताको अधीनमा रही देश र जनताका पक्षमा आफ्नो कर्तव्य पालन गर्न कटिबद्ध छ । यस अवसरमा सम्पूर्ण पाठक तथा विज्ञापनदाता र शुभचिन्तकहरूमा हार्दिक धन्यवाद अर्पण गर्दछौँ ।