एमालेलाई ऐतिहासिक अवसर

एमालेलाई ऐतिहासिक अवसर


सहमतिमा सरकार गठन गर्न राष्ट्रपतिबाट दिइएको अवसर दुईपटक र संसद्बाट बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्ने दुईपटककै प्रयत्न पनि असफल भएपछि नयाँ सरकार गठन कार्य निकै चुनौतीपूर्ण र अन्योलग्रस्त बन्न पुगेको छ । एकीकृत नेकपा माओवादीका कारण सरकार सञ्चालन र संविधान निर्माण तथा शान्तिप्रक्रियामा झमेला खडा हुँदै आएको ठानिएको परिवेशमा यतिबेला आएर मूलत: एमाले पार्टी राजनीतिक गत्यारोध एवम् अन्योलको थप कारक बन्न पुगेको छ । विशेषगरी एमाले अध्यक्ष झलनाथ खनाल दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री बन्ने आफ्नो अभीष्ट पूरा नभएपछि मणि हराएको सर्प तुल्य बन्न पुगेका छन् । यसबाट उनमा प्रतिशोधको भावना पन्पिएको र आफ्नै दलका वरिष्ठ नेताहरूप्रति खनिने तथा आफूअनुकूल नदेखिएका नेताहरूका विरुद्ध कार्यकर्तालाई जबर्जस्ती उक्साउने कुटिल चाल उनले चल्न थालेको अनुभूति गरिएको छ । यसले उनलाई तत्कालका लागि त आत्मसन्तुष्टि प्रदान गर्ला तर अन्ततोगत्वा यसले झलनाथ स्वयम्लाई एमालेभित्र र राष्ट्रिय राजनीतिमै पनि असान्दर्भिक या तिरस्कृत तुल्याउन सक्ने खतरा जन्माउन सक्छ, जो त्यति वाञ्छनीय छैन ।
यदि कुनै नेताले आफूलाई जिम्मेदार, शान्ति र संविधानको पक्षधर, राजनीतिक स्थिरताको हिमायती र अर्न्तर्हृदयदेखि नै मुलुकका समग्र समस्या समाधान गर्न अग्रसर रहेको दाबी गर्छ भने ऊ कुनै परिस्थितिविशेषका कारण उत्पन्न प्रतिकूलताबाट प्रभावित भई राजनीतिक प्रदूषण फैलाउन उद्यत् हुँदैन । साँच्चै राजनीतिक अन्योलबाट निकास दिलाउन चाहेको हो भने तटस्थताको राग अलाप्दै सरकारविहीनताको अवस्था तन्काएर मुलुकलाई थप अनिर्णयको बन्दी बनाउने दुश्चक्रमा रुमलिँदैन । व्यावहारिक रूपमै त्यागी हो भने चाहनुसम्म चाहेर पनि हासिल हुन नसकेको पदलाई उदाहरण तुल्याएर त्यागको बखान गर्दै हिँड्न सुहाउँदैन । आफूभित्र यथार्थमै लोभर्,र् इष्र्याजस्ता दर्ुभावनाहरू छैनन् भने अर्काका लागि व्यक्ति कदापि बाधक बनेर उभिने दुस्प्रयत्न गर्दैन । तर, विडम्बना नै मान्नुपर्छ कि अत्यन्त अस्वाभाविक ढङ्गमा एमाले नेता झलनाथ उपरोक्त आचरणहरू जानाजान प्रदर्शन गरिरहेका छन्, जो उनी स्वयम्ले कथित रूपमा चाहना गरेजस्तो सहमति, शान्ति र संविधान प्राप्तिका सवालमा सहायकसिद्ध हुन सक्दैनन् ।
आगामी १७ गते व्यवस्थापिका संसद्मा हुने प्रधानमन्त्री चयन प्रक्रियामा बहुमतीय आधारमा मतदानमा भाग नलिने बरु एमाले पुरानै निर्णयमा चट्टान बनेर उभिने उद्घोष एमाले अध्यक्षले गरेका छन् । तटस्थ रहने पुरानो निर्णयमाथि पुनरि्वचार गर्ने पक्षमा उभिएका प्रधानमन्त्री माधव नेपाललगायत एमालेका अन्य वरिष्ठ नेताहरूप्रति सार्वजनिक रूपमा कटाक्ष गर्ने जुन शैली झलनाथ खनालले प्रदर्शन गरिरहेका छन्, यसले एमालेको आन्तरिक दुरावस्थाको मात्र चित्रण नगरी अज्ञात दुर्घटनातर्फ पार्टीलाई उन्मुख गराउने सम्भावना पनि त्यत्तिकै प्रबल तुल्याएको छ । कतिपय सर्न्दर्भमा माओवादी नेताका भाषण र अभिव्यक्तिहरूलाई नै बिर्सर्ााे गरी उत्तेजक शैलीमा आन्दोलनको चेतावनी दिएर खनालले मुलुकलाई अस्तव्यस्तताको भुमरीमा रिङ्ग्याउन चाहने तत्त्वलाई बल पुर्‍याइरहेका छन् । एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तक सबै अध्यक्ष खनालको वर्तमान यस अस्वाभाविक क्रियाकलापप्रति सचेत र गम्भीर हुनु आवश्यक छ । यदि उनमा पैदा भएको कुण्ठाले विस्तारित र अनियन्त्रित रूप लिइरहने अवस्था कायम रह्यो भने त्यो कसैका हितमा हुँदैन । देशलाई अप्ठ्यारो परेको अवस्थामा नेकपा एमाले एक मध्यस्थकर्ता पार्टीको भूमिकामा सहायक र सफलसिद्ध हुँदै आएको इतिहासतर्फ फर्केर हेर्दा फेरि पनि मुलुकका लागि त्यस्तै योगदान दिनसक्ने बिन्दुमा ऊ उभिएको छ । उसको विवेकपूर्ण निर्णयले राजनीतिक इतिहासको धार बदल्न सक्छ । आफ्नो यो खुवीको पहिचान गर्दै कुनै आग्रह-पूर्वाग्रहहरूलाई तिलाञ्जली दिएर मुलुकलाई सरकारविहीनता र अन्योलको गर्तबाट छुटकारा दिलाउन एमाले पार्टी प्रतिबद्ध होस् । इतिहासले एमालेलाई प्रदान गरेको यो एउटा विशिष्ट अवसर पनि भएकाले सकारात्मक भूमिका निर्वाहमा उसले कुनै कसर छोड्ने छैन भन्ने कामना गरौँ ।