नेहरू–बीपी अनौठो सम्बन्ध

नेहरू–बीपी अनौठो सम्बन्ध


SN Karki

– स्वयम्भूनाथ कार्की

बीपी र नेहरूको संयुक्त प्रयत्नले पनि पद्मशमशेरलाई नेपालमा रोक्न सकेन । यदि त्यसो भएको भए नेहरूको के मनोकाङ्क्षा पूर्ण हुने थियो, नेपाली राष्ट्रिय कांग्रेस र नेपाली डेमोक्रेटिक कांग्रेस एकीकरण हुने थियो वा थिएन त्यो अनुमानको भरमा मात्र भन्न सकिने कुरा होइन । पद्मशमशेरसँगको भेटमा बीपीले उनलाई असाध्यै डरछेरुवा देखेका थिए । यस्तो मान्छेले पनि के गर्न सक्छ भन्ने भावना नेहरूसमक्ष राखेका थिए ।

आफैँले बोलेर रेकर्ड गराएको आधारमा तयार गरिएको पुस्तक ‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’मा बीपीको आफैँसँग पनि निरपेक्ष रहेर भरसक सत्यतथ्य कुरा अगाडि ल्याउने प्रयत्न साँच्चै नै अतुलनीय छ । सङ्कलक गणेशराज शर्माका अनुसार यो रेकर्डिङको समयमा बीपीले जसरी जुनसुकै क्रममा बोल्दा सहज होला भनेर केही कुरा पनि पहिल्यै तय गरिएको थिएन । दैनिक औसत एक घन्टाको रेकर्डिङमा कहिले अघिल्लो दिनको सन्दर्भ पनि जोडियो होला भने कहिले सन्दर्भ फरक पनि पर्‍यो होला । करिब ६ महिनामा लगभग पौने दुई सय वा दुई सय घन्टाका यी टेपहरूलाई पुस्तकमा उतार्ने काम गर्दा सङ्कलकको विवेकको पनि हात रहेको पक्का होला । यस पुस्तकमा बीपीले बोलेका सबै कुरा अवश्य पनि अटाएका छैनन् । तैपनि सङ्कलक पेसाले कानुन व्यवसायी भएको क्षमता प्रयोग भने गरेका छन्, त्यसैले कुनै कुरा उल्लेख हुन छुट भएको जस्तो भने लाग्दैन । यसमा बीपीको व्यक्तित्व तथा जीवनमा प्रभाव पार्ने पात्रहरू पनि छन्, ती पात्रहरू कतिपयसँग बीपीको सम्बन्ध अनौठो देखिन्छ । अरूले फलानासँग त यस्तो सम्बन्ध होला भनेर अनुमान गरेकोमा र स्वयम् बीपीको भोगाइ फरक देखिन्छ । यस्तै एक पात्र हुन्– जवाहरलाल नेहरू, जोसँगको सम्बन्धमा बीपी आपैँm पनि कहिलेकाहीँ भ्रमित भएका देखिन्छन् ।
जयप्रकाश नारायणसँग बीपीको राम्रो सम्बन्ध थियो, यो सम्बन्ध बराबरीको आधारको नभएर नेता र प्रशंसकको जस्तो भएको छनक धेरै ठाउँमा पाइन्छ । त्यो स्वाभाविक पनि थियो, जयप्रकाश समाजवादी आन्दोलनका अग्रणी थिए । गान्धी विचारधारासँग समाजवादीहरूको मतभेद भए पनि एक–अर्काको सम्मान थियो । गान्धीको तर्फबाट नेहरूको जयप्रकाशसँग कुराकानी भइरहन्थ्यो । परिच्छेद ८ मा बीपी भन्छन्, ‘गान्धीवादी र समाजवादीहरूमा मतभेद थियो र त्यो मतभेद पछिसम्म रह्यो ।’ तर, समाजवादीहरू गान्धीजीलाई आदर गर्थे, नेता मान्दथे । नेहरू पनि बीचबीचमा जयप्रकाशसँग कुरा गर्न गइरहन्थे । यो कुरा बीपीलाई मन परेको थियो । यसरी नेहरूले बीपीलाई सबैभन्दा पहिले जयप्रकाशको चेलाको रूपमा हेरेको हुनुपर्छ । अझ जर्मनीबाट फर्केका राममनोहर लोहियालाई नेहरूले कांग्रेस पार्टीको विदेश विभाग हेर्न दिएका थिए, जो पछि सोसलिस्ट पार्टीका शीर्षस्थ नेता तथा विदेशसचिव पनि भए । यी लोहियासँग बीपीको दांैतेरी सम्बन्ध रहेको महसुस हुन्छ ।

विश्वयुद्धको बेलामा नेहरूले पठाउन खोजेको इन्टरनेसनल ब्रिगेडमा जान बीपीले नेहरूसँग अनुरोध पनि गरेका थिए । कुशाग्र बीपीको व्यक्तित्वले नेहरूलाई अवश्य प्रभावित गरेको हुनुपर्छ । शायद उनी इन्टरनेसनल ब्रिगेडमा पनि चुनिन्थे होला, तर त्यो ब्रिगेड नै गएन । जब पार्टी गठन भइसकेपछि बीपी थुनिए अनि गान्धीको आग्रह वा दबाबमा थुनामुक्त भएर भारत आए त्यसबेलादेखि नेहरूले बीपीलाई सोसलिस्ट पार्टीको कार्यकर्ताभन्दा ज्यादा नेपालको नेताको रूपमा हेर्न थालेको छनक पाइन्छ । त्यसपटक बीपी छुट्नुमा गान्धीको भूमिका थियो भन्ने कुरा परिच्छेद १४ मा पद्मशमशेरले ‘मैले गान्धीले भनेको आधारमा तपाईंलाई छोडेको होइन, मैले आफ्नै निर्णयबाट तपार्इंलाई छोडेको थिएँ’ भन्नुले पनि जनाउँछ । परिच्छेद १९ मा केदारमान व्यथित र होराप्रसाद जोशीलाई पद्मशमशेरले नै बीपीको पार्टीमा लाग भनेर पठाएको र आफ्नो पूरा सहानुभूति बीपीलाई भएको पनि उल्लेख गरेको प्रसङ्ग छ ।

त्यसैले जब पद्मशमशेर राजकीय भ्रमणमा भारत आए उनको कुराबाट नेहरूले बीपीको नेपालमा महत्त्व बुझेका थिए । बीपी जयप्रकाश नारायणको सहयोगी, सोसलिस्ट पार्टीको सक्रिय सदस्यबाहेक छिमेकी नेपालको पनि एक असरदार व्यक्ति भएको उनलाई महसुस भयो । त्यसैले त उनले बीपीलाई भने, ‘म त उनलाई (पद्मशमशेर) दबाब दिँदै छु, जाऊ भनेर, उनी रहे तिमीहरूलाई सजिलो हुन्छ । ती हटे भने त गाह्रो हुन्छ । त्यसो हुनाले तिनीहरूलाई केही न केही आश्वासन दिईकन तिमीहरूले फर्काउनुपर्छ ।’ तर, बीपी र नेहरूको संयुक्त प्रयत्नले पनि पद्मशमशेरलाई नेपालमा रोक्न सकेन । यदि त्यसो भएको भए नेहरूको के मनोकाङ्क्षा पूर्ण हुने थियो, नेपाली राष्ट्रिय कांग्रेस र नेपाली डेमोक्रेटिक कांग्रेस एकीकरण हुने थियो वा थिएन त्यो अनुमानको भरमा मात्र भन्न सकिने कुरा होइन । पद्मशमशेरसँगको भेटमा बीपीले उनलाई असाध्यै डरछेरुवा देखेका थिए । यस्तो मान्छेले पनि के गर्न सक्छ भन्ने भावना नेहरूसमक्ष राखेका थिए ।

जब बीपी मोहनशमशेरको असाध्यै कष्टदायक थुनामा थिए त्यसबेला उनले नेहरूलाई चिठ्ठी लेखेका थिए । परिच्छेद २४ मा बीपी भन्छन्, ‘त्यही चिठ्ठी लिएर किसुनजी शायद, र बालचन्द्र गएका छन् जवाहरलालजीनेर । जवाहरलालजी त्यो पढेर रोएका छन् ।’ नेहरूको व्यक्तित्व कस्तै पनि कारुणिक चिठ्ठी पढेर रुने किसिमको थिएन, साथीहरूले भनेकाले बीपीलाई यो सत्य लागेको हुन सक्छ । तर, जे होस् जयप्रकाशसमेतको प्रयत्नमा नेहरूको दबाबमा मोहनशमशेर बडो कठिनपूर्वक बीपीलाई छोड्न बाध्य भए । ‘तिमीलाई छाड्दा तिमीलाई लाग्दो हो, जवाहरलाल नेहरूको दबाबले छोडेको हो । मैले कसैको दबाबबाट छाडेको होइन । बाहुनको छोरा मर्न थाल्यो भनी डाक्टरले भनेकाले छाडेको हुँ,’ मोहनशमशेरको यो अभिव्यक्ति नै उनलाई छोड्न नेहरूको चर्को दबाब थियो भन्ने बलियो प्रमाण हो । यस्तो सहयोगी सम्बन्ध हुँदाहुँदै पनि सम्बन्ध राम्रो रहन सकेन । पछि नेहरू र बीपीबीच मतभेदहरू आएका प्रसङ्गहरू छन् । त्यसबारे भिन्नै आलेख हुनेछ । त्यसैले नेहरू र बीपीको सम्बन्धलाई अनौठो भनिएको हो ।